बाटो हिडिरहेकी युवतीको थाईमा हात लगाउने पुरुषको खोजी गर्दै प्रहरी, भिडियो भाइरल

काठमाडौँ— ठमेलको सडकमा हिँडिरहेकी युवतीलाई अपरिचित पुरुषले संवेदनशील अंगमा छोएको भनिएको सीसीटीभी फुटेज सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ। घटनामा संलग्न पुरुषविरुद्ध औपचारिक उजुरी नपरे पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा अनुसन्धान अघि बढाइएको हो।

काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार आफूलाई निशा भनेर परिचय गराएकी युवतीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै बाटोमा हिँडिरहेका बेला विपरीत दिशाबाट आएका एक पुरुषले अचानक आफ्नो तिघ्रामा छोएको आरोप लगाएकी छिन्। उनले घटनामा संलग्न व्यक्ति विदेशी हुनसक्ने आशंका गर्दै पहिचान गरी कारबाही गर्न प्रहरीसँग आग्रह गरेकी छिन्।

सार्वजनिक भिडियोमा लामो कपाल भएका एक पुरुषले युवतीसँग बाटो काट्ने क्रममा उनलाई छोएको देखिन्छ। युवतीले उक्त व्यक्ति आफूले प्रतिवाद गरेपछि पनि घटनालाई अस्वीकार गरेको र आफूले नै आँखा जुधाएर ‘इन्ट्रेस्ट’ देखाएको दाबी गरेको बताएकी छिन्।

उनका अनुसार घटनापछि आसपासका मानिसले समेत पुरुषलाई ‘किन यस्तो गरेको’ भन्दै प्रश्न गरेका थिए। तर, ती व्यक्तिले आफूले जानाजान नछोएको दाबी गर्दै घटनालाई अस्वीकार गरेका थिए। ‘म घर जाँदै थिएँ, यो मान्छेले एक्चुअली मलाई छोयो,’ युवतीले भिडियोमा भनेकी छिन्, ‘यसले मलाई यहाँ थाइमा यसरी छोएर गयो। अनि मैले कन्फ्रन्ट गरेँ।’

घटनाको प्रमाणका रूपमा आफूले होटलबाट सीसीटीभी फुटेज प्राप्त गरेको उनले बताएकी छिन्। फुटेज सार्वजनिक गर्दै उनले घटनामा संलग्न व्यक्तिलाई चिन्ने वा उनको सामाजिक सञ्जालको पहिचान थाहा हुनेलाई जानकारी दिन आग्रह गरेकी छिन्।

घटनापछि तत्काल प्रहरीमा उजुरी नगरेको विषयमा पनि उनले आफ्नो डरबारे बताएकी छिन्। त्यसबेला आफू वरिपरि मानिस भए पनि पछि एक्लै भेट्दा आरोपित व्यक्तिले थप क्षति पुर्‍याउन सक्ने भयका कारण तत्काल एक्सन लिन नसकेको उनको भनाइ छ।

‘अहिले त मसँग वरिपरि मान्छेहरू हुनुहुन्थ्यो, अब यो मान्छेले अरू बेला मलाई एक्लै भेट्यो भने के गर्ला भन्ने कुरा मेरो माइन्डमा आएको थियो,’ उनले भनेकी छिन्, ‘त्यही भएर मैले त्यतिबेला एक्सन लिइनँ।’

उनले घटनामा प्रहरीको ध्यानाकर्षण गराउन सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत आग्रह गरेकी छिन्। ‘यो प्रकारको घटनामा के सजाय हुन्छ वा के कानुनी कारबाही हुन्छ’ भन्ने आफूलाई थाहा नभएको बताउँदै उनले दोषीको पहिचान गरी कानुनी कारबाही हुनुपर्ने माग गरेकी छिन्।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी थापाका अनुसार प्रहरीले घटनालाई नोटिसमा लिएको छ। औपचारिक उजुरी नपरे पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको उनले बताए।

प्रहरीले भिडियोमा देखिएको व्यक्तिको पहिचान र घटनाको वास्तविक अवस्थाबारे अनुसन्धान गरिरहेको छ। अनुसन्धानबाट आरोप पुष्टि भएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ।

नेपालको मुलुकी अपराध संहिता, २०७४ ले महिलामाथि मञ्जुरीबिना खराब नियतले संवेदनशील अंगमा छुने वा समात्ने कार्यलाई यौन दुव्र्यवहारसम्बन्धी कसुरका रूपमा समेटेको छ। संहिताको दफा २२४ अन्तर्गत यस्तो कसुर प्रमाणित भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ।

घटनाको प्रकृतिअनुसार सार्वजनिक स्थानमा अभद्र व्यवहारसम्बन्धी दफा ११८ पनि अनुसन्धानको क्रममा आकर्षित हुनसक्ने कानुनी व्यवस्था छ। उक्त कसुरमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ।

कसुर प्रमाणित भएमा अदालतले पीडितलाई परेको मानसिक चोट तथा क्षतिका आधारमा उचित क्षतिपूर्ति भराउने व्यवस्था पनि कानुनमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट