फेसबुकको एक क्लिकले भत्कायो १२ वर्षको वैवाहिक सम्बन्ध, २ सन्तान खोसिए, पारिवारिक जीवन तहसनहस

काठमाडौँ– फेसबुकको एउटा ‘फ्रेन्ड रिक्वेस्ट’ले चार वर्षअघि सुरु भएको एउटा सम्बन्ध आज अदालतको कठघरासम्म पुगेको छ, भन्दा विश्वास नलाग्न पनि सक्छ। ३२ वर्षीया कुसुम गैरे (परिवर्तित नाम)का लागि त्यो रिक्वेस्ट केवल सामाजिक सञ्जालमा थपिएको एउटा नयाँ साथी थिएन। त्यसपछि सुरु भएको निकटताले १२ वर्ष लामो वैवाहिक सम्बन्ध भत्कायो, दुई सन्तानसँगको दूरी बढायो, नयाँ जीवनको आशा जगायो र अन्ततः त्यही सम्बन्ध ब्ल्याकमेलिङ, २७ लाख रुपैयाँको लेनदेन, एआईबाट तयार पारिएको आपत्तिजनक सामग्री र साइबर अपराधको अभियोगसम्म पुग्यो।

अदालतमा पुगेको विवरणअनुसार कुसुमको कथा प्रेम सम्बन्धको उतारचढावमा मात्र सीमित छैन। यसमा सामाजिक सञ्जालबाट सुरु हुने सम्बन्धले पारिवारिक जीवनमा पार्ने असर, भावनात्मक निर्भरता, सम्बन्ध टुटेपछि उत्पन्न हुने प्रतिशोध, निजी संवादको दुरुपयोग र डिजिटल प्रविधिलाई चरित्रहत्या तथा दबाबको माध्यम बनाइएको आरोपसम्मका धेरै तह जोडिएका छन्। तर यीमध्ये कुन आरोप प्रमाणित हुन्छन् र कुन दाबी विवादित रहन्छन् भन्ने अन्तिम निर्णय अदालतको प्रक्रियाबाटै हुने विषय हो।

कथा यहाँबाट सुरु हुन्छ– कुसुम चार वर्षअघि काठमाडौं बानेश्वरस्थित एक अन्तर्राष्ट्रिय कलेजमा कार्यालय सहयोगीका रूपमा काम गर्थिन्। गुल्मी घर भएकी उनी बालुवाटारमा श्रीमान् र दुई साना छोराछोरीसँग बस्दै आएकी थिइन्। विवाह भएको १२ वर्ष भइसकेको थियो। परिवार, जागिर र सन्तानसहित उनको जीवन एउटा स्थापित लयमा चलिरहेको थियो।

त्यही क्रममा फेसबुकमा प्रशान्त आचार्य (परिवर्तित नाम)को नामबाट आएको फ्रेन्ड रिक्वेस्ट उनले स्वीकार गरिन्। अदालतमा पेस भएको मिसिलअनुसार त्यसको भोलिपल्टै उनीहरूबीच प्रत्यक्ष भेट भयो। बालुवाटारस्थित नेपाल राष्ट्र बैंक नजिक भेटिएका प्रशान्तले उनलाई मोटरसाइकलमा नजिकैको क्याफे पु¥याए। चिया–खाजाबाट सुरु भएको भेटघाट विस्तारै नियमित कुराकानीमा बदलियो।

प्रशान्तले आफू सरकारी सेवामा रहेको र आफ्नो पारिवारिक जीवन राम्रो नभएको बताउँदै कुसुमसँग नजिकिन खोजेको विवरण मिसिलमा छ। कुसुमले आफू विवाहित रहेको र उनका श्रीमान् तथा छोराछोरी रहेको स्पष्ट बताएकी थिइन्। तर, प्रशान्तले सम्बन्ध गोप्य राखेर अघि बढाउन प्रस्ताव गरेको उनको बयानमा उल्लेख छ।

सम्बन्ध विस्तार हुँदै जाँदा एक वर्षले अर्को वर्षलाई पछ्यायो। चार वर्षअघिको तीजमा उनीहरूको सम्बन्धले अर्को मोड लियो। प्रशान्तले घुम्न जाने प्रस्ताव राखे। कुसुमले साना छोराछोरीलाई छाडेर जान नसक्ने बताएपछि प्रशान्तकै सल्लाहमा उनीहरूले बच्चालाई दिदीको घरमा छाडे।

दुवै मोटरसाइकलमा काठमाडौंको कालु पाण्डेको शालिक रहेको डाँडातर्फ गए। रात परेपछि होटलमा कोठा लिएर बसे। राति करिब ९ बजेतिर कुसुमका ११ वर्षीय छोरा र ६ वर्षीया छोरीले फोन गरे। उनले फोन उठाइनन्। नेपाली सेनामा कार्यरत उनका श्रीमान् र दिदीले समेत लगातार फोन गरे, तर सम्पर्क हुन सकेन।

भोलिपल्ट बिहान प्रशान्तले कुसुमलाई बालुवाटार नजिक ल्याएर छाडिदिए। उनी कोठामा पुग्दा श्रीमान् घरमै थिए। कुसुमको मोबाइल श्रीमानले नियन्त्रणमा लिएर हेरेपछि त्यसभित्र प्रशान्तसँग भएका संवाद भेटिए। त्यसपछि विवादले तत्कालै पारिवारिक रूप लियो। उनका लत्ताकपडा झोलामा राखेर घरबाट निकाल्दै श्रीमानले अब आफूले उनलाई नराख्ने बताएका थिए।

घरबाट बाहिरिएपछि कुसुम केही समय वसुन्धरास्थित काकाको कोठामा पुगिन्। तर, दसैंका बेला काका–काकी गाउँ गएका समयमा प्रशान्त उनी बसेकै ठाउँमा आउने गरेको र घरबेटीले थाहा पाएपछि आफन्तलाई जानकारी गराएको विवरण छ। त्यसपछि काकाले पनि उनलाई त्यहाँ राख्न अस्वीकार गरे।

परिवारबाट टाढिँदै गएकी कुसुमका लागि त्यसपछि प्रशान्त नै आश्रय बनेको उनको बयानमा उल्लेख छ। उनले काठमाडौंको कपनमा कोठा खोजेर कुसुमलाई बस्ने व्यवस्था मिलाए र आफैं पनि त्यहाँ आउने–जाने गर्न थाले। कुसुमका अनुसार प्रशान्तले आफू सरकारी जागिरे भएकाले तत्काल सम्बन्ध सार्वजनिक नगर्ने, पछि आफूलाई श्रीमती बनाएर राम्रोसँग राख्ने आश्वासन दिएका थिए।

यही क्रममा कुसुमलाई पहिलो वैवाहिक सम्बन्ध कानुनी रूपमा अन्त्य गर्न लगाइएको उनको दाबी छ। चार–पाँच महिना कपनमा बसेपछि उनीहरू करिब एक वर्ष वसुन्धारामा कोठा लिएर बसे। यस अवधिमा कुसुमको पुरानो परिवार क्रमशः विगतमा परिणत हुँदै गयो र नयाँ सम्बन्धलाई भविष्यको आधार मान्ने अवस्था बनेको देखिन्छ।

तर, त्यसपछि घटनाले फेरि अप्रत्याशित मोड लियो। प्रशान्तको सरुवा भैरहवा भयो। कुसुम पनि उनीसँगै गइन् र कार्यालयको आवासमा बस्न थालिन्। अदालतमा पुगेको विवरणअनुसार २०८३ वैशाखमा त्यहीँ बसिरहेका बेला प्रशान्तले अचानक फोन बन्द गरे। सम्पर्कविहीन भए र कुसुमलाई त्यहाँ एक्लै छाडेर काठमाडौं फर्किए।

कुसुमको बयानमा यो क्षण सम्बन्ध टुटेको निर्णायक बिन्दुका रूपमा आएको छ। उनका अनुसार जुन व्यक्तिले श्रीमानसँग सम्बन्धविच्छेद गराएर आफूलाई श्रीमती बनाउने आश्वासन दिएका थिए, उनी नै पछि सम्पर्कबाट टाढिँदै गए।

‘उहाँले मलाई श्रीमती बनाउँछु भनेर श्रीमानसँग सम्बन्धविच्छेद गराउनुभयो। पछि अलपत्र पारेर फोन नउठाउने र आफ्नै बाटो लाग भनेर फोन काट्ने गर्न थाल्नुभयो,’ कुसुमले बयानमा भनेकी छन्, ‘म घर न घाटकी भएँ। बच्चाको याद आउने, खान–बस्न धौ–धौ भएपछि आक्रोश र पीडामा आएर मैले मेसेज र अडियो पठाएकी हुँ।’

यहीँबाट घटनाको अर्को पक्ष सुरु हुन्छ। प्रशान्तको दाबीअनुसार सम्बन्ध बिग्रिएपछि कुसुमले उनीहरूबीच भएका निजी संवाद, स्क्रिनसट तथा अन्य सामग्रीलाई दबाब सिर्जना गर्ने माध्यम बनाइन्। उनले विभिन्न मोबाइल नम्बर र ह्वाट्सएपमार्फत आफूलाई ठूलो रकम दिन दबाब दिएको र रकम नदिए झूटा मुद्दामा फसाउने, जेल पु¥याउने, घरपरिवार तथा कार्यालयमा पुगेर प्रतिष्ठा समाप्त पार्ने र ज्यान मार्ने धम्कीसम्म दिएको आरोप जाहेरीमा लगाइएको छ।

उनका अनुसार माग गरिएको रकम कम्तीमा ५० लाख रुपैयाँ थियो। लगातारको दबाब र मानसिक तनाव सहन नसकेको अवस्थामा २० लाख रुपैयाँ दिएपछि थप दुःख नदिने र सामाजिक सञ्जालबाट टाढिने सहमति भएको प्रशान्तको दाबी छ। त्यसपछि उनले साथीभाइ र आफन्तबाट रकम जुटाएर बैंकिङ प्रणालीमार्फत २०८३ जेठ १५ देखि १९ गतेबीच २० लाख रुपैयाँ पठाएको विवरण मिसिलमा समावेश छ।

तर, विवाद त्यहाँ रोकिएन। प्रशान्तको दाबीअनुसार नगदसहित कुल २७ लाख रुपैयाँ दिइसकेपछि पनि कुसुमले आफ्नी श्रीमती, छोरी, परिवारका सदस्य र सहकर्मीलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरेर दुःख दिने क्रम नरोकिएको आरोप छ।

दुवैबीचको तनाव अन्ततः प्रत्यक्ष झगडामा पुग्यो। २०८३ जेठ ७ गते कलंकीस्थित दाउरा चुलो रेस्टुरेन्टमा उनीहरूबीच विवाद र झगडा भयो। स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी वृत्त कालिमाटीले दुवैलाई नियन्त्रणमा लिएर आगामी दिनमा एकअर्कालाई बाधा–अवरोध नगर्ने सर्तमा कागज गराएर छाडेको थियो।

तर, प्रहरी कार्यालयमा गरिएको त्यो कागजी सहमतिले विवादको अन्त्य गरेन। प्रशान्तले कुसुममाथि अर्को गम्भीर आरोप लगाए—आफ्ना फोटो तथा भिडियोमा एआई प्रविधि प्रयोग गरेर सम्पादन तथा नयाँ सामग्री सिर्जना गरी आपत्तिजनक सामग्री तयार पारिएको र सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो चरित्रहत्या गरिएको।

यो आरोपको सत्यता प्रमाणित गर्ने वा खण्डन गर्ने अन्तिम आधार भने डिजिटल प्रमाणको परीक्षण र न्यायिक निर्णयमा निर्भर हुनेछ। प्रहरीले प्रशान्तले उपलब्ध गराएको अडियोसहितको पेनड्राइभ तथा कुसुमको मोबाइल फोन परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब र साइबर ब्युरोमा पठाएको विवरण छ।

त्यसपछि निजी सम्बन्धको विवाद औपचारिक रूपमा फौजदारी कानुनी प्रक्रियामा प्रवेश ग¥यो। २०८३ साउन २७ गते कुसुमलाई उनको कार्यस्थलबाटै पक्राउ गरिएको थियो। त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ।

सरकारी पक्षले कुसुममाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ अन्तर्गत आपराधिक लाभ अर्थात् एक्सटर्सनको कसुर गरेको अभियोग लगाएको छ। उक्त कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको भन्दै अभियोगमा सजाय माग गरिएको छ।

त्यसैगरी विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय माग गरिएको छ। सरकारी पक्षले प्रशान्तलाई २७ लाख रुपैयाँ क्षतिपूर्ति भराउन तथा अपराधमा प्रयोग भएको भनिएको मोबाइलसमेत जफत गर्न माग गरेको छ।

अब यो घटनाको अर्को निर्णायक चरण काठमाडौं जिल्ला अदालतमा सुरु हुने थुनछेक बहस हो। अदालतले तत्काल कुसुमलाई थुनामा राखेर मुद्दा अघि बढाउने कि धरौटी वा अन्य आदेशमार्फत बाहिर रहेर मुद्दा लड्न दिने भन्ने विषयमा निर्णय गर्नेछ।

तर यो प्रकरणलाई केवल ‘प्रेम सम्बन्ध बिग्रिएको घटना’का रूपमा हेर्दा यसको डिजिटल र सामाजिक आयाम छुट्न सक्छ। फेसबुकको एउटा रिक्वेस्टबाट सुरु भएको चिनजानले एउटा विवाह भत्काएको छ, दुई सन्तानसँगको सम्बन्धमा दूरी ल्याएको छ, अर्को सम्बन्धको आश्वासन दिएको छ, भैरहवासम्म पुगेको छ र अन्ततः २७ लाख रुपैयाँको आर्थिक विवाद तथा साइबर अपराधको मुद्दामा परिणत भएको छ।

यस घटनामा दुवै पक्षका दाबी एकअर्कासँग ठ्याक्कै विपरीत छन्। कुसुम आफूलाई आश्वासन दिएर पुरानो परिवारबाट अलग गराइएको र अन्ततः अलपत्र पारिएको बताउँछिन्। प्रशान्त भने निजी सामग्रीलाई हतियार बनाएर आफूबाट रकम असुलिएको दाबी गर्छन्। एआईबाट तयार पारिएको भनिएको सामग्रीको वास्तविकता, रकम लेनदेनको प्रकृति, धम्कीका आरोप र डिजिटल प्रमाणको विश्वसनीयता अब न्यायिक परीक्षणका विषय हुन्।

यही कारण यो मुद्दाको केन्द्रमा २७ लाख रुपैयाँ मात्र छैन। प्रश्न अझ गहिरो छ—सामाजिक सञ्जालबाट सुरु भएको निजी सम्बन्ध टुटेपछि डिजिटल संवाद, फोटो, भिडियो र निजी सामग्री कसरी शक्ति र दबाबको साधन बन्न सक्छन् ? भावनात्मक सम्बन्धमा गरिएका वाचा कानुनी दायित्वमा परिणत हुन्छन् कि हुँदैनन् ? र सम्बन्धमा धोका भएको दाबी तथा आपराधिक लाभ असुलीको आरोपबीचको कानुनी सीमा कहाँ छुट्टिन्छ ?

फेसबुकको एउटा सामान्य ‘फ्रेन्ड रिक्वेस्ट’ले सुरु गरेको कथा अहिले अदालतमा प्रमाण, प्रविधि र कानुनको कठघरामा पुगेको छ। चार वर्षअघि एउटै क्लिकबाट खुलेको डिजिटल ढोका आज एउटा महिलालाई अभियुक्त र अर्का व्यक्तिलाई ‘पीडित’को दाबी गर्ने अवस्थामा पु¥याएको छ।

अब फैसला अदालतले गर्नेछ—कुन दाबी प्रमाणित हुन्छ, कुन आरोप टिक्छ र डिजिटल संसारमा सुरक्षित राखिएका ती संवाद तथा सामग्रीले अन्ततः कसको कथा पुष्टि गर्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट