प्रमुख स्वकीय सचिवसँगको निकटताले विवादमा उपसभामुख रुबी ठाकुर, के हो कार्यकक्षमै झण्डै हात छोडेको घट्ना ?

काठमाडौँ— पछिल्ला केही दिनयता उपसभामुख रुबीकुमारी ठाकुरको नाम सामाजिक सञ्जालदेखि विभिन्न अनलाइन माध्यमसम्म व्यापक चर्चाको विषय बनेको छ। चर्चा कुनै संसदीय बहस, विधेयक वा संवैधानिक भूमिकाका कारण होइन, बरु उनको निकटता, राजनीतिक सम्बन्ध र पार्टीभित्रै उठेका असन्तुष्टिका आवाजका कारण हो।

नेपालको संसदीय इतिहासमा कम उमेरमै उपसभामुखको जिम्मेवारी सम्हाल्न सफल मधेशकी युवती नेतृ रुबी ठाकुर अहिले आफ्नो राजनीतिक यात्राभन्दा बढी व्यक्तिगत सम्बन्ध र सार्वजनिक व्यवहारसम्बन्धी विवादको केन्द्रमा तानिएकी छिन्। यद्यपि उनी स्वयंले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै कुनै पनि गलत काम नगरेको बताएकी छिन्।

रुविसँगको विवादमा तानिएका पात्र हुन– श्रम संस्कृति पार्टीका मधेश प्रदेश इञ्चार्ज दीपकजंग ठाकुर। पार्टीभित्रका केही नेताहरूले उपसभामुख र दीपकजंगबीचको निकटताप्रति प्रश्न उठाउँदै त्यसले पदको गरिमा र पार्टीको छविमा असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

यही विषयलाई लिएर असार ८ गते पार्टीका केही पदाधिकारी र नेताहरू उपसभामुखको कार्यकक्ष पुगेका थिए। सहभागी नेताहरूका अनुसार त्यहाँ भएको छलफल सामान्य भेटघाटमा सीमित नरही तनावपूर्ण बनेको थियो। टोलीमा पार्टी उपाध्यक्ष आशा लामा, महासचिव आरेन राई, लिजा मिश्री राई, मधेश प्रदेशकी नेतृ लीला दियाली तथा नेता छोटे पठानलगायत सहभागी थिए।

पार्टी स्रोतका अनुसार भेटको मुख्य उद्देश्य दीपकजंग ठाकुरसँग सम्बन्धित विवादबारे उपसभामुखको धारणा बुझ्नु र सार्वजनिक रूपमा उठिरहेका प्रश्नबारे स्पष्टता खोज्नु थियो। दीपकजंग ठाकुर यसअघि नेपाल वायुसेवा निगममा कार्यरत थिए र हाल श्रम संस्कृति पार्टीको मधेश प्रदेश इञ्चार्जको जिम्मेवारीमा छन। उनी प्रदेश अध्यक्ष बन्ने प्रयासमा रहे पनि पार्टीभित्रको विरोधका कारण सफल नभएको दाबी पार्टीकै केही नेताहरूले गरेका छन्।

पार्टीभित्रको अर्को असन्तुष्टि सामाजिक सञ्जाल गतिविधिसँग पनि जोडिएको छ। केही नेताहरूका अनुसार दीपकजंगले पछिल्लो समय उपसभामुखसँग सम्बन्धित गतिविधि, तस्बिर र सार्वजनिक कार्यक्रमलाई असामान्य रूपमा प्राथमिकता दिइरहेको देखिएको छ। यही कारण उनीहरूको सम्बन्धबारे पार्टीभित्र प्रश्न उठ्न थालेको बताइन्छ।

विवादलाई थप चर्काउने अर्को पक्ष अर्की एक युवतीसँग जोडिएको आरोप हो। पार्टी स्रोतहरूका अनुसार एक युवती र उनको परिवार पनि असार ८ गते उपसभामुखलाई भेट्न पुगेका थिए। ती युवतीले आफूलाई दीपकजंगले लामो समयसम्म विवाहको आश्वासन दिएर धोका दिएको आरोप लगाएकी थिइन्।

त्यस क्रममा ती युवतीले उपसभामुखकै उपस्थितिमा आफूले भोगेको पीडा सुनाएको दाबी सहभागी नेताहरूले गरेका छन्। स्रोतहरूका अनुसार वातावरण केही समय तनावपूर्ण बनेको थियो र त्यहाँ चर्काचर्कीसमेत भएको बताइन्छ।

उपस्थित एक नेताका अनुसार विवाद बढ्न थालेपछि उपसभामुखले आफ्नो कार्यकक्षमा झगडा नगर्न र आवश्यक भए बाहिर गएर कुरा गर्न आग्रह गरेकी थिइन्। यो घटनापछि विवाद केवल व्यक्तिगत सम्बन्धको प्रश्नमा सीमित रहेन। पार्टीभित्र नेतृत्व, जिम्मेवारी र सार्वजनिक पदमा रहेका व्यक्तिको आचरणसम्बन्धी बहसमा पनि रूपान्तरण हुन थाल्यो।

मधेश प्रदेशका केही नेताहरूले रुबी ठाकुर उपसभामुखमा सिफारिस हुँदा पार्टीले गर्व महसुस गरेको तर पछिल्ला घटनाक्रमले असहजता सिर्जना गरेको बताएका छन्। उनीहरूका अनुसार मधेशको प्रतिनिधित्व गर्ने अवसरका रूपमा हेरिएको नियुक्तिमाथि अहिले अनावश्यक विवादको छाया परेको छ।

पार्टीभित्रका केही नेताहरूले दीपकजंगले उपसभामुखलाई गलत राजनीतिक सल्लाह दिने गरेको आरोपसमेत लगाएका छन्। यद्यपि यस्ता आरोपहरूको स्वतन्त्र पुष्टि भएको छैन। यसबीच केही समयअघि उपसभामुख स्वास्थ्य समस्याका कारण ललितपुरस्थित किष्ट मेडिकल कलेज अस्पतालमा भर्ना भएको घटनालाई पनि दिपकजंगसँगकै सम्वन्धलाई कारणका रुपमा हेरिएको छ। जनकपुरस्थित जानकी मन्दिर भ्रमणका क्रममा देखिएको एउटा सार्वजनिक दृश्यलाई लिएर पनि मधेशमा चर्चा भएको बताइन्छ। त्यहाँ दिपकजंगले रुवीलाई हातमा समातेर हिँडेको दृष्य असहज बनेको थिए।

यद्यपि आरोप र चर्चाबीच उपसभामुख रुबी ठाकुरको प्रतिक्रिया स्पष्ट छ। उनले दीपकजंग ठाकुर आफ्नो प्रमुख स्वकीय सचिव रहेको बताउँदै आफू र उनीबीच कुनै अनुचित सम्बन्ध नरहेको दाबी गरेकी छिन्। ‘मेरो उनीसँग कुनै सम्बन्ध छैन। मैले कुनै गलत काम गरेकी छैन। उनी मेरो प्रमुख स्वकीय सचिव हुन्,’ रुवीको भनाइ छ।

पार्टी महासचिव आरेन राईले पनि आफूहरू उपसभामुखलाई भेट्न गएको पुष्टि गर्दै त्यसको उद्देश्य एक पीडित युवतीको विषयमा कुरा राख्नु रहेको बताएका छन्। उनले उपसभामुख र दीपकजंगबीचको सम्बन्धबारे आफूलाई कुनै आधिकारिक जानकारी नभएको बताए। ‘उहाँहरू सहकर्मीको रूपमा पनि सँगै हिँड्नुभएको हुन सक्छ,’ उनले भनेका छन्।

यो घटनाले एउटा ठूलो प्रश्न भने उठाएको छ— सार्वजनिक पदमा रहेका व्यक्तिहरूको निजी जीवन, राजनीतिक जिम्मेवारी र सार्वजनिक छविबीचको सन्तुलन कहाँ र कसरी कायम गरिनुपर्छ ? नेपालको राजनीतिक संस्कृतिमा निजी सम्बन्ध, सामाजिक सञ्जालको प्रभाव र सार्वजनिक पदको मर्यादाबीचको सीमा रेखा झन् जटिल बन्दै गएको छ।

प्रमाणित तथ्यभन्दा छिटो आरोप फैलिने र सामाजिक सञ्जालमा धारणा निर्माण हुने प्रवृत्तिले सार्वजनिक व्यक्तित्वहरूलाई झन् ठूलो दबाबमा राख्ने गरेको छ। रुबी ठाकुरमाथि उठेका प्रश्नहरूको अन्तिम मूल्यांकन तथ्य, प्रमाण र सम्बन्धित निकायहरूको निष्कर्षबाट नै हुनेछ। तर अहिलेका लागि यो विवादले उपसभामुखको कार्यालय, श्रम संस्कृति पार्टी र मधेशबाट उदाएकी एक युवा नेतृको राजनीतिक यात्रामाथि नयाँ बहस भने अवश्य जन्माएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट