एनभिडियाका जेन्सेन हुआङका तीन विवाहेतर सम्बन्धको खुलासा! ३३ वर्षे नेतृत्वबाट राजीनामा, एआई चिपको विश्वबजार हल्लियो

काठमाडौँ– विश्वकै शक्तिशाली एआई चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको व्यक्तिगत सम्बन्धसम्बन्धी विवादले नयाँ मोड लिएको छ। चिनियाँ जासुसीको आशंकामा अनुसन्धानमा तानिएकी महिलादेखि आफ्नै कम्पनीकी उच्च अधिकारीसम्मको सम्बन्ध सार्वजनिक भइरहेका बेला रोयटर्सले हुआङको एनभिडियाकै अर्की एक महिला कर्मचारीसँग पनि घनिष्ठ सम्बन्ध रहेको खुलासा गरेको छ।

नोभेम्बर १२ मा रोयटर्सले दुई जना जानकार व्यक्तिलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचारअनुसार हुआङको कम्पनीकै अर्की कर्मचारीसँग पनि सम्बन्ध थियो। रोयटर्सले ती महिलाको नाम र पद खुलाएको छैन। एनभिडियाले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ भने हुआङले पनि रोयटर्सको प्रतिक्रियाको आग्रहको जवाफ दिएका छैनन्।

यसअघि हुआङको दुई महिलासँगको सम्बन्धबारे समाचार सार्वजनिक भइसकेको थियो। पहिलो सम्बन्ध सिंगापुरमा आधारित क्लाउड कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग जोडिएको छ। दोस्रो सम्बन्ध एनभिडियाकी हेल्थकेयर उपाध्यक्ष किम्बर्ली पावेलसँग रहेको समाचार सार्वजनिक भएको थियो। पछिल्लो खुलासासँगै हुआङका तीन महिलासँग सम्बन्ध रहेको विवरण सार्वजनिक भएको हो। यद्यपि रोयटर्सले पछिल्लो महिलाको पहिचान र सम्बन्धको समयावधिबारे थप विवरण दिएको छैन।

चिनियाँ जासुसीको आशंकामा अनुसन्धानमा तानिएकी एलिस
हुआङको व्यक्तिगत सम्बन्ध विवादको सुरुवात एलिस हुआङसँगको सम्बन्ध सार्वजनिक भएपछि भएको थियो। एलिस सिंगापुरस्थित डेटा सेन्टर तथा क्लाउड सेवा कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी हुन्। उनी र जेन्सेन हुआङबीच नाम एउटै भए पनि पारिवारिक सम्बन्ध रहेको पुष्टि भएको छैन।

अमेरिकी गुप्तचर निकायहरूले एलिसलाई चीनका लागि जासुसी गरेको आशंकामा अनुसन्धानको दायरामा राखेको समाचार सार्वजनिक भएका छन्। उनी चिनियाँ गुप्तचर संयन्त्रसँग जोडिएको हुन सक्ने अमेरिकी पक्षको आशंका रहेको बताइएको छ। तर, उनी जासुस भएको आरोप स्वतन्त्र रूपमा प्रमाणित भएको छैन। चीनले पनि जासुसीसम्बन्धी आरोप अस्वीकार गर्दै आएको छ।

एलिससँगको सम्बन्ध सार्वजनिक भएपछि हुआङले नोभेम्बर ८ मा जारी गरेको वक्तव्यमा आफूले वैवाहिक सम्बन्धमा बेइमानी गरेको स्वीकार गरेका थिए। यद्यपि उनले वक्तव्यमा महिलाको नाम उल्लेख गरेका थिएनन्।

एलिससँगको सम्बन्धले व्यक्तिगत जीवनमा मात्र होइन, एनभिडियाको व्यावसायिक गतिविधिमा समेत प्रश्न उठाएको थियो। मेगास्पिड एनभिडियाको क्लाउड सेवा साझेदार कम्पनी भएकाले त्यससँग जोडिएका कारोबार, चिप आपूर्ति र सम्भावित स्वार्थको द्वन्द्वबारे पनि अनुसन्धान तथा सार्वजनिक बहस सुरु भएको थियो।

अमेरिकाले चीनको सैन्य प्रयोजनसँग जोडिएका संस्थाहरू र दक्षिणपूर्वी एसियाका मध्यस्थ कम्पनीमार्फत प्रतिबन्धित उन्नत एआई चिप चीन पुग्न सक्ने विषयमा पनि चासो देखाएको समाचारहरू सार्वजनिक भएका छन्। मेगास्पिडको भूमिका र एलिससँगको सम्बन्धले एनभिडियाको चिप कारोबारमाथि थप प्रश्न उठाएको थियो।

कम्पनीकै उच्च अधिकारी किम्बर्ली पावेलसँग पनि सम्बन्ध
एलिससँगको सम्बन्धको चर्चा सेलाउन नपाउँदै नोभेम्बर ११ मा द न्युयोर्क टाइम्सले हुआङको एनभिडियाकी हेल्थकेयर उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि विवाहेतर सम्बन्ध रहेको समाचार सार्वजनिक गरेको थियो।

पावेल एनभिडियाको हेल्थकेयर व्यवसायकी उपाध्यक्ष थिइन् र उनी हुआङलाई प्रत्यक्ष रिपोर्टिङ गर्ने अधिकारीमध्ये एक रहेको समाचारमा उल्लेख छ। कम्पनीको उच्च व्यवस्थापकीय तहमा कार्यरत अधिकारीसँग प्रमुख कार्यकारीको सम्बन्ध रहेको विवरण सार्वजनिक भएपछि स्वार्थको द्वन्द्व, कार्यस्थलको आचारसंहिता र नेतृत्वको जवाफदेहितामाथि प्रश्न उठेको थियो।

त्यसपछि नोभेम्बर १२ मा रोयटर्सले अर्को महिला कर्मचारीसँग पनि हुआङको घनिष्ठ सम्बन्ध रहेको खुलासा ग¥यो। ती महिला पावेलभन्दा फरक कर्मचारी भएको रोयटर्सले जनाएको छ। तर, उनको नाम, जिम्मेवारी र हुआङसँगको सम्बन्ध कहिलेदेखि थियो भन्नेबारे समाचारमा खुलाइएको छैन।

यसरी लगातार सार्वजनिक भएका विवरणले एनभिडियाको शीर्ष नेतृत्वलाई ठूलो दबाबमा पारेको थियो। व्यक्तिगत सम्बन्धका समाचारसँगै कम्पनीभित्रको शक्ति सन्तुलन, प्रमुख कार्यकारीको आचरण र सञ्चालक समितिको निगरानी क्षमतामाथि पनि प्रश्न उठ्न थालेका थिए।

३३ वर्षसम्म कम्पनीको नेतृत्व गरेका हुआङले दिए राजीनामा
विवाद चर्किँदै गएपछि हुआङले नोभेम्बर १२ मा एनभिडियाको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिए। कम्पनीले उनको राजीनामा स्वीकार गरेको जनाएको छ। उनले कम्पनीको अध्यक्ष र सञ्चालक समितिको सदस्यको जिम्मेवारीसमेत छाडेका छन्।

हुआङ एनभिडियाका सहसंस्थापक हुन्। सन् १९९३ मा स्थापना भएको कम्पनीलाई ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) निर्माता कम्पनीबाट विश्वव्यापी एआई उद्योगको केन्द्रमा पुर्‍याउन उनको महत्वपूर्ण भूमिका थियो। करिब ३३ वर्षसम्म कम्पनीको नेतृत्व गरेका उनी प्रविधि उद्योगका सबैभन्दा प्रभावशाली कार्यकारीमध्ये एक मानिन्थे।

उनको नेतृत्वमा एनभिडियाका चिपहरू गेमिङ, डेटा सेन्टर, सुपरकम्प्युटिङ र कृत्रिम बुद्धिमत्तासम्बन्धी प्रविधिको मुख्य आधार बने। एआई मोडेल विकास गर्ने विश्वका ठूला प्रविधि कम्पनी तथा अनुसन्धान संस्थाहरू एनभिडियाका चिपमा निर्भर छन्। यही सफलताले एनभिडियालाई विश्वकै सबैभन्दा मूल्यवान् कम्पनीमध्ये एक बनाएको थियो।

तर, व्यक्तिगत सम्बन्ध र सम्भावित विदेशी प्रभावसँग जोडिएका विवादले उनको नेतृत्व संकटमा पर्‍यो। रोयटर्सका अनुसार कम्पनीको सञ्चालक समितिले हुआङलाई पदबाट हटाउने विषयमा छलफलसमेत गरेको थियो। अन्ततः उनले राजीनामा दिएपछि कम्पनीले नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाएको हो।

कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी
हुआङको बहिर्गमनपछि एनभिडियाले कम्पनीकी प्रमुख वित्तीय अधिकृत (सीएफओ) तथा कार्यकारी उपाध्यक्ष कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। क्रेस सन् २०१३ देखि एनभिडियामा कार्यरत छिन्। उनीसँग माइक्रोसफ्ट, सिस्को र टेक्सास इन्स्ट्रुमेन्ट्सजस्ता प्रविधि कम्पनीमा काम गरेको अनुभव छ।

रोयटर्सका अनुसार क्रेसले हुआङको आक्रामक लगानी र व्यावसायिक विस्तारका योजनामा वित्तीय जोखिमबारे प्रश्न उठाउने भूमिका निर्वाह गर्दै आएकी थिइन्। एनभिडियाले एआई क्षेत्रमा अर्बौं डलर लगानी गर्ने, आफ्ना ग्राहक तथा क्लाउड सेवा प्रदायक कम्पनीहरूलाई वित्तीय सहयोग गर्ने र नयाँ साझेदारी विस्तार गर्ने रणनीतिमा उनले वित्तीय अनुशासनको पक्षबाट निगरानी गर्दै आएकी थिइन्।

अब अन्तरिम नेतृत्वमा रहेर कम्पनीको दैनिक सञ्चालन, लगानीकर्ताको विश्वास र बजारको स्थिरता कायम राख्नु क्रेसको प्रमुख चुनौती हुनेछ। सञ्चालक समितिले स्थायी सीईओको खोजी गरिरहेको छ। आन्तरिक तथा बाह्य दुवै विकल्पमा छलफल भइरहेको रोयटर्सले जनाएको छ।

एनभिडियाको सेयर र एआई उद्योगमा पनि असर
हुआङको बहिर्गमनले एनभिडियाको नेतृत्वमा मात्र होइन, विश्वव्यापी एआई उद्योग र लगानी बजारमा समेत प्रभाव पारेको छ। रोयटर्सका अनुसार नोभेम्बर १२ मा कम्पनीको सेयर कारोबारमा ५.५ प्रतिशत गिरावट आएको थियो। अक्टोबरको सुरुवाती उच्च बिन्दुदेखि कम्पनीको सेयर मूल्य ३० प्रतिशतभन्दा बढी घटिसकेको थियो।

एनभिडिया एआई चिप उत्पादन गर्ने कम्पनी मात्र होइन, विश्वव्यापी एआई पूर्वाधार निर्माणमा ठूलो लगानी र साझेदारी गर्दै आएको संस्था पनि हो। क्लाउड कम्प्युटिङ कम्पनी, एआई अनुसन्धान प्रयोगशाला र प्रविधि स्टार्टअपहरूलाई वित्तीय सहयोग तथा चिप आपूर्तिमार्फत कम्पनीले एआई उद्योगको विस्तारमा भूमिका खेलेको छ। त्यसैले हुआङको बहिर्गमनपछि कम्पनीको लगानी रणनीति र नेतृत्वको दिशा कस्तो हुन्छ भन्नेमा लगानीकर्ता र प्रविधि क्षेत्रको चासो बढेको छ।

यसैबीच, नोभेम्बर १४ मा रोयटर्सले अर्को खुलासा गर्दै हुआङले एलिससँगको सम्बन्धबारे कम्पनीका वरिष्ठ अधिकारी र कानुनी सल्लाहकारलाई दिएको विवरण तथा उनको पछिल्लो स्वीकारोक्तिबीच विरोधाभास रहेको जनाएको छ। रोयटर्सले समीक्षा गरेको पत्राचार र स्रोतहरूका अनुसार उनले सुरुमा एलिससँगको सम्पर्कलाई सामान्य व्यावसायिक सम्बन्धका रूपमा प्रस्तुत गरेका थिए। उनीहरूबीचको सम्बन्ध कहिलेदेखि घनिष्ठ बनेको थियो भन्ने भने अझै स्पष्ट छैन।

एनभिडियाको स्वतन्त्र सञ्चालकहरूले हुआङ विदेशी गुप्तचर अभियानको निशानामा परेका थिए कि थिएनन् भन्ने विषयमा बाह्य कानुनी परामर्शदातासहित अनुसन्धान अघि बढाएका छन्। यस अनुसन्धानले कम्पनीको नेतृत्व, व्यावसायिक कारोबार र राष्ट्रिय सुरक्षा चासोबीचको सम्बन्धलाई थप पेचिलो बनाएको छ।

विश्वकै शक्तिशाली एआई चिप कम्पनीको नेतृत्वमा ३३ वर्षसम्म प्रभाव जमाएका हुआङको बहिर्गमनले एउटा प्रश्न छाडेको छ—एआई प्रविधिको भविष्य निर्माण गर्ने कम्पनीको नेतृत्व अब कसरी अघि बढ्छ ? व्यक्तिगत सम्बन्धको विवादबाट सुरु भएको संकटले कम्पनीको सुशासन, विदेशी प्रभावको जोखिम र अर्बौं डलरको प्रविधि कारोबारमाथि समेत गम्भीर प्रश्न खडा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट