सरकारी स्कर्पियोमा क्यासिनो पुगेका सखुवाप्रसौनी अध्यक्ष यादवसहित ८ जना प्रहरी नियन्त्रणमा

वीरगंज– पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर क्यासिनो परिसरमा भेटिएपछि प्रहरी नियन्त्रणमा परेका छन्। शनिबार राति जिल्ला प्रहरी कार्यालय पर्साले चलाएको विशेष अभियानका क्रममा वीरगंजको गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट अध्यक्ष यादवसहित ८ जनालाई नियन्त्रणमा लिइएको हो।

क्यासिनो परिसरबाट गाउँपालिकाको ना१झ १६८७ नम्बरको सरकारी स्कर्पियोसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। जनप्रतिनिधिले गाउँपालिकाको सरकारी सवारीसाधन प्रयोग गरेर क्यासिनो परिसरमा पुगेको पाइएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। अध्यक्ष यादवसहित नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आइतबार सार्वजनिक गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले अध्यक्ष यादवसहित केही व्यक्तिलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै उनीहरूलाई आइतबार सार्वजनिक गरिने जानकारी दिए। पर्साका क्यासिनोमा नेपाली ग्राहक जाने गरेको सूचना यसअघि पनि प्रहरीकहाँ आउने गरेको थियो। तर प्रहरी टोली पुग्दा ग्राहकहरू भागिसक्ने र क्यासिनो परिसरबाट ठोस उपलब्धिबिनै फर्किनुपर्ने अवस्था आउने गरेको प्रहरी स्रोतको भनाइ छ।

पछिल्लो समय क्यासिनोमा नेपाली प्रवेशको विषयमा प्रहरीले निगरानी बढाउँदै आएको छ। राजनीतिक पहुँच भएका व्यक्ति, व्यापारी तथा विभिन्न पालिकाका राजनीतिक घरानासँग जोडिएका व्यक्तिहरूले भारतीय रासन कार्ड देखाएर क्यासिनोमा प्रवेश गर्ने गरेको सूचना प्रहरीसम्म पुगेको बताइएको छ।

हेटौँडा, कलैया तथा पर्साका विभिन्न क्षेत्रका राजनीतिक र व्यापारिक व्यक्तिहरू क्यासिनो जाने गरेको चर्चा यसअघि पनि हुँदै आएको थियो। क्यासिनोमा नियमित जुवातासका कारण कतिपय व्यक्तिको घरपरिवार नै समस्यामा परेको घटनापछि निगरानी बढाइएको प्रहरीको भनाइ छ।

यसपटक भने प्रहरीको विशेष अभियानमा स्थानीय तहका प्रमुख नै क्यासिनो परिसरमा भेटिएका हुन्। त्यसमा पनि गाउँपालिकाको सरकारी स्कर्पियो क्यासिनो परिसरबाटै नियन्त्रणमा परेपछि सरकारी स्रोतसाधनको प्रयोगसम्बन्धी प्रश्नसमेत जोडिएको छ।

प्रहरीले अध्यक्ष यादव कुन प्रयोजनका लागि सरकारी सवारीसाधनसहित क्यासिनो पुगेका थिए र नियन्त्रणमा लिइएका अन्य व्यक्तिहरूको घटनासँगको सम्बन्ध के हो भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

हालसम्म प्रहरीले अध्यक्ष यादव वा नियन्त्रणमा लिइएका अन्य व्यक्तिमाथि कुन कानुनी कसुरमा कारबाही अघि बढाउने भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन। उनीहरूलाई आइतबार सार्वजनिक गरेपछि प्रहरीले घटनाको थप विवरण दिने जनाएको छ।

क्यासिनोमा नेपाली ग्राहक प्रवेश गर्ने विषयमा लामो समयदेखि प्रश्न उठ्दै आए पनि प्रहरीको कारबाही प्रभावकारी हुन नसकेको आरोप लाग्दै आएको थियो। यसपटक सरकारी गाडीसमेत क्यासिनो परिसरबाट नियन्त्रणमा परेपछि प्रहरीको विशेष अभियानले पर्सामा नयाँ बहस जन्माएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट