भोटेकोशी वाढीः दस दिनको प्रतीक्षापछि कुशलाई छोरा मानेर बेलबारीका अनोजको अन्तिम संस्कार
विराटनगर— भोटेकोशी बाढीमा बेपत्ता भएको दस दिनसम्म २३ वर्षीय अनोज धमलाको शव नभेटिएपछि बेलबारी–९ नलबारीस्थित परिवारले शुक्रबार उनको कुशको प्रतीक बनाएर लक्ष्मीमार्गको स्थानीय घाटमा अन्तिम संस्कार गरेको छ। बाढीमा परेर बेपत्ता भएका अनोज सकुशल फर्किने आशा बोकेर बसेका आमाबुबाले अन्ततः भौतिक शरीरबिनै छोराको मृत्यु संस्कार गर्नुपरेको हो।
अनोजका बुबा राजेन्द्रप्रसाद धमला नलबारी चोकमा पसल सञ्चालन गरेर परिवारको गुजारा चलाउँछन्। उनकी आमा नैनाकला कट्टेल धमला क्यान्सर रोगसँग लडिरहेकी छिन्। परिवारको दैनिकीमा अनोज र उनका दाजु अनिस महत्वपूर्ण सहारा थिए। अनिस स्थानीय माउन्ट एभरेष्ट बोर्डिङ स्कुलमा अध्यापन गर्छन्।
भोटेकोशी बाढीले अनोजसँगै उनको परिवारको भविष्यको एउटा आशा पनि खोसेको छ। उनी कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेर रोजगारीका लागि कोरिया जाने तयारीमा थिए। इटहरीमा बसेर मेहनतका साथ पढेका उनले भाषा परीक्षा त पास गरे, तर कोरियाले मागेको संख्याभन्दा उत्तीर्ण हुने परीक्षार्थी धेरै भएपछि उनको विदेश जाने योजना तत्काल अघि बढ्न सकेन।
कोरिया जाने अवसर रोकिएपछि अनोज आफ्नै मामा सोमनाथ कट्टेलको ‘सम्राट टुर एण्ड ट्राभल्स’मा काम गर्न थाले। पर्यटकलाई विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यमा घुमाउने क्रममा उनी यसपटक मानसरोवर यात्रामा निस्किएका थिए। तर मानसरोवरतर्फको यात्राकै क्रममा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले उनको जीवनको यात्रा टुंग्याइदियो।
अनोजका सानोबुबा राजन घिमिरेका अनुसार पर्यटकलाई मानसरोवर घुमाउन लैजाने क्रममा अप्रत्याशित रूपमा बाढी आयो। ‘पर्यटकलाई मानसरोवर घुमाउन लैजाने क्रममा अप्रत्याशित घटना घट्न पुग्यो,’ घिमिरेले भने, ‘हामीले साह्रै इमानदार र क्षमतावान् छोरो गुमाउनुप¥यो, यसले सिङ्गो परिवार र आफन्तलाई कहिल्यै नमेटिने गहिरो चोट पु¥याएको छ।’
अनोजसँगै उनका मामा सोमनाथ कट्टेल पनि बाढीमा बेपत्ता भएका थिए। कट्टेल सराटनगर–७ निवासी हुन्। उनको शव पनि फेला नपरेपछि परिवारले बुधबार नै कुशको प्रतीक बनाएर दाहसंस्कार गरिसकेको छ। त्यसको दुई दिनपछि भान्जा अनोजको पनि शुक्रबार कुशको शव बनाएर लक्ष्मीमार्गस्थित स्थानीय घाटमा अन्तिम संस्कार गरिएको हो।
परिवारका लागि सबैभन्दा कठिन समय भने बाढी आएको दिनदेखि नै सुरु भएको थियो। अनोज बेपत्ता भएको खबर पाएलगत्तै उनका दाजु अनिसले आमाबुबालाई तत्काल वास्तविकता बताउन सकेनन्। क्यान्सर पीडित आमा र वृद्ध बुबाले एकैपटक छोराको बेपत्ताको खबर सुन्दा सहन नसक्ने अवस्था आउन सक्ने भएकाले उनले सत्य लुकाए।
एक सातासम्म उनले आमाबुबालाई भाइ सकुशल रहेको भन्दै ढाडस दिइरहे। ‘मानसरोवर जाने क्रममा बाढी आएकाले भाइ पर्यटकसँगै चीनतर्फ प्रवेश गरिसकेको छ, उसलाई केही भएको छैन, नेटवर्क नभएर सम्पर्क मात्र नभएको हो,’ अनिसले आमाबुबालाई भन्दै आएका थिए।
तर दिन बित्दै गए। अनोजको फोन आएन। कुनै विश्वसनीय खबर पनि आएन। परिवारले राखेको आशा विस्तारै शंकामा बदलिन थाल्यो। अन्ततः भाइ फर्किने सम्भावनाको प्रतीक्षा र खोजीको कुनै ठोस परिणाम नआएपछि अनिसले आँसु थाम्न नसकी आमाबुबालाई भाइ बाढीमा बेपत्ता भएको वास्तविकता सुनाउनुप¥यो।
दस दिनसम्म घरको ढोकातिर आँखा लगाएका आमाबुबाले अन्ततः छोराको भौतिक शरीरसमेत नदेखी मृत्यु संस्कार गर्न बाध्य भए। स्थानीय शिवशङ्कर श्रेष्ठका अनुसार अनोज मेधावी र भविष्यबारे स्पष्ट सोच भएका युवा थिए। कोरियाली भाषा परीक्षा उत्तीर्ण गर्न उनले इटहरीमा बसेर कडा मेहनत गरेका थिए। परीक्षा उत्तीर्ण भए पनि कोरियाले मागेको जनशक्तिको कोटाभन्दा सफल हुने परीक्षार्थीको संख्या बढी भएपछि उनको कोरिया जाने सपना रोकिएको थियो।
त्यसपछि उनले परिवारसँगै रहेर काम गर्ने बाटो रोजेका थिए। मामाको ट्राभल्स कम्पनीमा काम थालेपछि पर्यटकसँगै धार्मिक तथा पर्यटकीय गन्तव्यमा जाने अवसर पाए। यही क्रममा मानसरोवर यात्रामा निस्किएका उनी बाढीको विपत्तिमा परे।
परिवारले अन्तिम संस्कार गर्दा पनि अनोजको शव फेला परेको छैन। खोजीकार्य जारी रहेको भए पनि लामो समयसम्म कुनै अत्तोपत्तो नलागेपछि हिन्दू धार्मिक परम्पराअनुसार कुशको प्रतीक बनाएर मृत्यु संस्कार गरिएको परिवारले जनाएको छ।
एउटा परिवारका लागि दस दिन केवल समयको अन्तराल थिएन—हरेक दिन फर्किने आशा र नराम्रो खबरको डरबीच बितेको समय थियो। अन्ततः त्यो प्रतीक्षाको अन्त्य शव भेटिएर होइन, कुशलाई नै छोराको प्रतीक मानेर अन्तिम बिदाइ गर्नुपर्ने बाध्यतामा भएको छ।
अनोजका बुबाआमा अब छोराको शव कुरिरहेका छैनन्। तर बाढीले बगाएको छोराको सम्झना, उनले देखेको भविष्य र परिवारमा छाडेको खाली ठाउँ भने उनीहरूसँगै रहनेछ।


