भोटेकोशी बाढीको १० दिनपछि पनि करिब ६ सय विद्यार्थी सम्पर्कविहीन, अभिभावकको अत्तोपत्तो नहुँदा तथ्यांकमै अन्योल
काठमाडौँ— १० भदौको भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका करिब ६ सय विद्यार्थी अझै सम्पर्कविहीन रहेको अनुमान गरिएको छ। विद्यालय, स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाईले संकलन गरिरहेको प्रारम्भिक विवरणअनुसार रसुवामा २८० र नुवाकोटमा ३०० देखि ३५० विद्यार्थी सम्पर्कमा नरहेको देखिएको हो।
तर कतिपय विद्यार्थी फेला परिसकेका र कतिपय विद्यालयबाट सम्पर्कविहीनको संख्या थपिँदै गएकाले वास्तविक संख्या अझै यकिन हुन सकेको छैन। विद्यार्थी मात्र होइन, रसुवा र नुवाकोटका २२ जना शिक्षक तथा विद्यालय कर्मचारीसमेत बाढीपछि सम्पर्कविहीन छन्। रसुवामा १६ र नुवाकोटमा ६ शिक्षक सम्पर्कविहीन रहेको सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ।
सम्पर्कविहीन विद्यार्थी र शिक्षकका शव विभिन्न जिल्लामा फेला परेको भए पनि कति जनाको अवस्था त्यस्तो भएको हो भन्ने यकिन तथ्यांक भने तयार भइसकेको छैन। नुवाकोटको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सूर्यबहादुर खत्रीका अनुसार विद्यालयका प्रधानाध्यापकमार्फत विद्यार्थीको विवरण संकलन भइरहेको छ। तर बाढीमा अभिभावकसमेत हराएका कारण विद्यालयले विद्यार्थीको अवस्थासमेत तत्काल पुष्टि गर्न सकेका छैनन्।
‘प्रधानाध्यापकहरूसँग सम्पर्क गरेर हराएका विद्यार्थीको तथ्यांक मागिरहेका छौं। प्रअहरूले पनि यकिन तथ्याङ्क दिन सक्नुभएको छैन,’ खत्रीले भने, ‘सम्पर्कविहीन भनिएका विद्यार्थी भेटिएका पनि छन्। कतिपय विद्यालयबाट सम्पर्कविहीन हुनेको संख्या थप पनि हुँदै गएको छ।’ खत्रीले नुवाकोटबाट मात्रै कम्तीमा ३०० देखि ३५० विद्यार्थी सम्पर्कविहीन हुनसक्ने प्रारम्भिक अनुमान रहेको बताए।
रसुवा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दुर्गाप्रसाद सिलवालले जिल्लामा २८० विद्यार्थी सम्पर्कविहीन रहेको जानकारी दिएका छन्। उनले यो संख्या आधिकारिक रूपमा पुष्टि भइनसकेको बताए। दुवै जिल्लाका शिक्षा निकायले विद्यार्थीको नामावलीसहितको विवरण तयार पार्ने काम गरिरहेका छन्।
नुवाकोटको विदुर नगरपालिकामा मात्रै २५० विद्यार्थी सम्पर्कविहीन रहेको नगर शिक्षा शाखाका विद्यालय निरीक्षक नवराज सापकोटाले बताए। विदुरमा १४२ सामुदायिक र २८ निजी गरी १७० विद्यालय छन्। बाढीपछिको अवस्थाले विद्यार्थी र अभिभावकबीचको सम्पर्कसमेत असामान्य रूपमा प्रभावित भएको सापकोटाको भनाइ छ।
‘कतै अभिभावक भेटिएका छन्, विद्यार्थी भेटिएका छैनन्,’ उनले भने, ‘कतै विद्यार्थी भेटिन्छन्, उनीहरूका अभिभावक फेला नपरेको अवस्था छ।’ यसको प्रत्यक्ष उदाहरण विदुर नगरपालिका–१० स्थित उत्तरगया पब्लिक स्कुल बनेको छ। बाढीले विद्यालय परिसर नै बगरमा परिणत भएपछि विद्यालयका सञ्चालक तथा प्रधानाध्यापक सोमलाल लावतले आफ्ना विद्यार्थीको वास्तविक अवस्था पत्ता लगाउन नसकेको बताएका छन्।
उनका अनुसार विद्यालयमा ३६२ विद्यार्थी अध्ययनरत थिए। विद्यालयका दुईवटा गाडीसमेत अहिलेसम्म फेला परेका छैनन्। तीमध्ये एउटा गाडीबाट ३० जना विद्यार्थीलाई बाहिर निकाल्न सफल भए पनि अर्को गाडी तथा अन्य विद्यार्थीको अवस्थाबारे यकिन हुन नसकेको उनले बताए।
‘स्कुलको केही पनि बाँकी छैन। बगर भएको छ। ढुंगे युगमा फर्के जस्तो भएको छ,’ लावतले भने, ‘स्कुलका दुई वटा गाडी भेटिएका छैनन्। एउटा गाडीबाट ३० जना विद्यार्थी निकाल्न सफल भयौं। अरू कति विद्यार्थी बाँचे थाहा छैन।’ अभिभावकसँगसमेत सम्पर्क हुन नसकेका कारण विद्यालयले बाढीमा परेका विद्यार्थीको संख्या छुट्याउन नसकेको उनले बताए।
रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित निलकण्ठ माध्यमिक विद्यालयमा ४९६ विद्यार्थी अध्ययनरत थिए। विद्यालयले २०० विद्यार्थी र चार शिक्षक सम्पर्कमा नरहेको जनाएको छ। प्रधानाध्यापक माधव लामिछानेका अनुसार २०० भन्दा बढी विद्यार्थी हराएको अनुमान भए पनि उनीहरूको नामावलीसहितको प्रमाणित विवरण तयार पार्न सकिएको छैन।
बाढी आउँदा विद्यालय नियमित रूपमा सञ्चालन भइसकेको थिएन। केही विद्यार्थी बाटोमा, केही विद्यालय बसको प्रतीक्षामा र केही घरमै रहेको अवस्थामा बाढी आएको थियो। ‘बाढीको बेला विद्यालय लागिसकेको थिएन। केही बच्चा बाटोमा थिए। केही स्कुल बस कुरेर बसेका थिए। केही घरमै थिए। धेरै विद्यार्थी सम्पर्कमा छैनन्,’ लामिछानेले भने।
उनका अनुसार विद्यालय पुगेका विद्यार्थीलाई सुरक्षित स्थानतर्फ पठाइएको थियो। विद्यालय भवनमा बाढी नपुगेकाले भवन सुरक्षित रहे पनि विद्यार्थी र अभिभावकको अवस्थाबारे अन्योल कायमै छ। ‘स्कुल पुगेका विद्यार्थीलाई माथितिर भगाएका थियौं। विद्यालयसम्म बाढी पुगेको छैन। भवन सुरक्षित नै छ तर धेरै विद्यार्थी सम्पर्कमा छैनन्,’ उनले भने।
लामिछानेका अनुसार विद्यालयका माध्यमिक तहका दुई शिक्षक, विद्यालय नर्स र इसीडी शिक्षक गरी चार जना पनि बाढीपछि सम्पर्कविहीन छन्। बाढीको प्रभाव विद्यार्थीमा मात्रै सीमित छैन। रसुवा र नुवाकोटका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी पनि यसको चपेटामा परेका छन्। रसुवा इकाईले सामुदायिक विद्यालयका १५ र निजी विद्यालयका एक गरी १६ शिक्षक सम्पर्कविहीन रहेको जनाएको छ। नुवाकोटमा सामुदायिक विद्यालयका चार र निजी विद्यालयका दुई गरी ६ शिक्षक सम्पर्कविहीन छन्।
यसैगरी धादिङ र गोरखाबाट गोसाईकुण्ड दर्शनका लागि गएका शिक्षकहरू पनि बाढीमा परेर सम्पर्कविहीन भएका थिए। बाढीपछि विद्यालय सञ्चालनसमेत सामान्य अवस्थामा फर्कन सकेको छैन। नुवाकोटको विदुर नगरपालिका र रसुवाका चार स्थानीय तहका विद्यालय लगातार नौ दिनदेखि पूर्ण रूपमा बन्द छन्।
रसुवामा नौकुण्ड गाउँपालिकाबाहेक अन्य स्थानीय तहका विद्यालय बन्द रहेको इकाई प्रमुख सिलवालले बताए। नौकुण्डका २९ सामुदायिक विद्यालय भने सञ्चालनमा छन्। बन्द रहेका विद्यालय गोसाईकुण्ड, उत्तरगया, कालिका र आमाछोदिङ्मो गाउँपालिकाका हुन्।
गोसाईकुण्ड, उत्तरगया र विदुरका विद्यार्थी बाढीमा परेर सम्पर्कविहीन भएका छन्। कालिका र आमाछोदिङ्मोका विद्यालय, शिक्षक तथा विद्यार्थीमा बाढीले प्रत्यक्ष क्षति नगरे पनि अभिभावकहरू सम्पर्कविहीन भएपछि विद्यालय खोल्न नसकिएको स्थानीय तहहरूले जनाएका छन्। आमाछोदिङ्मो गाउँपालिकाबाट मात्रै ५८ जना अभिभावक बाढीपछि सम्पर्कविहीन रहेको विवरण आएको छ।
बाढीले धादिङसहित तीन जिल्लाका २२ विद्यालय क्षति तथा प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ। तीमध्ये १२ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको विवरण छ। रसुवा इकाई प्रमुख सिलवालका अनुसार गोसाईकुण्ड र उत्तरगयाका चार विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। तीमध्ये तीन सामुदायिक र एक निजी विद्यालय छन्। ‘तीन सामुदायिक र एक निजी विद्यालय पूर्ण रूपमा क्षति भएको छ। विद्यालय क्षेत्र बगर बनेको छ। भवन पनि छैन,’ सिलवालले भने।
रसुवामा अहिले ९० सामुदायिक र सात निजी गरी ९७ विद्यालय सञ्चालनमा रहेको तथ्यांक छ। पूर्ण रूपमा क्षति भएका विद्यालय तत्कालै सञ्चालन गर्न सकिने अवस्थामा नरहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। विद्यालय सञ्चालन गर्नुअघि प्रभावित बालबालिकाको अवस्था पहिचान र उनीहरूको मनोसामाजिक अवस्थालाई समेत सम्बोधन गर्नुपर्ने अवस्था रहेको सिलवालले बताए।
‘कालिका गाउँपालिकाबाट पनि अभिभावक सम्पर्कविहीन भएको विवरण आएको छ। सबै पालिकाबाट अभिभावकविहीन बालबालिकाको विवरण संकलन हुँदैछ,’ उनले भने, ‘मनोपरामर्शको व्यवस्था नगरी कक्षा चलाउन सक्ने अवस्था छैन। केन्द्रबाट पनि टोली आउँदैछ। शैक्षिक गतिविधि कसरी सञ्चालन गर्ने योजना बनाउँछौं।’
शिक्षा मन्त्रालयले बाढी प्रभावित धादिङ, नुवाकोट र रसुवामा क्षतिको विस्तृत मूल्यांकनका लागि टोली परिचालन गरेको छ। शिक्षा विभागका निर्देशक निमप्रकाश राठौरलाई धादिङ, जीवन भण्डारीलाई नुवाकोट र श्यामप्रसाद आचार्यलाई रसुवा पठाइएको छ। टोलीमा प्राविधिक जनशक्ति पनि सहभागी छन्।
मन्त्रालयका अनुसार ती टोलीले सात दिनभित्र विद्यालय तथा शैक्षिक क्षेत्रमा भएको क्षतिको विवरण पेस गर्नेछन्। त्यसैका आधारमा प्रभावित क्षेत्रमा शैक्षिक गतिविधि कसरी पुनः सञ्चालन गर्ने भन्ने योजना बनाइनेछ।
भोटेकोशी बाढीले विद्यालयका भवन, सवारीसाधन र शैक्षिक संरचना क्षति पु¥याउनुका साथै विद्यार्थी, शिक्षक र अभिभावककै सम्पर्क टुटाइदिएको छ। त्यसैले अहिले शिक्षा निकायसामु विद्यालय खोल्नेभन्दा पहिले कति विद्यार्थी जीवित छन्, कति सम्पर्कमा छैनन् र उनीहरूका अभिभावकको अवस्था के छ भन्ने यकिन गर्ने चुनौती खडा भएको छ। प्रारम्भिक रूपमा देखिएको करिब ६ सय विद्यार्थी सम्पर्कविहीनको तथ्यांक पनि यही कारण अझै अन्तिम बन्न सकेको छैन।


