नेपाली आमा भएकै कारण भारतीय जेन-जी नेता सौरभ दासलाई बेलायत उड्न रोकिएको आरोप, बालेनलाई महुआको चेतावनी !
काठमाडौँ- भारतका जेन–जी नेता सौरभ दासलाई बेलायतको अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत अक्सफोर्ड युनियनको कार्यक्रममा सहभागी हुन जानबाट रोकिएको घटनाले भारतमा राजनीतिक विवाद चर्किएको छ। पासपोर्टमा भिसा र हातमा हवाई टिकट हुँदाहुँदै पनि उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न नदिइएको हो।
सोमबार मध्यरातपछि १ बजे बेलायतका लागि उड्ने तयारीमा रहेका दास विमानस्थल पुगेपछि रोकिएका थिए। भारतीय सञ्चारमाध्यम द हिन्दुका अनुसार पासपोर्टमा केही त्रुटि रहेको कारण देखाउँदै उनलाई यात्रा गर्न अनुमति दिइएन। बेलायती सञ्चारमाध्यम बीबीसीले पनि दासलाई बेलायत जान रोकिएको समाचार प्रकाशित गरेको छ।
दासले सामाजिक सञ्जालमार्फत आफूलाई बेलायत जानबाट रोकिएको भन्दै सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन्। उनले आफूलाई रोक्नु प्राज्ञिक गतिविधिमाथि सरकारले गरेको हस्तक्षेप भएको आशय व्यक्त गरेका छन्।
बीबीसीका अनुसार दास अक्सफोर्ड युनियनको कार्यक्रममा सहभागी हुन बेलायत जान लागेका थिए। उनलाई किन रोकियो भन्नेबारे भारतको गृह मन्त्रालयसँग प्रतिक्रिया माग्दा मन्त्रालयले जवाफ नदिएको बीबीसीले जनाएको छ।
यो घटनाले थप राजनीतिक मोड तब लियो, जब भारतको विपक्षी दल तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्राले दासलाई रोक्नुको कारण उनको नेपाली पारिवारिक पृष्ठभूमि भएको आरोप लगाइन्। दासकी आमा नेपाली नागरिक सीमा क्षेत्री रहेको उल्लेख गर्दै उनले नेपाली आमा भएकै कारण भारतीय जेन–जी नेतालाई विदेश जान रोकिएको दाबी गरेकी हुन्।
मोइत्राले सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’लाई मेन्सन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सम्बन्धलाई लिएर मात्रै मख्ख नहुन आग्रह गरेकी छिन्। उनको टिप्पणीमा नेपालसँग देखाइएको राजनीतिक आत्मीयता र नेपाली मूलका व्यक्तिप्रति भारतले अपनाएको व्यवहारबीच विरोधाभास रहेको संकेत गरिएको छ।
मोइत्राको आरोपअनुसार एकातिर मोदी र बालेनबीचको आत्मीयता सार्वजनिक तस्बिर र भेटघाटमार्फत प्रदर्शन भइरहेको छ भने अर्कोतिर नेपाली आमा भएकै आधारमा भारतीय जेन–जी नेतामाथि विदेश यात्रामा रोक लगाइएको छ। यद्यपि दासलाई रोक्नुको आधिकारिक कारण नेपाली पारिवारिक पृष्ठभूमि नै हो भन्ने पुष्टि भएको छैन। भारतीय अधिकारीहरूले यसबारे सार्वजनिक रूपमा स्पष्ट जवाफ दिएका छैनन्।
दाससँगै बेलायत जाने तयारीमा रहेकी अर्की जेन–जी अभियन्ता रत्ना सिंहलाई पनि विमानस्थलबाट उड्न रोकिएको बताइएको छ। सिंहले स्वयं सामाजिक सञ्जालमार्फत आफ्नो यात्रा रोकिएको विषय सार्वजनिक गरेकी थिइन्। एउटै कार्यक्रममा सहभागी हुन जान लागेका दुई जेन–जी अभियन्ताको उडान रोकिएपछि घटनालाई सामान्य राहदानी त्रुटिको विषय मात्रै नभई राजनीतिक र प्रशासनिक हस्तक्षेपसँग जोडेर प्रश्न उठाइएको छ।
भारतमा यसअघि पनि नेपाली मूलका व्यक्तिको नागरिकता, मताधिकार र राजनीतिक अधिकारसँग सम्बन्धित विषय विवादमा आएका छन्। भारतीय निर्वाचनका क्रममा नेपालबाट विवाह गरेर भारत पुगेका महिलाको मतदान अधिकारबारे प्रश्न उठेको विषयले पनि बहस जन्माएको थियो। त्यतिबेला विभिन्न भारतीय विद्वान् तथा विपक्षी नेताहरूले आपत्ति जनाएका थिए।
यसपटक भने नेपाली आमा भएका जेन–जी नेता दासलाई बेलायतको शैक्षिक कार्यक्रममा सहभागी हुनबाट रोकिएको घटनाले भारतमा नेपाली मूलका नागरिकको पहिचान र अधिकारसम्बन्धी बहसलाई फेरि सतहमा ल्याएको छ।
संयोग के छ भने प्रधानमन्त्री बालेन्द्र साह आइतबार भारत भ्रमणमा गएका थिए। भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि दुवै पक्षले दुई नेताबीचको आत्मीयता झल्किने तस्बिर सार्वजनिक गरेका थिए। बालेन सोमबार नेपाल फर्किएका थिए।
नेपाल–भारत सम्बन्धमा उच्चस्तरीय राजनीतिक भेटघाट र कूटनीतिक आत्मीयता प्रदर्शन भइरहेका बेला भारतीय सांसदबाटै नेपाली मूलका व्यक्तिमाथि विभेद भएको आरोप लाग्नुले घटनालाई थप संवेदनशील बनाएको छ। तर, दास र सिंहलाई रोक्नुको वास्तविक कारण के हो भन्नेबारे भारतीय सरकारको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।
पासपोर्टमा त्रुटि रहेको भन्दै विमानस्थलबाट फर्काइएका दासको घटनामा उठेको मुख्य प्रश्न अब यही हो—यो सामान्य प्रशासनिक प्रक्रिया थियो कि उनको राजनीतिक गतिविधि र पारिवारिक पृष्ठभूमिसँग जोडिएको निर्णय ? भारत सरकारको आधिकारिक जवाफ नआएसम्म यो प्रश्न अनुत्तरित नै रहनेछ।
लोकप्रिय
लिपुलेकबारे मोदीसँग बालेनले कुरा नै उठाएनन्ः भारतीय विदेश सचिवको खुलासापछि दिल्ली भ्रमणमाथि प्रश्न !

