कप्तानगञ्ज गोलीकाण्डको चहर्याउने घाउः दुईको मृत्यु, एकले खुट्टा गुमाए, अर्काको हात कट्ने जोखिम
विराटनगर — सुनसरीको देवानगन्ज–३, कप्तानगन्जमा साउन १० गते राति भएको हिंसात्मक झडप र त्यसपछि सशस्त्र प्रहरीले चलाएको गोलीको आवाज अहिले सडकमा सुनिँदैन। तर त्यसको प्रतिध्वनि अझै अस्पतालका आईसीयू, शल्यक्रिया कक्ष र बिरामीका परिवारका अनुहारमा बाँकी छ।
दुई युवाको मृत्यु भइसकेको छ भने गोली लागेका आठ जना अझै उपचाररत छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर भएकाले काठमाडौँ लगिएको छ। एक जनाले खुट्टा गुमाइसकेका छन् भने अर्का एक जनाको हात नै काट्नुपर्ने अवस्था आउन सक्ने संकेत चिकित्सकले दिएका छन्।
घटनामा घाइते देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहता अहिले काठमाडौँस्थित महाराजगञ्जको शिक्षण अस्पतालमा उपचाररत छन्। प्रारम्भिक उपचार विराटनगरको विराट नर्सिङ होममा भए पनि स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई शुक्रबार एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो। उपचारमा संलग्न उनका दाजु रोशन मेहताका अनुसार रवीन्द्रको स्वास्थ्य अझै स्थिर हुन सकेको छैन।
चिकित्सकका अनुसार रवीन्द्रको बायाँ तिघ्रामा लागेको गोलीले प्रमुख नसामा गम्भीर क्षति पु¥याएको थियो। विराटनगरमै नसाको शल्यक्रिया गरिए पनि संक्रमण र जटिलता बढेपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो। अन्ततः चिकित्सकहरूले जीवन जोगाउन गोली लागेको बायाँ खुट्टा नै काट्नुपर्ने निर्णय गरे।
रवीन्द्रका अर्का दाजु राजेश मेहता भन्छन्, ‘चिकित्सकको सल्लाहअनुसार खुट्टा काट्नुप¥यो। स्वास्थ्य अवस्था अझै जटिल छ, अपेक्षाअनुसार सुधार हुन सकेको छैन।’
काठमाडौंमै उपचार गराइरहेका अर्का घाइते हुन् देवानगन्ज–३ का १८ वर्षीय अमित यादव। विराटनगरको नोबेल शिक्षण अस्पतालबाट नेपाली सेनाको स्काई ट्रकमार्फत बिहीबार साँझ उनलाई राष्ट्रिय ट्रमा सेन्टर पु¥याइएको थियो। चिकित्सकका अनुसार गोली उनको बायाँ हात र कोखामा लागेको थियो।
अमितका छिमेकी जनार्दन यादवका अनुसार उनको स्वास्थ्यमा केही सुधार देखिए पनि चिकित्सकहरूले गोली लागेको हात बचाउन सकिने वा हटाउनुपर्ने भन्ने विषयमा थप चिकित्सकीय परामर्श गरिरहेका छन्।
‘अहिले उनी बोल्न थालेका छन्। अवस्था पहिलेभन्दा राम्रो छ। तर चिकित्सकले हात जोगिन्छ कि हटाउनुपर्छ भन्नेबारे अझै निर्णय गरिसकेका छैनन्,’ उनले भने।
काठमाडौंबाहेक अन्य छ जना घाइतेको उपचार विराटनगरका दुई अस्पतालमा जारी छ। न्युरो अस्पतालमा देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहता उपचाररत छन्।
मिथिलेशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो। चिकित्सकहरूले शल्यक्रिया गरेर गोली निकालेका छन्। उनी अहिले पनि आईसीयूमा छन् र अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।
हरेराम यादवको दुवै तिघ्राको बीच भागमा गोली लागेको थियो। शल्यक्रियापछि उनको स्वास्थ्य सामान्य बन्दै गएको चिकित्सकहरूको भनाइ छ। अमलेश मेहताको बायाँ पिठ्युँमा गोली लागेको थियो। उनको पनि सफल शल्यक्रिया भइसकेको छ र स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ।
विराट नर्सिङ होममा देवानगन्ज–३ का २५ वर्षीय सुनील मेहता तथा देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहताको उपचार भइरहेको छ।
२५ वर्षीय सुनीलको बायाँ घुँडामुनिको पछाडिको भागमा गोली लागेको थियो। चिकित्सकका अनुसार उनको अवस्था सामान्य छ। अमितकुमार यादवको कम्मरको अगाडिबाट प्रवेश गरेको गोली पछाडिबाट निस्किएको थियो। शल्यक्रियापछि उनको स्वास्थ्यमा पनि सुधार भइरहेको छ। २६ वर्षीय सुनील मेहताको बायाँ कुहिनामा गोली लागेको थियो र उनको पनि सफल शल्यक्रिया भइसकेको अस्पतालले जनाएको छ।
कप्तानगन्जमा दुई पक्षबीच सुरु भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि साउन १० गते राति स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनामा १० जना युवा घाइते भएका थिए।
घाइतेमध्ये देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थल नजिकै मृत्यु भएको थियो। त्यसपछि देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताले उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा बिहीबार अन्तिम सास फेरे। सरकार र पीडित पक्षबीच सहमति भएपछि दुवै जनाको शव परिवारले बुझेर शुक्रबार राति अन्त्येष्टि गरेको छ।
प्रहरीका अनुसार उक्त घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए। गोलीकाण्डपछि सुनसरीका विभिन्न क्षेत्रमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भए। लगातार दुई दिनसम्म हिंसा फैलिएपछि जनजीवन प्रभावित बनेको थियो र स्थानीय त्रासपूर्ण अवस्थामा बस्न बाध्य भएका थिए।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार अहिले जिल्लाको सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको छ। तर अस्पतालका शैय्यामा रहेका घाइतेहरूको उपचार, उनीहरूले भोगिरहेको शारीरिक पीडा र परिवारको अनिश्चित भविष्यले कप्तानगन्जको घटनाले छोडेको घाउ भने अझै निको भएको छैन।

