सप्तरीः छोरीको मृत्यु भएपछि श्रीमतीको पनि हत्या गरेर फरार भएका अभियुक्त ७ वर्षपछि पक्राउ

राजविराज— श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ। २०७६ सालमा आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेका सप्तरीको बोदेबरसाइन नगरपालिका–४ निवासी रुन्जे सदालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ०७६ पुस १७ गते राति बोदेबरसाइन नगरपालिका–४ मा भएको घटनापछि फरार रहेका रुन्जे सदालाई असार २१ गते सोही नगरपालिका अन्तर्गत सिल्हट क्षेत्रबाट पक्राउ गरिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूबाट जन्मिएकी एक छोरीको असामयिक मृत्यु भएपछि रुन्जे सदा र उनकी श्रीमती गीता देवीबीच विवाद भएको थियो। त्यसक्रममा रुञ्जेले गीता देवीमाथि कुटपिट गरी घाँटी थिचेर हत्या गरेको आरोप छ।

घटनालाई आत्महत्याको स्वरूप दिन डोरीमा झुण्ड्याइएको पनि प्रहरीको अनुसन्धानमा उल्लेख छ। घटनापछि मृतकका पिता सुकराती सदाले जाहेरी दिएपछि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको थियो। तर रुञ्जे घटनापछि फरार रहँदै आएका थिए।

सात वर्षपछि पक्राउ परेका उनलाई कानुनबमोजिम नियन्त्रणमा लिई सप्तरी जिल्ला अदालतबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

डीएसपी हेमराज घिमिरेका अनुसार अभियुक्तविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान जारी रहेको छ। अदालतको आदेशअनुसार उनलाई तीन दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको घिमिरेले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट