मोबाइल चोरीको आरोपमा दुई बालबालिकालाई फलामे पिलरमा बाँधेर यातना, दुई युवक पक्राउ

विराटनगर— मोबाइल चोरी गरेको आरोपमा मोरङको उर्लाबारीमा दुई जना बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेर यातना दिएको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। उर्लाबारी–३ स्थित गुरु गोरक्षनाथ मन्दिरमा ७ वर्षीय बालक र ६ वर्षीया बालिकालाई डोरीले बाँधेर राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार राति करिब ८ बजे प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा उर्लाबारी–३ निवासी दुखीलाल उराउका ७ वर्षीय छोरा रवि उराउ र ६ वर्षीया छोरी चाँदनी उराउलाई प्लास्टिकको डोरीले हातखुट्टा बाँधेर मन्दिर परिसरमा राखिएको अवस्थामा फेला पारिएको थियो।

प्रहरीले तत्काल दुवै बालबालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाएको जनाएको छ। प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा उनीहरूको खुट्टामा सामान्य निलडाम देखिएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।

घटनामा संलग्न रहेको आरोपमा झापाको शिवसताक्षी नगरपालिका–३ निवासी २० वर्षीय निशान कार्की र १८ वर्षीय सुमन बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूले मोबाइल चोरी गरेको आरोप लगाउँदै बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ। इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। डीएसपी श्रेष्ठका अनुसार कसैमाथि चोरीको आशंका भए पनि कानुन हातमा लिएर दुव्र्यवहार गर्न वा यातना दिन पाइँदैन।

‘त्यहाँमाथि बालबालिकालाई बाँधेर राखिएको घटना गम्भीर प्रकृतिको हो। घटनाका सबै पक्षबारे अनुसन्धान भइरहेको छ,’ उनले भने। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट