विराटनगर कारागारमा कैदीबन्दीबीच कुटाकुट, चौकीदारसहित १८ जना बाहिर निकालिए
विराटनगर — जिल्ला कारागार मोरङको ‘बी ब्लक’मा कैदीबन्दीबीच लामो समयदेखि चल्दै आएको विवाद शुक्रबार कुटाकुटमा परिणत भएको छ। घट्नापछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ।
कारागार प्रशासनका अनुसार विवादमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङ लगिएको छ भने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ। विराटनगर महानगरपालिका–८ हाटखोलास्थित कारागारमा शुक्रबार अपराह्न दुई पक्षबीच विवाद चर्किएपछि कुटाकुट भएको थियो। स्थिति नियन्त्रणमा लिन कारागार प्रशासन र सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए।
कारागार प्रशासक राजन घिमिरेका अनुसार घटनापछि बाहिर निकालिएका १८ जनालाई तत्काल पुनः त्यही कारागारमा राख्ने अवस्था नरहेको देखिएपछि उनीहरूको स्थानान्तरणको तयारी गरिएको हो। उनीहरूलाई कुन कारागारमा पठाउने भन्ने निर्णय भने भइसकेको छैन।
कारागार स्रोतका अनुसार ‘बी ब्लक’का कैदीबन्दीको गतिविधिलाई लिएर केही समयदेखि असन्तुष्टि र विवाद हुँदै आएको थियो। कारागारभित्र अराजक गतिविधि गरेको आरोप लागेका केही कैदीबन्दीलाई अन्यत्र सार्ने तयारी भएपछि उनीहरूले ‘बी ब्लक’ नियन्त्रणमा लिएको स्रोतको दाबी छ।
ब्लकभित्रबाटै ताला लगाएपछि केही समय कारागार प्रशासनले त्यहाँ प्रत्यक्ष हस्तक्षेप गर्न नसकेको बताइएको छ। यही अवस्थालाई लिएर कारागारभित्र दुई पक्षबीच तनाव बढ्दै गएको र शुक्रबार हात हालाहालको अवस्था आएको प्रशासक घिमिरेले बताए।
कारागार स्रोतका अनुसार ‘बी ब्लक’ नियन्त्रणमा लिएर बसेका कैदीबन्दीमाथि अन्य कैदीबन्दीले कुटपिट गरेका थिए। त्यसपछि सुरक्षाकर्मी कारागारभित्र प्रवेश गरी स्थिति नियन्त्रणमा लिएका थिए। कुटपिटमा संलग्न भनिएका तथा ब्लक विवादसँग जोडिएका १८ जनालाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय लगिएको हो।
बाहिर निकालिएकामध्ये अधिकांश आपराधिक पृष्ठभूमिका अभिषेक गिरीका समर्थक रहेको कारागार स्रोतको दाबी छ। स्रोतका अनुसार गिरीको निर्देशनमा चौकीदार विशाल निरौलासहित केही कैदीबन्दीले ‘बी ब्लक’ नियन्त्रणमा लिएका थिए।
कैदीबन्दीले पाउने सरकारी भत्ताको रकम आफैंले लिएको आरोपमा गिरीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। सोही आरोपमा पक्राउ परेका गिरी अदालतको आदेशपछि रिहा भइसकेका छन्। प्रहरीले उनीमाथिको अनुसन्धान भने जारी रहेको जनाएको छ।
गिरी पक्षका कैदीबन्दीमाथि ‘बी ब्लक’ नियन्त्रणमा लिएर अन्य कैदीबन्दीलाई धम्क्याउने, यातना दिने र रकम असुल्ने गरेको आरोपसमेत रहेको कारागार स्रोतले जनाएको छ। यही विषयलाई लिएर असन्तुष्ट कैदीबन्दीले गिरी पक्षका कैदीबन्दीमाथि कुटपिट गरेको स्रोतको भनाइ छ। यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
घटनामा कुनै पनि कैदीबन्दीलाई चोटपटक नलागेको कारागार प्रशासक घिमिरेले बताए। तर, विवादमा संलग्नहरूलाई पुनः सोही कारागारमा राख्दा थप सुरक्षा चुनौती आउन सक्ने भएकाले अन्यत्र स्थानान्तरण गर्न लागिएको उनले बताए।
घटनापछि कारागारको सुरक्षा व्यवस्था कडा पारिएको छ। विवादको वास्तविक कारण, ‘बी ब्लक’ नियन्त्रणमा लिने प्रयास र शुक्रबार भएको कुटपिटमा संलग्न व्यक्तिहरूको भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


