दुई महिलासँगको विवाहेत्तर सम्बन्ध र जासुसी आशंकाबीच एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा !

काठमाडौँ– विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एक एनभिडियाको नेतृत्वमा ठूलो परिवर्तन आएको छ। कम्पनीका सहसंस्थापक तथा ३३ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका जेन्सेन हुआङले पदबाट राजीनामा दिएका छन्। उनको व्यक्तिगत सम्बन्ध, चिनियाँ गुप्तचर निकायसँग जोडिएको आशंका र कम्पनीको राष्ट्रिय सुरक्षा संवेदनशीलतामाथि उठेका प्रश्नबीच नेतृत्व परिवर्तन भएको हो।

एनभिडियाले बिहीबार, नोभेम्बर १२ मा जारी गरेको आधिकारिक विज्ञप्तिमा हुआङले कम्पनीको अध्यक्ष, सीईओ तथा सञ्चालक समिति सदस्यबाट तत्काल लागू हुने गरी राजीनामा दिएको जनाएको छ। उनको स्थानमा कम्पनीकी प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको छ।

क्रेसले स्थायी उत्तराधिकारी नियुक्त नहुँदासम्म अन्तरिम प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्नेछिन्। उनले सीएफओको जिम्मेवारी पनि निरन्तर सम्हाल्ने कम्पनीले स्पष्ट पारेको छ। सञ्चालक समितिले अब स्थायी सीईओको खोजी सुरु गरेको छ। यसका लागि कम्पनीभित्रका र बाहिरका दुवै उम्मेदवारलाई विचार गरिनेछ।

हुआङको बहिर्गमनको पृष्ठभूमिमा उनका दुई विवाहेत्तर सम्बन्धबारे सार्वजनिक भएका विवरण छन्। अमेरिकी सञ्चारमाध्यम द वाल स्ट्रिट जर्नल र द न्यूयोर्क टाइम्सले सार्वजनिक गरेका समाचारअनुसार हुआङको सम्बन्ध चीनका लागि जासुसी गरेको आशंका गरिएकी एलिस हुआङसँग जोडिएको थियो। त्यस्तै, एनभिडियाकै हेल्थकेयर विभागकी उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि उनको सम्बन्ध रहेको दाबी गरिएको छ।

एलिस हुआङसँगको सम्बन्धबारे जेन्सेनले आफ्नी पत्नी र परिवारसँग माफी मागेका छन्। उनले कम्पनीका कर्मचारीलाई पठाएको सन्देशमा पनि आफूले पत्नीप्रति बेइमानी गरेको स्वीकार गर्दै त्यसको जिम्मेवारी लिएका छन्। तर, एलिस हुआङमाथि लागेको जासुसीको आरोप भने अहिलेसम्म पुष्टि भएको छैन।

यो विवाद व्यक्तिगत सम्बन्धमा मात्र सीमित रहेन। अमेरिकी गुप्तचर निकायले एलिस हुआङको गतिविधि र एनभिडियाका चिप चीनका कम्पनीसम्म पुर्‍याउने सम्भावित माध्यमबारे अनुसन्धान गरिरहेको छ। यो विषय राष्ट्रिय सुरक्षा र प्रविधि प्रतिस्पर्धासँग जोडिएको हो। अमेरिकी अधिकारीहरूको चासो विशेषगरी अत्याधुनिक एआई चिप चीनसम्म पुग्न सक्ने सम्भावनामा केन्द्रित रहेको बताइएको छ।

एनभिडियाको सञ्चालक समितिले नोभेम्बर ८ मा हुआङको नेतृत्वप्रति विश्वास रहेको जनाएको थियो। तर, त्यससँगै कम्पनीले उनी विदेशी गुप्तचर निकायको प्रभावमा परेको हुन सक्ने विषयमा स्वतन्त्र अनुसन्धान सुरु गरेको जानकारी दिएको थियो। त्यसपछि किम्बर्ली पावेलसँगको सम्बन्धबारे थप विवरण सार्वजनिक भए। नोभेम्बर ११ मा सञ्चालक समितिले हुआङलाई पदबाट हटाउने वा उनको भविष्यबारे निर्णय गर्ने विषयमा छलफल गरेको रोयटर्सले जनाएको थियो।

अन्ततः नोभेम्बर १२ मा कम्पनीले उनको राजीनामा सार्वजनिक ग¥यो। यद्यपि, एनभिडियाले आधिकारिक विज्ञप्तिमा राजीनामाको कारण खुलाएको छैन। त्यसैले व्यक्तिगत सम्बन्ध र जासुसी आशंकाकै कारण उनले पद छाडेको कम्पनीको औपचारिक पुष्टि भने भएको छैन। तर, घटनाक्रमको समय र सञ्चालक समितिको अनुसन्धानले नेतृत्व परिवर्तनलाई विवादसँग जोडेर हेरिएको छ।

को हुन् नयाँ अन्तरिम सीईओ कोलेट क्रेस ?
एनभिडियाको नेतृत्व सम्हाल्ने ५९ वर्षीया कोलेट क्रेस कम्पनीको वित्तीय व्यवस्थापनमा लामो अनुभव भएकी अधिकारी हुन्। उनी सन् २०१३ सेप्टेम्बरदेखि एनभिडियाको कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृतका रूपमा कार्यरत छिन्। कम्पनीको तीव्र विस्तार, लगानी, वित्तीय रणनीति र कारोबार व्यवस्थापनमा उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ।

