माथिल्लो त्रिशूली–१ आयोजनामा थप ७ शव फेला, अझै सयौँ बेपत्ता

काठमाडौँ— भदौ १० गतेको बाढीबाट क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बेपत्ताको खोजीका क्रममा शुक्रबार थप सात जनाको शव फेला परेको छ। सुरुङ तथा हेडवक्र्स क्षेत्रमा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शव भेटिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ।

बाढीअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए। तीमध्ये हालसम्म ८७८ जनाको उद्वार भइसकेको छ भने बाँकीको अवस्था अझै यकिन हुन सकेको छैन। शुक्रबार नेपाली सेना र आयोजना प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्भे इन्जिनियरसहितको टोलीले अडिट–१ क्षेत्रको निरीक्षण गरेको थियो। उद्वारकर्ताका अनुसार उक्त क्षेत्रमा सुरुङ पूर्ण रूपमा डेब्रिजले भरिएको पाइएको छ।

आयोजनाको मैलुङ क्याम्प साइटमा मिनी एक्स्काभेटर परिचालन गरी उत्खननसमेत सुरु गरिएको छ। यस्तै, अडिट–३ क्षेत्रमा नेपाली सेना र अष्ट्रेलियाली उद्धार समूहले खोजी गरेका छन्। आयोजना प्रवद्र्धक कम्पनीले शनिबारदेखि खोजी तथा उद्वार कार्यलाई थप तीव्रता दिने जनाएको छ। सुरुङ र हेडवक्र्स क्षेत्रमा ठूलो मात्रामा थुप्रिएको डेब्रिजका कारण उद्वार टोलीलाई हराइरहेकासम्म पुग्न कठिनाइ भइरहेको छ।

भदौ १० गते आएको बाढीले माथिल्लो त्रिशूली–१ आयोजनाको संरचनामा ठूलो क्षति पु¥याएपछि त्यहाँ कार्यरत धेरै व्यक्ति सम्पर्कविहीन भएका थिए। त्यसयता नेपाली सेना, सुरक्षा निकाय, आयोजना पक्ष तथा विदेशी विज्ञ उद्वार टोलीसमेत परिचालन गरी विभिन्न अडिट र क्याम्प साइटमा खोजी भइरहेको छ।

शुक्रबार भेटिएका सात शवसँगै आयोजनामा बाढीपछि बेपत्ता भएका व्यक्तिको खोजीमा महत्वपूर्ण प्रगति भए पनि अझै कति व्यक्ति सम्पर्कविहीन छन् भन्ने यकिन विवरण खोजी तथा पहिचान प्रक्रिया पूरा भएपछि मात्र स्पष्ट हुने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट