सप्तरीमा आफुभन्दा जेठी महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय युवक पक्राउ
राजविराज– सप्तरीको सप्तकोशी नगरपालिका–९ का ३२ वर्षीय एक युवक बलात्कार आरोपमा पक्राउ परेका छन्। ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय दिलिपकुमार यादवलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार घटना तीन महिनाअघि भएको हो। त्यस यता फरार रहेका यादवलाई कञ्चनरूप नगरपालिका–८ बेरियरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार गत जेठ २५ गते सप्तकोशी नगरपालिका–१० स्थित पीडित महिलाकै घरमा पुगेर यादवले बलात्कार गरेको जाहेरी परेको थियो। महिलाले ‘आफुलाई विभिन्न प्रलोभन देखाएर बलात्कार गरेको’ जाहेरीमा उल्लेख गरेकी छिन्।
जाहेरीपछि फरार यादवको खोजी गर्ने क्रममा भदौ १५ गते कञ्चनरूप नगरपालिका–८ बेरियर क्षेत्रमा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका यादवविरुद्ध पीडितको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरले मुद्दा दर्ता गरेको छ।
अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट भदौ १५ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर विजय कार्कीले जानकारी दिए।


