मोरङमा खुकुरी प्रहार गरी भाउजूको हत्या, छुट्याउन गएका ठूलोबुवा पनि घाइते
विराटनगर— मोरङको ग्रामथान गाउँपालिका–६ झोवावनीमा २० वर्षीया एक महिलाको आफ्नै देवरको खुकुरी प्रहारबाट हत्या भएको छ। सोमबार राति करिब साढे ८ बजे भएको घटनामा कपिल खवासकी पत्नी सीमा राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी सन्तोष श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट २१ वर्षीय सौचन राजवंशीले आफ्नी भाउजू सीमा राजवंशीमाथि खुकुरी प्रहार गरेको खुलेको छ। घाँटीमा गम्भीर चोट लागेका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हत्या घरको आँगनमा भएको देखिएको छ। घटनापछि शवलाई घिसारेर शौचालय नजिक पु¥याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनास्थलको निरीक्षणका क्रममा आँगनदेखि शौचालयसम्म रगतका छिटा र दाग फेला परेको छ।
घटनाका क्रममा देवर–भाउजूबीच भएको विवाद छुट्याउन गएका सौचनका ठूलोबुवा शिवलाल खवास पनि घाइते भएका छन्। उनको दाहिने काँधमा खुकुरी प्रहारबाट गहिरो चोट लागेको प्रहरीले जनाएको छ। घाइते शिवलालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ र उनको अवस्था मध्यम रहेको बताइएको छ।
प्रहरीले हत्या आरोपित सौचन राजवंशीलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण भने अझै खुल्न नसकेको र विभिन्न कोणबाट अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोली घटनास्थलमा खटिएको छ।
प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ। मृतक सीमा राजवंशीका पति कपिल खवास काठमाडौंमा बस्दै आएका छन्।

