बसबाट झर्ने क्रममा लडेर महिलाको मृत्यु, चालक पक्राउ
राजविराज– सप्तरीमा बसबाट झर्ने क्रममा लडेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले बस चालकलाई पक्राउ गरेको छ। अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ चाँदनी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको घटनामा सुरुङ्गा नगरपालिका–२ का ३१ वर्षीय साजन विश्वकर्मा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार भदौ १८ गते बिहान करिब साढे ८ बजे विराटनगरबाट सिरहातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५४३ नम्बरको बसबाट कञ्चनरुप नगरपालिका–११ लछनपट्टीकी करिब ४० वर्षीया निर्मला केसी राम झर्ने क्रममा लडेकी थिइन्। लड्दा उनको टाउकोमा चोट लागेको थियो।
घटनापछि घाइते निर्मलालाई तत्काल उपचारका लागि ठेलियास्थित धर्मेश्वर अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित प्राइम अस्पताल पु¥याइएकोमा उपचारकै क्रममा भदौ २० गते बिहान पौने ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
महिलाको मृत्यु भएपछि प्रहरीले बस चालक विश्वकर्मालाई भदौ २० गते अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ महुलीबाट पक्राउ गरेको हो। उनलाई कानुनबमोजिम पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका विश्वकर्मालाई अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट भदौ २० गतेदेखि लागू हुने गरी सात दिनको म्याद थप भएपछि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


