भोटेकोशी बाढीपछि जातीय अपमान र विपत्तिमा खुसी मनाएको भिडियो पोस्ट गरेको आरोपमा युवक पक्राउ
काठमाडौँ– भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभिन्न जातजातिलाई लक्षित गर्दै अपमानजनक अभिव्यक्ति र विपत्तिमा खुसी व्यक्त गरेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा साइबर ब्युरोले एक युवकलाई पक्राउ गरेको छ।
बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय बिरेन्द्र मडैलाई ब्युरोको टोलीले शनिबार पक्राउ गरेको हो। साइबर ब्युरोका अनुसार मडैले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई विषय बनाएर विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने तथा अपमान गर्ने सामग्रीसहितको भिडिओ तयार पारेका थिए।
उक्त भिडिओ फेसबुकमा पोस्ट गरिएको र त्यसले सामाजिक सद्भाव तथा सहिष्णुतामा आघात पु¥याएको भन्दै ब्युरोले अनुसन्धान अघि बढाएको थियो। प्राविधिक विश्लेषणका क्रममा सामाजिक सञ्जालमा पोस्ट गरिएको उक्त सामग्री र त्यसमा संलग्न व्यक्तिबारे अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ।
अनुसन्धानकै क्रममा मडैको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको हो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पक्राउ परेका मडैमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको गिरीले जानकारी दिए।
प्रहरीका अनुसार बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिलाई लिएर सामाजिक सञ्जालमा फैलाइएका सामग्रीको समेत निगरानी भइरहेको छ। विपत्तिका विषयमा जातीय, सामुदायिक वा अन्य समूहलाई लक्षित गरी घृणा, अपमान वा सामाजिक तनाव बढाउने किसिमका सामग्री प्रसारण तथा प्रचारप्रसार गरेको पाइएमा कानुनी कारबाही हुन सक्ने प्रहरीले जनाएको छ।
भोटेकोशीमा भदौ १० गते आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएको थियो। बाढीपछि प्रभावित क्षेत्रमा उद्वार, बेपत्ताको खोजी, शव पहिचान तथा राहत र पुनस्र्थापनाको काम चलिरहेका बेला सामाजिक सञ्जालमा विभिन्न प्रकारका सामग्री सार्वजनिक भइरहेका छन्। यही क्रममा बाढीपीडितको पीडालाई लिएर जातजातिलाई लक्षित गरी अपमानजनक तथा विपत्तिमा खुसी व्यक्त गरिएको भनिएको भिडिओ पोस्ट भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
मडैलाई पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाइए पनि आरोप प्रमाणित भइनसकेको र घटनाबारे थप अनुसन्धानपछि कानुनी प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ।


