गेटबाहिर बच्चा जन्मिएको घट्ना भाईरल भएपछि गजेन्द्र अस्पतालले १ डाक्टरसहित ६ कर्मचारी हटायो
राजविराज — सरकारी अस्पतालको मूल गेटबाहिरै सुत्केरी हुनुपरेको घटनाको छानबिन भइरहेका बेला सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले एक जना डाक्टरसहि पाँच कर्मचारीलाई कामकाजबाट हटाएको छ।
भदौ २५ गते अस्पताल परिसरको दक्षिण गेटबाहिर ३० वर्षीया बबिताकुमारी पासवानले शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले डाक्टर उषा देव र स्टाफ नर्ससहित ६ कर्मचारीलाई छानबिनको अन्तिम प्रतिवेदन नआएसम्म कामबाट हटाउने निर्णय गरेको हो।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रणजित कुमार झाले भदौ २६ गते जारी गरेको पत्रअनुसार डा. देव, स्टाफ नर्स मनीषा कुमारी साह, स्टाफ नर्स सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई कामकाजबाट हटाइएको छ। पत्रमा घटनाबारे अस्पतालले गठन गरेको छानबिन समिति तथा अन्य निकायबाट गठित समितिको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म र अर्को व्यवस्था नभएसम्म उनीहरूलाई काममा नलगाइने उल्लेख छ।
यो कारबाहीसँगै राजविराजमा विपन्न गर्भवती महिलाले सरकारी अस्पतालको गेटमै बच्चा जन्माउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने प्रश्नमाथि औपचारिक छानबिन अघि बढेको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले समेत छुट्टै छानबिन समिति गठन गरेको छ। सीडीओ श्यामकृष्ण थापाले भदौ २५ गते स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतीशकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए।
समितिमा स्वास्थ्य संयोजक कामेश्वर यादव सदस्य र प्रशासकीय अधिकृत कमलदेव यादव सदस्य–सचिव छन्। जिल्ला प्रशासनले गजेन्द्रनारायण सिंह अस्पताललाई छानबिन समितिले माग गरेका सूचना, प्रमाण र सीसीटीभी फुटेजलगायत विवरण उपलब्ध गराउन पनि भनेको छ। पत्रको बोधार्थ गृह मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई पठाइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पनि घटनाको छानबिनका लागि छुट्टै टोली परिचालन गरेको छ। मन्त्रालयबाट गठित समितिका संयोजक उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार टोलीले घटनास्थलको प्रारम्भिक निरीक्षण सकेर सम्बन्धित पक्षसँग विस्तृत सोधपुछ थालेको छ।
रायमाझीका अनुसार टोली राति करिब १ बजे घटनास्थल पुगेको थियो। बिरामीलाई असहज नहोस् भनेर त्यसबेला धेरै सोधपुछ नगरी घटनास्थल र वार्डको प्रारम्भिक अवस्था अवलोकन गरिएको र त्यसपछि ड्युटीमा रहेका कर्मचारी, काउन्टरका प्रतिनिधि, अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलगायत सम्बन्धित व्यक्तिबाट छुट्टाछुट्टै जानकारी लिने काम भइरहेको छ।
घटनासँग जोडिएका कागजात र प्रमाणसमेत अध्ययन भइरहेको उनले बताएका छन्। छानबिनपछि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारमार्फत सत्यतथ्यसहित विस्तृत प्रतिवेदन बुझाउने तयारी रहेको उनको भनाइ छ।
बिरामी कसरी अस्पतालको गेटसम्म पुगिन?
राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानलाई प्रसूति व्यथाले च्यापेको थियो। विपन्न परिवारकी उनलाई उनका श्रीमान् हरेराम पासवान, छिमेकी र केही महिलाले भाडाको सिटी रिक्सामा राखेर गजेन्द्रनारायण सिंह अस्पताल पु¥याएका थिए।
लेबर वार्डमा पुगेपछि ड्युटीमा रहेका नर्सहरूले उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेका थिए। परिवारका अनुसार पाठेघरको मुख करिब १ सेन्टिमिटर मात्र खुलेको र प्रसूति हुन अझै केही समय लाग्ने जानकारी दिइएको थियो।
तर, त्यसपछि रगत, पिसाब र अल्ट्रासाउन्डलगायत परीक्षणका लागि करिब ३२ सय रुपैयाँसम्मको पुर्जा दिइएको परिवारको दाबी छ। त्यतिबेला बबिताका श्रीमान् र आफन्तसँग करिब २ हजार रुपैयाँ मात्रै नगद थियो। पर्याप्त रकम नभएको भन्दै उनीहरूले बिहान पैसा जुटाएर ल्याब परीक्षण गराउने र तत्काल बिरामीलाई भर्ना गरी बेडमा राखिदिन आग्रह गरेको बताएका छन्।
परिवारका अनुसार उनीहरूले यसअघि तीन सन्तान सामान्य रूपमा जन्मिएको र सरकारी अस्पतालमा प्रसूति सेवा निःशुल्क हुने सुनेर आएको बताएका थिए। तर, उनीहरूको आग्रह स्वीकार नभएको र परीक्षणको रकम नबुझाएसम्म भर्ना लिन नसकिने जवाफ पाएको उनीहरूको भनाइ छ।
परिवारले नर्सहरूले ‘काउन्टरमा पैसा बुझाएर जाँच गराएपछि मात्र यहाँ भर्ना हुन्छ, पैसा छैन भने बाहिर जानुस्’ भनेको आरोप लगाएको छ। यही क्रममा अस्पतालमा ड्युटीका लागि तोकिएका चिकित्सक भने उपस्थित नभएको उनीहरूको भनाइ छ।
परिवारका अनुसार अस्पतालबाट बाहिरिएपछि उनीहरू पैसा जुटाउने प्रयासमा लागेका थिए। बिहानतिर बबितालाई पुनः प्रसूति पीडा बढेपछि अस्पतालको मूल गेटनजिकै रहेको सडक पेटीमा शिशु जन्मिएको थियो।
साथमा रहेका महिला र स्थानीयको सहयोगमा उनले छोरालाई जन्म दिएकी थिइन्। अस्पतालबाहिरको उक्त दृश्य नजिकैको निजी औषधि पसलमा जडान गरिएको सीसीटीभी क्यामेरामा समेत कैद भएको हो।
शिशु जन्मिएपछि नाल काट्ने, साल निकाल्ने तथा आवश्यक प्राथमिक उपचारका लागि उनलाई पुनः अस्पतालको लेबर वार्डमा लगिएको थियो। तर, त्यसपछि पनि सहयोगको साटो आफूहरूमाथि गालीगलौज र हप्कीदप्की भएको बबिताले बताएकी छिन्। प्रसूतिपछि अत्यधिक पीडामा रहेकी उनले केही समय बेडमा आराम गर्न दिन आग्रह गरे पनि आफूलाई अस्पतालमा राख्न नमानिएको उनको भनाइ छ।
बबिता बाबासिरको समस्याबाट समेत पीडित रहेको परिवारले जनाएको छ। प्रसव पीडाका कारण पाठेघर सफा गर्ने क्रममा समेत उनलाई निकै असहज भएको थियो। परिवारको दाबीअनुसार उनलाई बिहान ५ बजेअघि नै अस्पतालबाट घर फर्काइएको थियो। त्यस क्रममा अस्पतालका सरसफाइ कर्मचारीले सरसफाइ तथा हेरचाह गरेको भन्दै बक्सिसका रूपमा पैसा मागेको आरोपसमेत परिवारले लगाएको छ।
त्यसपछि बबिता र नवजात शिशुलाई पुनः सिटी रिक्सामै राखेर परिवारले पर्साहीस्थित घर पु¥याएको थियो।
अस्पताल प्रशासनको प्रारम्भिक दाबीमाथि पनि प्रश्न
घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनले भने सुरुमा बिरामीलाई अस्पतालबाट निकालिएको आरोप अस्वीकार गरेको थियो। अस्पतालका प्रतिनिधिले बिरामी अस्पतालमा भर्ना नभएको र केही समय बेडमा बसेपछि ल्याब परीक्षण तथा भर्ना प्रक्रिया पूरा गर्नुपर्ने जानकारी पाएर आफैं बाहिरिएको दाबी गरेका थिए।
प्रशासनले बिरामीलाई अस्पतालबाट जबर्जस्ती ननिकालिएको र बच्चा जन्मिएपछि पनि परिवारकै इच्छामा उनीहरू घर गएको दाबी गरेको थियो। तर, सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो, परिवारको भनाइ र घटनाबारे उठेका प्रश्नपछि प्रशासनको उक्त दाबीसमेत छानबिनको विषय बनेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रणजित झाले ड्युटीमा रहेका नर्सहरूको व्यवहार र प्रतिक्रिया गलत भएको स्वीकार गरेका छन्। घटनाले सरकारी अस्पतालमा विपन्न गर्भवतीका लागि राज्यले उपलब्ध गराउँदै आएको निःशुल्क प्रसूति सेवाको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ।
नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा प्रवाहका लागि ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ सञ्चालन गर्दै आएको छ। कार्यक्रमअन्तर्गत सरकारी स्वास्थ्य संस्थाबाट प्रसूति सेवा, आवश्यक औषधी तथा तोकिएका ल्याब परीक्षण र यातायात सुविधासहितका सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था छ।
तर, निरक्षर र विपन्न परिवारकी बबिता अस्पताल पुग्दा आफूले पाउनुपर्ने सेवा, प्रक्रिया र आर्थिक व्यवस्थाबारे स्पष्ट जानकारी नपाएको परिवारको भनाइ छ। परीक्षणका लागि मागिएको रकम तत्काल जुटाउन नसक्दा अस्पतालमै सुरक्षित रूपमा राखिदिन गरिएको आग्रह अस्वीकार भएको उनीहरूको दाबी छ।
यस घटनाले अस्पतालमा उपचार सेवा मात्र होइन, विपन्न तथा अशिक्षित बिरामीलाई प्रक्रिया र अधिकारबारे जानकारी दिने तथा आकस्मिक अवस्थामा तत्काल निर्णय गर्ने संयन्त्र कति प्रभावकारी छ भन्ने प्रश्नसमेत उठाएको छ।
घटना सामाजिक सञ्जालमा फैलिएपछि विषय प्रतिनिधि सभासम्म पुगेको थियो। सांसदहरूले सरकारी अस्पतालको गेटमै गर्भवती महिलाले बच्चा जन्माउनुपर्ने अवस्थाबारे प्रश्न उठाउँदै आमा सुरक्षा कार्यक्रमका लागि छुट्याइएको बजेट र त्यसको कार्यान्वयनमाथि जवाफ मागेका थिए।
सांसदहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएका स्वास्थ्यकर्मी तथा गैरजिम्मेवार प्रशासनिक पक्षमाथि कारबाही गर्न माग गरेका थिए। चौतर्फी आलोचना र छानबिनको प्रक्रिया अघि बढेपछि अस्पताल प्रशासनले बबितालाई पुनः अस्पताल ल्याएको थियो। अस्पतालको टोली बिहीबार साँझ उनको पर्साहीस्थित घर पुगेको र आमा तथा नवजात शिशुलाई पुनः अस्पताल ल्याएर भर्ना गरिएको जानकारी दिइएको छ।
हाल बबिता र उनका नवजात शिशुको गजेन्द्रनारायण सिंह अस्पतालमै उपचार भइरहेको छ। उनीहरूलाई विशेष÷पेइङ वार्डमा चिकित्सकको निगरानीमा निःशुल्क उपचार भइरहेको र आमा तथा शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
अब छानबिन समितिहरूको प्रतिवेदनले घटनाको वास्तविक क्रम, जिम्मेवारी र अस्पतालको सेवा प्रवाहमा कहाँ कमजोरी भयो भन्ने टुंगो लगाउनेछ। ६ कर्मचारीलाई कामकाजबाट हटाउने निर्णय त्यसै छानबिनको अन्तिम निष्कर्ष आउनुअघिको प्रशासनिक कदमका रूपमा आएको छ।



