१० दिनपछि त्रिशूली–३ ‘ए’ को सुरुङबाट जीवित निकालिए सप्तरीका सञ्जय साहसहित २ जना

काठमाडौँ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको १० दिनपछि जीवितै उद्वार भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्वार टोलीले विदेशी उद्वारकर्मीको सहयोगमा शुक्रबार बिहान आयोजनाको सुरुङबाट सञ्जय साह र कबिर महर्जनलाई सकुशल बाहिर निकालेको हो।

उद्वार हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–४ का ३२ वर्षीय सञ्जय कुमार साह र काठमाडौंका कबिर महर्जन छन्। साह आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन् भने महर्जन मेकानिकल सुपरभाइजर हुन्। महर्जन नियमित मर्मतसम्भारका लागि काठमाडौंस्थित कुलेखानी जलविद्युत् आयोजनाबाट त्रिशूली–३ ‘ए’ पुगेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले उद्वारबारे जानकारी दिएका हुन्। उद्वारका क्रममा आफू साइटमै रहेको उल्लेख गर्दै उनले दुवै जनालाई सुरुङबाट बाहिर निकालिएको बताएका छन्।

उद्वार टोलीले पहुँच सुरुङको करिब आधा भागमा उनीहरूलाई फेला पारेको थियो। बाढीपछि बाहिर निस्कने क्रममा सुरुङभित्रै अड्किएका उनीहरूलाई उद्धार टोलीले खोजी गर्दै त्यहाँसम्म पुगेको हो। सुरुङभित्रबाट मानिसको आवाज सुनिएपछि उद्वार कार्यमा नयाँ आशा पलाएको थियो। न्यौपानेका अनुसार उद्वारमा खटिएका सुरक्षाकर्मीले भित्रबाट मानिस बोलेको आवाज सुनेका थिए। उद्वार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्वार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने जवाफ आएको थियो।

सुरुङभित्र एकभन्दा बढी व्यक्ति जीवित रहेको संकेत पाएपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्वारलाई तीव्र बनाएको थियो। त्यसक्रममा पहिले सञ्जय साहलाई बाहिर निकालिएको थियो। साहको उद्वारपछि सुरुङभित्र अर्का व्यक्ति पनि जीवित रहेको यकिन भएपछि टोलीले थप खोजी गरेर कबिर महर्जनलाई समेत सकुशल बाहिर निकालेको हो।

महर्जनलाई बाहिर निकाल्ने क्रममा उनले उद्वारमा खटिएका सुरक्षाकर्मीलाई हात जोडेर धन्यवाद दिएका थिए। दुवै जनालाई उद्वारपछि प्राथमिक उपचार तथा स्वास्थ्य परीक्षणका लागि पठाइएको गृह मन्त्रालयले जनाएको छ।

भोटेकोशी नदीमा १० भदौमा आएको बाढीपछि उनीहरू त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका थिए। बाढीका कारण आयोजनाको सुरुङमा उनीहरू थुनिएपछि नेपाली सेना र सशस्त्र प्रहरीसहितको उद्वार टोलीले लगातार खोजी तथा उद्वार प्रयास गरिरहेको थियो।

उद्वार टोलीसँग सुरुङभित्र रहेका व्यक्तिहरूसँग यसअघि नै संवाद भएको थियो। मानिसको आवाज सुनिएको जानकारी पाएपछि न्यौपानेले सामाजिक सञ्जालमार्फत सुरुङभित्र उद्धारको सम्भावना देखिएको बताएका थिए।

दुई जनाको जीवित उद्वारपछि सुरुङभित्र अझै अन्य व्यक्ति फसेका हुनसक्ने आशंकामा खोजी तथा उद्वार कार्यलाई निरन्तरता दिइएको छ। सुरुङभित्रको अवस्थाबारे थप विवरण खोजी कार्य अघि बढेपछि मात्रै स्पष्ट हुने उद्वारमा संलग्न अधिकारीहरूले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट