संसद्कै महिला कर्मचारीमाथि यौन सम्बन्धको प्रमाण भेटिएपछि अमेरिकी सांसद जिमी गोमेजको राजीनामा
काठमाडौँ– अमेरिकाको क्यालिफोर्नियाबाट निर्वाचित डेमोक्र्याटिक सांसद जिमी गोमेजले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्। अमेरिकी संसद्कै महिला कर्मचारीमाथि यौन सम्वन्ध राखेको ठोस प्रमाण भेटिएको आचारसंहिता समितिको प्रतिवेदन सार्वजनिक भएपछि उनले पद छाड्ने निर्णय गरेका हुन्।
अमेरिकी प्रतिनिधिसभाको आचारसंहिता समिति (हाउस इथिक्स कमिटी) ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा गोमेजले संसद्की एक कर्मचारीमाथि अनिच्छित यौन अग्रसरता देखाएको र उनीसँग सहमतिबिनै यौन सम्पर्क गरेको प्रमाण फेला परेको उल्लेख छ। समितिका अनुसार गोमेजले कर्मचारीसँगको व्यवहारमा आफ्नो पद र शक्तिको असमानतालाई बेवास्ता गरेका थिए। उनको व्यवहार गम्भीर यौन दुर्व्यवहार वा कम गम्भीर प्रकृतिको यौन अपराध हुन सक्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
५१ वर्षीय गोमेजले समितिको निष्कर्षसँग कडा असहमति जनाएका छन्। तर, प्रतिवेदनको गम्भीरता स्वीकार गर्दै आफूले राजीनामा दिनुबाहेक अर्को विकल्प नदेखेको बताएका छन्। उनको राजीनामा आगामी डिसेम्बर १ देखि लागू हुनेछ।
गोमेजले सोमबार जारी गरेको वक्तव्यमा भनेका छन्, ‘म आचारसंहिता समितिको प्रतिवेदनको गम्भीरता बुझ्छु। मैले पहिले भनेझैँ विवाहबाहिर गरेका व्यक्तिगत गल्तीहरूको पूर्ण जिम्मेवारी लिन्छु।’ उनले समितिको प्रतिवेदनका निष्कर्षसँग भने आफू पूर्ण रूपमा सहमत नरहेको स्पष्ट पारेका छन्।
आचारसंहिता समितिले गरेको अनुसन्धानमा ‘साक्षी १’ भनेर परिचय गोप्य राखिएकी महिलाको बयानलाई महत्वपूर्ण आधार बनाइएको छ। ती महिला अमेरिकी संसद्को कर्मचारीका रूपमा कार्यरत थिइन्। प्रतिवेदनअनुसार ती महिलाले गोमेजले आफूलाई दुई फरक अवसरमा अनिच्छित यौन अग्रसरता देखाएको आरोप लगाएकी छिन्। एउटा घटना सार्वजनिक स्थानमा र अर्को संसद्को कार्यालयभित्र भएको उनको बयान छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०२४ को फेब्रुअरीमा वासिङ्टन डीसीस्थित एक बारमा भएको भेटका क्रममा गोमेजले आफ्नो स्कर्टभित्र हात हालेको महिलाले आरोप लगाएकी छिन्। उनले उक्त व्यवहार कुनै पनि अवस्थामा आफ्नो सहमतिमा नभएको बताएकी थिइन्। समितिले गोमेजले महिला कर्मचारीमाथि गरेको व्यवहारलाई अनिच्छित यौन अग्रसरता र पदको दुरुपयोगका रूपमा व्याख्या गरेको छ।
समितिका अनुसार उक्त घटनाले महिलालाई गम्भीर र निरन्तर मानसिक तनाव दिएको थियो। त्यसकै प्रभावले उनले संसद्को जागिरसमेत छाड्ने निर्णय गरेको प्रतिवेदनमा उल्लेख छ। गोमेजले यसअघि आफूबाट गल्ती भएको स्वीकार गरे पनि सम्बन्ध सहमतिमै भएको दाबी गर्दै आएका थिए।
पीडित महिलाका वकिल लिसा बैंक्स र सारा नेस्बिटले आचारसंहिता समितिको प्रतिवेदन सार्वजनिक भएपछि गोमेजले मतदाताबाट प्राप्त शक्तिको दुरुपयोग गरेको टिप्पणी गरेका छन्। उनीहरूले सांसदको व्यवहारले सार्वजनिक सेवामा करिअर बनाउने महिलाको सपना नै ध्वस्त पारेको बताएका छन्।
वकिलद्वयले प्रतिवेदनको निष्कर्षको स्वागत गर्दै संसद्भित्र रहेको यौन दुर्व्यवहारसम्बन्धी समस्यालाई एउटा सांसदको घटनामा मात्रै सीमित गरेर हेर्न नहुने बताएका छन्। उनीहरूले संसद्भित्रको ‘विषाक्त र शिकारी संस्कृति’ नियन्त्रण गर्न तत्काल कदम चाल्न पनि माग गरेका छन्।
गोमेजमाथिको अनुसन्धान एक पार्टीमा भएको घटनाबारे सार्वजनिक भएको खबरपछि सुरु भएको थियो। तत्कालीन सांसद एरिक स्वालवेलले आयोजना गरेको पार्टीमा गोमेजले एक कम उमेरकी कर्मचारीलाई चुम्बन गरेको देखिएको भन्ने विवरण सार्वजनिक भएपछि घटनाले चर्चा पाएको थियो। स्वालवेल पनि क्यालिफोर्नियाबाट निर्वाचित डेमोक्र्याटिक सांसद थिए। उनीमाथि पनि यौन दुर्व्यवहारसम्बन्धी आरोप लागेपछि उनले संसद् सदस्य पदबाट राजीनामा दिएका थिए।
त्यसपछि गोमेजमाथि पनि अनुसन्धान अघि बढाइएको थियो। संसद्को कर्मचारीका तर्फबाट उनका वकिलहरूले अनुचित यौन सम्पर्कको आरोप लगाएपछि द्विदलीय आचारसंहिता समितिले अगस्टमा औपचारिक अनुसन्धान घोषणा गरेको थियो। समितिले अनुसन्धानका क्रममा महिला कर्मचारीको बयानसहित घटनासँग सम्बन्धित विवरण संकलन गरेको थियो।
गोमेजले राजीनामा घोषणा गरेसँगै उनीमाथि संसद्ले थप औपचारिक कारबाही गर्ने सम्भावना सीमित भएको छ। आचारसंहिता समितिले आफ्नो प्रतिवेदनमा गोमेज आगामी महिना संसद्बाट बाहिरिने भएकाले उनीमाथि पर्याप्त संसदीय सजायको प्रक्रिया अघि बढाउन समय नपुगेको उल्लेख गरेको छ।
समितिले यौन दुर्व्यवहारसम्बन्धी अनुसन्धानलाई छिटो र प्रभावकारी बनाउने उद्देश्यले आफ्नो कार्यविधिमा परिवर्तन गर्ने प्रस्तावसमेत अघि बढाएको छ। गत साता समितिले यस्ता अनुसन्धानलाई तीव्रता दिने व्यवस्थासहितका परिवर्तन स्वीकृत गरेको थियो।
यसैबीच, गोमेजले यसै महिनाको मध्यावधि निर्वाचनमा पनि पराजय बेहोरेका थिए। उनी क्यालिफोर्नियाको लस एन्जलसको केही क्षेत्र समेट्ने निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्थे। डेमोक्र्याटिक पार्टीकै एन्जेला गोन्जालेस–टोरेसले उनलाई करिब २५ प्रतिशत मतान्तरले हराएकी थिइन्। निर्वाचन अभियानका क्रममा गोमेजमाथि भइरहेको यौन दुर्व्यवहारसम्बन्धी अनुसन्धान प्रमुख मुद्दामध्ये एक बनेको थियो।
पाँच कार्यकाल सांसद रहिसकेका गोमेज निर्वाचनपछि वर्षको अन्त्यमा पदबाट बाहिरिने तयारीमा थिए। तर, आचारसंहिता समितिको प्रतिवेदन सार्वजनिक भएपछि उनले निर्धारित कार्यकाल सकिनुअघि नै डिसेम्बर १ देखि लागू हुने गरी राजीनामा दिने घोषणा गरेका छन्।
गोमेजको घटनाले अमेरिकी संसद्भित्र निर्वाचित प्रतिनिधिको शक्ति, कर्मचारीसँगको सम्बन्ध र कार्यस्थलमा हुने यौन दुव्र्यवहारप्रति संस्थागत जवाफदेहिताको प्रश्न फेरि उठाएको छ। समितिको प्रतिवेदनले आरोपको गम्भीरता औँल्याए पनि गोमेजले त्यसका निष्कर्ष अस्वीकार गरेका छन्।
लोकप्रिय
ईभी दुर्घटनामा १४ जनाको मृत्युको भयावह खुलासा! ११ सिटको ईभीमा २० यात्रु, ४८ घण्टामा साढे ३३ घण्टा ड्राइभिङ