एनभिडियामा आउनुअघि क्रेसले प्रविधि क्षेत्रका ठूला कम्पनीमा झन्डै २५ वर्ष वित्तीय जिम्मेवारी सम्हालेकी थिइन्। उनले टेक्सास इन्स्ट्रुमेन्ट्समा आठ वर्ष काम गरेकी थिइन्। त्यसपछि सन् १९९७ देखि २०१० सम्म माइक्रोसफ्टमा विभिन्न वित्तीय जिम्मेवारीमा रहिन्। माइक्रोसफ्टको सर्भर एन्ड टुल्स डिभिजनको प्रमुख वित्तीय अधिकृतका रूपमा समेत उनले काम गरेकी थिइन्।

सन् २०१० मा उनी सिस्कोमा वरिष्ठ उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृतका रूपमा जोडिएकी थिइन्। त्यहाँ कम्पनीको वित्तीय रणनीति र व्यावसायिक विकाससम्बन्धी जिम्मेवारी सम्हालेपछि सन् २०१३ मा एनभिडियामा प्रवेश गरेकी हुन्।

क्रेसले युनिभर्सिटी अफ एरिजोनाबाट वित्त विषयमा स्नातक र साउदर्न मेथोडिस्ट युनिभर्सिटीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेकी छिन्। एनभिडियामा उनको नेतृत्वकालमा कम्पनीको कारोबार र बजार मूल्य दुवै असाधारण रूपमा विस्तार भएका छन्।

रोयटर्सका अनुसार क्रेसलाई कम्पनीभित्र जेन्सेन हुआङका आक्रामक लगानी र व्यावसायिक योजनामाथि वित्तीय अनुशासन कायम गर्न खोज्ने अधिकारीका रूपमा पनि चिनिन्छ। एनभिडियाले आफ्ना ग्राहक तथा एआई पूर्वाधार कम्पनीमा ठूलो रकम लगानी गर्ने योजनामा क्रेस र उनको वित्तीय टोलीले जोखिमबारे प्रश्न उठाउने गरेको समाचारमा उल्लेख छ। अन्तरिम नेतृत्वमा उनको नियुक्तिलाई बजार र लगानीकर्ताको विश्वास स्थिर राख्ने प्रयासका रूपमा पनि हेरिएको छ।

हुआङपछि एनभिडियाको नेतृत्व कसले सम्हाल्छ ?
हुआङको बहिर्गमनपछि एनभिडियाको सञ्चालक समितिले हार्भी सी जोन्सलाई कम्पनीको पहिलो अध्यक्ष नियुक्त गरेको छ। जोन्स सन् १९९३ देखि नै कम्पनीको सञ्चालक समितिमा छन्। उनले यसअघि सेमिकन्डक्टर डिजाइनसम्बन्धी कम्पनी सिनोप्सिसको प्रमुख कार्यकारी तथा कार्यकारी अध्यक्षका रूपमा काम गरेका थिए।

स्थायी सीईओका लागि कम्पनीले आन्तरिक र बाह्य दुवै विकल्प खुला राखेको छ। एनभिडियाका वरिष्ठ अधिकारी इयान बकसहित अन्य प्रविधि क्षेत्रका नेतृत्वकर्ताको नाम सम्भावित उत्तराधिकारीका रूपमा चर्चामा आएको छ। तर, कम्पनीले अहिलेसम्म कसैलाई स्थायी उत्तराधिकारीका रूपमा अघि सारेको छैन।

हुआङले सन् १९९३ मा एनभिडिया स्थापना गरेका थिए। सुरुमा कम्प्युटर ग्राफिक्स र भिडियो गेमका लागि चिप निर्माणमा केन्द्रित कम्पनीलाई उनले क्रमशः डेटा सेन्टर, उच्च क्षमताको कम्प्युटिङ र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको केन्द्रमा पुर्‍याए। अहिले विश्वभरका ठूला प्रविधि कम्पनीका एआई प्रणाली सञ्चालनमा एनभिडियाका चिपको महत्वपूर्ण भूमिका छ।

उनको नेतृत्वमा एनभिडिया विश्वकै सबैभन्दा मूल्यवान प्रविधि कम्पनीमध्ये एक बनेको थियो। त्यसैले ३३ वर्षपछि संस्थापक नेतृत्वको बहिर्गमनलाई कम्पनीका लागि सामान्य पद हस्तान्तरणभन्दा ठूलो घटनाका रूपमा हेरिएको छ।

हुआङको बहिर्गमनसँगै एनभिडियाले अब दुईवटा चुनौती सामना गर्नुपर्नेछ—एकातिर एआई चिप बजारमा आफ्नो अग्रस्थान कायम राख्नु, अर्कोतिर नेतृत्वको विश्वसनीयता र कम्पनीको आन्तरिक सुशासनमाथि उठेका प्रश्नको जवाफ दिनु। व्यक्तिगत सम्बन्ध, राष्ट्रिय सुरक्षा र कम्पनीको निर्णय प्रक्रियासँग जोडिएका विवादले आगामी दिनमा अमेरिकी नियामक निकाय तथा सांसदहरूको चासोसमेत बढाउन सक्ने देखिएको छ।

स्थायी सीईओ नियुक्त नहुँदासम्म क्रेसको अन्तरिम नेतृत्वमा कम्पनी कसरी अघि बढ्छ र हुआङसँग जोडिएका विवादको अनुसन्धानले कस्तो निष्कर्ष निकाल्छ भन्ने विषयले अब विश्व प्रविधि उद्योगको ध्यान तान्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट