१० दिन अँध्यारो सुरुङमा मन्त्र जपेर बसेका थिए सञ्जय

काठमाडौँ— बाहिरबाट हेर्दा त्यो एउटा उद्वारको कथा हो— भोटेकोशी बाढीले सुरुङभित्र थुनिएका दुई जनालाई १० दिनपछि जीवितै बाहिर निकालियो। तर, सुरुङबाट निस्किएपछि सप्तरीका सञ्जय साहले सुनाएको कथा उद्वारको त्यो क्षणभन्दा धेरै अघि सुरु हुन्छ। उनी आफूलाई बचाउन दौडिएका थिएनन्, पहिले अरूलाई बाहिर निकाल्न खोजिरहेका थिए। सबैलाई भाग्न लगाउँदा उनको आफ्नै पालो आयो, तर त्यतिबेलासम्म ढिलो भइसकेको थियो।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट शुक्रबार जीवितै उद्वार गरिएका तिलाठी कोईलाडी गाउँपालिका–४ का ३२ वर्षीय साहले नेपाली सेनाको स्वास्थ्य टोलीसँग कुरा गर्दै आफू सुरुङभित्र रहँदा ‘महामन्त्र जप गर्दै बसेको’ बताएका छन्। बाढीपछि सम्पर्कविहीन बनेको सुरुङमा १० दिन बिताएका उनले आफू कन्ट्रोल रुममा कार्यरत रहेको र त्यहाँ काम गर्ने भएकाले सबैको ज्यान जोगाउने जिम्मेवारी आफ्नो भएको बताए।

उनको भनाइमा त्यो दिन सुरुङमा सामान्य समयभन्दा धेरै मानिस थिए। नियमित रूपमा काम हुने समयमा कन्ट्रोल रुम आसपास चार, पाँच वा छ जना जति हुने गरे पनि दुर्घटनाको समयमा करिब ४० देखि ४५ जनासम्म मानिस त्यहाँ रहेको उनको अनुमान छ। ‘म कन्ट्रोल रुममा काम गर्थें । मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो,’ साहले भनेका छन्।

अचानक ठूलो दुर्घटना भएपछि आफू एक्लै भागेर सुरक्षित हुन खोज्नु जिम्मेवारीबाट भाग्नुजस्तै हुने उनको बुझाइ थियो। त्यसैले उनले अरूलाई पहिले बाहिर निस्कन लगाए। मानिसहरूलाई सुरक्षित स्थानतर्फ पठाउने क्रममा समय बित्यो। जब आफू निस्कने बेला आयो, परिस्थिति उनको नियन्त्रणबाहिर पुगिसकेको थियो।

‘त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन। सबैलाई बचाउनुप¥यो,’ उनले स्वास्थ्य टोलीसँग भनेका छन्, ‘सबैलाई भाग्न लगाएँ। त्यसो गर्दा मेरो समय गयो। अन्तिममा म निस्किनै पाइनँ।’ त्यसपछि सुरु भयो उनको सुरुङभित्रको लामो प्रतीक्षा।

बाहिर उद्वार टोली उनीहरूको खोजीमा जुटिरहँदा सुरुङभित्र सञ्जयले समय कसरी बिताए भन्ने प्रश्नको उत्तर उनको छोटो भनाइमा भेटिन्छ—मन्त्र जप गरेर। १० दिनसम्म बाहिरी संसारसँगको सम्पर्क टुटेको अवस्थामा उनले आफूलाई सम्भवतः मानसिक रूपमा सम्हाल्ने एउटा आधार त्यही मन्त्रलाई बनाए। बाहिर के भइरहेको छ, उद्वार टोली कहिले आइपुग्छ वा आफू सुरुङबाट निस्कन पाउँछु कि पाउँदिनँ भन्ने अनिश्चितताबीच उनी भित्रै बसेर प्रतीक्षा गरिरहे।

तर सञ्जयका लागि सुरुङको अँध्यारोमा आफ्नो मात्रै जीवन दाउमा थिएन। उनले उद्वार टोलीलाई आफू नजिकै अरू मानिस पनि रहेको बताएका छन्। स्वास्थ्य टोलीका अधिकारीहरूले ‘अझै भित्र कति जना अड्किएको महसुस भएको छ ?’ भनेर सोध्दा उनले आफूहरूसँग सम्पर्क भएर कुरा भएका मानिसको संख्या तीन–चार जना रहेको बताए। नजिकछेउमा हल्ला गर्दा वा आवाज आदानप्रदान गर्दा उनीहरूसँग कुराकानी भएको उनको भनाइ थियो।

‘अड्किएको हाम्रो सम्पर्कमा कुरा भएकोमा ३÷४ जना मात्र थिए,’ उनले भनेका छन्, ‘नजिक छेउछाउ कुरा गर्दा, हल्ला गर्दा।’ तर, सुरुङमा उनीहरूले अनुमान गरेभन्दा ठूलो क्षेत्र बाँकी थियो। त्रिशूली–३ ‘ए’ को सुरुङ लामो भएकाले आफूले थाहा पाएभन्दा बाहिर पनि मानिसहरू फसेको हुनसक्ने उनले संकेत गरे।

स्वास्थ्य टोलीले सुरुङभित्रको पावर हाउसतर्फ पनि मानिसहरू हुनसक्ने सम्भावनाबारे सोधेको थियो। त्यसमा साहले त्यसलाई अस्वीकार गरेनन्। ‘हुन सक्छ । सबै भाग्न नसकेका होलान्,’ उनले भनेका छन्।

उनले पानीको बहावको सम्भावित प्रभावबारे पनि अनुमान सुनाए। लामो सुरुङ भएकाले बाढीको पानीको तीव्र बहावले मानिसहरूलाई सुरुङभित्रतर्फ लैजान सक्ने उनको बुझाइ थियो। ‘टनेल लामो छ। टनेलमा भए पनि पानी फोर्सले भित्र लगिसकेको होला,’ उनले भनेका छन्, ‘टनेल एकदम लामो छ।’

यसबीच, साहसँगको कुराकानीमा उद्वार टोलीले उनलाई अब आराम गर्न आग्रह गरेको थियो। स्वास्थ्यकर्मीहरूले उनी जीवितै बाहिर आएकोमा बधाई दिँदै परिवारका सदस्यसँग कुराकानी गरिसकेको र अब आराम गर्नुपर्ने बताएका थिए। साहले त्यसमा छोटो प्रतिक्रिया दिए—‘ए… ए..’

उनको त्यो छोटो जवाफभित्र १० दिनको प्रतीक्षा, अनिश्चितता र उद्वारपछि बाहिरी संसारमा फर्किएको क्षणको थकान मिसिएको देखिन्छ। साहसँगै त्रिशूली–३ ‘ए’ को सुरुङबाट मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई पनि जीवितै उद्वार गरिएको छ। महर्जन नियमित मर्मतसम्भारका लागि कुलेखानी जलविद्युत् आयोजनाबाट त्रिशूली–३ ‘ए’ पुगेका थिए। साह मेकानिकल फोरम्यानका रूपमा कार्यरत नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन्।

भोटेकोशीमा १० भदौमा आएको बाढीपछि उनीहरू सुरुङभित्र फसेका थिए। उद्वारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएपछि उद्वार टोलीले उनीहरू जीवित रहेको संकेत पाएको थियो। सुरक्षाकर्मीले ‘नआत्तिनुहोस्, हामी उद्वार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने जवाफ आएको थियो।

त्यही आवाजले उद्वार अभियानमा नयाँ सम्भावना जन्मायो। नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले विदेशी उद्वारकर्मीको सहयोगमा सुरुङभित्र खोजी अघि बढायो। अन्ततः १० दिनपछि साह र महर्जनलाई जीवितै बाहिर निकालियो। उद्वारपछि दुवै जनालाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि पठाइएको छ।

तर, साहको उद्वारसँगै कथा सकिएको छैन। बरु उनको बयानले सुरुङभित्र अझै कोही हुनसक्ने आशंका थप गम्भीर बनाएको छ। उनले आफूसँग नजिकै तीन–चार जनासँग सम्पर्क भएको र सुरुङको लामो दूरी तथा पावर हाउस क्षेत्रमा समेत मानिसहरू हुनसक्ने सम्भावना औँल्याएका छन्।

त्यसैले दुई जनाको जीवित उद्वारले राहतसँगै बाँकी खोजीको दबाब पनि बढाएको छ। १० दिनसम्म सुरुङको अँध्यारोमा बसेर अरूको जीवन जोगाउने प्रयास गरेका सञ्जयका लागि भने त्यो १० दिन केवल बाँच्ने प्रतीक्षा थिएन—अरू कोही पनि बाँचेका हुन सक्छन् भन्ने आशा जोगाइराख्ने समय पनि थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट