सेफ्टी ट्याङ्कीभित्र टुक्राटुक्रा अवस्थामा युवकको शव, चार जना नियन्त्रणमा

जनकपुर— महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा करिब २२ वर्षीय युवकको हत्या भएको छ। १४ भदौदेखि वेपत्ता रहेका भंगाहा नगरपालिका–६ का विवेक कुमार सरदारको हत्या भएको हो। उनको शव सेफ्टी ट्याङ्कीभित्र टुक्राटुक्रा अवस्थामा फेला परेको छ।

भदौ १४ गते साँझदेखि बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा उनको शव फेला परेको हो। घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार विवेक जलेश्वर नगरपालिका–९ पिगौनास्थित दिदीको घरबाट वेपत्ता भएका थिए।

उनी दिदीको घरबाट मोटरसाइकलमा आफ्नो घरतर्फ हिँडेका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएको जनाईएको छ। बेपत्ता भएपछि उनका बुबा अशोक कुमार वातरले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए।

निवेदनपछि प्रहरीले विभिन्न स्थानमा खोजी अघि बढाएको थियो। खोजतलासका क्रममा बलवा नगरपालिका–७ बनौटामा अशोक कुमार ठाकुरको घर पछाडि रहेको सेफ्टी ट्याङ्कीमा शव फेला परेको प्रहरीले जनाएको छ।

शव विवेककै भएको पुष्टि भएको छ भने घटनाको प्रकृति र मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्नता वा घटनाबारे जानकारी रहेको आशंकामा प्रहरीले बलवा नगरपालिका–७ का अन्दाजी ५८ वर्षीय अशोक कुमार ठाकुर, उनकी अन्दाजी ५५ वर्षीया श्रीमती रामकली देवी, अन्दाजी २२ वर्षीया बुहारी सोनु कुमारी ठाकुर तथा महोत्तरी गाउँपालिका–५ का अन्दाजी ३७ वर्षीय सियाराम शर्मालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि सोधपुछ तथा घटनासँग सम्बन्धित अन्य प्रमाण संकलनको काम अघि बढाएको छ। उनीहरूको संलग्नता पुष्टि भइसकेको नभएकाले अनुसन्धानबाट खुल्ने तथ्यका आधारमा घटनाको वास्तविक कारण र जिम्मेवार व्यक्तिबारे निष्कर्ष निकालिने प्रहरीले जनाएको छ।

बेपत्ता भएको दुई दिनपछि प्रहरीमा खोजतलासका लागि निवेदन परेको र त्यसक्रममा सेफ्टी ट्याङ्कीभित्र शव भेटिएपछि घटना रहस्यमय बनेको छ। प्रहरीले घटनाको सम्पूर्ण पक्षबारे अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट