सरकारी अधिकृतको अश्लील हर्कतले सम्झायो बसभित्रै हस्तमैथुन गरी युवतीमाथि स्खलन गरिएको घटना

काठमाडौँ– ललितपुरको इमाडोलस्थित सडकमा हिँडिरहेकी एक युवतीको मोबाइल क्यामेराले केही सेकेन्डका लागि कैद गरेको दृश्यले सोमबार सामाजिक सञ्जाल मात्र होइन, राज्य संयन्त्रभित्रको नैतिक उत्तरदायित्वमाथि समेत गम्भीर बहस जन्मायो।

सार्वजनिक स्थलमा एक महिलासामु आफ्नो गोप्य अंग प्रदर्शन गरेको आरोपमा पक्राउ परेका सरकारी अधिकृत सुरेन्द्र भट्टले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा भनेका छन— ‘म क्षणिक आवेग र उत्तेजनामा आएँ, मेरो मति बिग्रियो।’ तर यो बयानसँगै अर्को प्रश्न पनि उभिएको छ— सार्वजनिक सडकमा महिलामाथि हुने यौनजन्य दुव्र्यवहारलाई केवल ‘क्षणिक उत्तेजना’ भनेर व्याख्या गर्न मिल्छ ?

प्रहरीका अनुसार बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलमा बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्टमाथि आइतबार बिहान सार्वजनिक सडकमा हिँडिरहेकी एक युवतीलाई गोप्य अंग प्रदर्शन गरेको आरोप लागेको हो।

घटनापछि युवतीले आफूले देखेको र भोगेको अवस्थाको भिडियो मोबाइलमा कैद गरिन्। त्यसपछि उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो। भिडियो भाइरल भएसँगै प्रहरी सक्रिय बन्यो र भट्टलाई सोमबार दिउँसो इमाडोल क्षेत्रबाट पक्राउ गरियो।

अनुसन्धानका क्रममा पक्राउ परेका भट्ट शिक्षा मन्त्रालयअन्तर्गत अधिकृत तहमा कार्यरत कर्मचारी रहेको खुलेको छ। उनी विगतमा जिल्ला शिक्षा कार्यालय धुलिखेलमा विद्यालय निरीक्षक तथा सूचना अधिकारीको भूमिकामा समेत कार्यरत थिए। मन्त्रालयका विभिन्न कार्यक्रमका लागि देशका विभिन्न जिल्लामा पुग्ने जिम्मेवारीसमेत उनले सम्हाल्दै आएका थिए।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक बयानमा भट्टले आफूले जानाजान यस्तो कार्य नगरेको दाबी गर्दै ‘क्षणिक आवेग’ र ‘उत्तेजना’ का कारण घटना भएको बताएका छन्। उनले आफूलाई त्यसबेला के भइरहेको थियो भन्ने पूर्ण रूपमा नियन्त्रण गर्न नसकेको आशय व्यक्त गरेका छन्।

घटनापछि उनको मानसिक अवस्थाबारे पनि चिकित्सकहरूसँग परामर्श गरिएको थियो। प्रारम्भिक जानकारीअनुसार चिकित्सकीय रूपमा उनको मानसिक अवस्था सामान्य रहेको बताइएको छ। अर्थात् घटना मानसिक असन्तुलनका कारण भएको निष्कर्ष हालसम्म देखिएको छैन।

यो घटनाको अर्को महत्वपूर्ण पक्ष भनेको पीडित युवतीको प्रतिरोध हो। सार्वजनिक भएका विवरणअनुसार युवतीले घटना भएपछि तत्कालै प्रतिवाद गरिन्। उनले भिडियो खिचिन्, सार्वजनिक गरिन् र घटनालाई लुकाउनुभन्दा उजागर गर्ने बाटो रोजिन्। यही कारणले घटनाले कानुनी प्रक्रियासम्म पुग्ने अवसर पायो।

नेपालमा यौनजन्य दुव्र्यवहारका धेरै घटना सार्वजनिक स्थलमै हुने भए पनि पीडितहरू सामाजिक दबाब, लाज, डर वा प्रक्रियागत झन्झटका कारण उजुरी गर्न हिच्किचाउने गरेका छन्। यसपटक भने सामाजिक सञ्जाल स्वयम् प्रमाण संकलनको माध्यम बन्यो र प्रहरी अभियुक्तसम्म पुग्न सक्यो।

ललितपुरमा सार्वजनिक स्थलमा महिलामाथि हुने यौनजन्य दुव्र्यवहारको यो पहिलो घटना भने होइन। गत वर्ष फागुन ७ गते कलेज जाँदै गरेकी एक युवतीलाई पछ्याउँदै अश्लील हर्कत गरेको आरोपमा बाजुराको बडिमालिका नगरपालिका–३ घर भई काठमाडौं–१४ सुनारगाउँ बस्ने २५ वर्षीय गोपाल खड्का पक्राउ परेका थिए। उनीमाथि सार्वजनिक स्थलमै महिलालाई हैरानी दिएको आरोप लागेको थियो।

यसअघि २०७५ सालमा अर्को चर्चित घटना सार्वजनिक भएको थियो। भरतपुर महानगरपालिका–२४ स्थायी घर भएका २१ वर्षीय रबिन रुचालले सार्वजनिक बसभित्र हस्तमैथुन गरी एक युवतीको कपालमा वीर्य स्खलन गरेका थिए। अझ अचम्मको कुरा, उनले उक्त घटनाको भिडियो आफैंले खिचेर सार्वजनिक गरेका थिए।

डल्लु–लगनखेल रुटमा चल्ने बसभित्र भएको त्यो घटनापछि उनी भारततर्फ फरार भएका थिए। झण्डै एक वर्षपछि महानगरीय अपराध महाशाखाको टोलीले उनलाई चितवनबाट पक्राउ गरेको थियो। यी घटनाहरू फरक समयका भए पनि एउटै प्रश्नमा जोडिन्छन— महिलाले सार्वजनिक स्थलमा सुरक्षित महसुस गर्ने अधिकार कति सुरक्षित छ ?

कानुनले भने यस्ता गतिविधिलाई स्पष्ट रूपमा अपराध मानेको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा २२४ अनुसार कसैको मञ्जुरीबिना गोप्य अंग प्रदर्शन गर्नु, अश्लील व्यवहार गर्नु वा यौनजन्य हैरानी दिनु यौन दुराचारअन्तर्गत पर्ने कसुर हो। यस कसुरमा दोषी ठहर भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

सार्वजनिक स्थानमा हुने यस्ता घटनालाई कतिपयले ‘मजाक’, ‘उत्तेजना’, ‘लहड’ वा ‘क्षणिक कमजोरी’ का रूपमा व्याख्या गर्ने प्रयास गर्छन्। तर कानुनी दृष्टिले यस्ता कार्य पीडितको इच्छा र सहमतिविपरीत गरिने यौनजन्य हस्तक्षेप हुन्। त्यसैले यिनलाई सामान्य सामाजिक विचलनभन्दा गम्भीर आपराधिक व्यवहारका रूपमा लिइन्छ।

इमाडोलको पछिल्लो घटनाले एउटा सरकारी कर्मचारीको व्यक्तिगत व्यवहारमाथि मात्र प्रश्न उठाएको छैन। यसले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको आचरण, महिलाको सडक सुरक्षा, सामाजिक सञ्जालको प्रमाणिक भूमिका र यौन दुराचारप्रति समाजको संवेदनशीलताबारे समेत नयाँ बहस जन्माएको छ।

अब यो घटनाले कानुनी रूपमा कुन मोड लिन्छ भन्ने निर्णय अदालतको प्रक्रियाले गर्नेछ। तर एउटा तथ्य भने स्पष्ट देखिएको छ— केही वर्षअघिसम्म यस्ता घटना चुपचाप दबिन्थे, अहिले क्यामेरा, सामाजिक सञ्जाल र बढ्दो सार्वजनिक चेतनाका कारण ती लुक्न छोडेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट