६ जनाको जागिर जाने ‘सडक सुत्केरी’ प्रकरणः महिलाहरू राति सुत्केरी हुँदैनन् भन्ने निष्कर्षमा पुगेको हो अस्पताल?
राजविराज– गजेन्द्रनारायण सिंह अस्पतालको गाइनो विभागमा ८ जना डाक्टर छन्। एक जना तत्काल विदामा रहेकाले अहिले ७ जना कार्यरत छन्। तर, रातको समयमा गाइनोसम्बन्धी नियमित डाक्टर ड्युटीमा छैनन्। प्रसूति व्यथाले राति अस्पताल पुग्ने महिलाको प्रत्यक्ष उपचार नर्सको भरमा हुने र अवस्था गम्भीर बने मात्रै ‘अनकल’ डाक्टर बोलाउने गरिएको तथ्य सडक पेटीमा सुत्केरी भएकी बबिताकुमारी पासवानको घटनापछि बाहिर आएको छ।
त्यसैले अहिले सबैभन्दा गम्भीर प्रश्न छ— आठ जना डाक्टर भएको गाइनो विभागमा रातिको ड्युटीका लागि एक जना पनि चिकित्सक नखटाउने निर्णय अस्पताल कसरी र कुन आधारमा पुग्यो?
राजविराज नगरपालिका–१४ पर्साहीकी ३२ वर्षीया बबितालाई गत बुधबार राति करिब साढे १२ बजे प्रसूति व्यथा सुरु भएपछि श्रीमान् हरेराम पासवान, छिमेकी र केही महिलाले सिटी रिक्सामा अस्पताल पु¥याएका थिए। लेबर वार्डमा ड्युटीमा रहेका नर्सले उनको स्वास्थ्य जाँच गरे। पाठेघरको मुख करिब १ सेन्टिमिटर मात्रै खुलेको र प्रसूति हुन अझै केही घण्टा लाग्ने जानकारी परिवारलाई दिइयो।
त्यसपछि रगत, पिसाब र अल्ट्रासाउन्डलगायत परीक्षण गर्नुपर्ने भन्दै करिब ३ हजार २ सय रुपैयाँको पुर्जा परिवारलाई दिइयो। तर हरेरामसँग त्यसबेला २ हजार रुपैयाँ मात्रै थियो। बिहान पैसा जुटाएर परीक्षण गराउने भन्दै उनले तत्काल भर्ना गरी बेडमा राखिदिन आग्रह गरे। परिवारले यसअघि तीन बच्चा सामान्य रूपमा जन्मिएको र सरकारी अस्पतालमा प्रसूति सेवा निःशुल्क हुने सुनेर आएको बताएको थियो।
तर परिवारका अनुसार तत्काल परीक्षणको रकम बुझाएर प्रक्रिया पूरा नगरेसम्म भर्ना लिन नमिल्ने बताइयो। पैसा नभए बाहिर जान भनिएको उनीहरूको आरोप छ। निरक्षर र विपन्न परिवारले आफ्नो समस्या अस्पतालका वरिष्ठ चिकित्सक वा प्रशासनिक तहसम्म पुर्याउन सकेन।
अस्पतालबाट बाहिरिएपछि उनीहरू अस्पतालकै गेट आसपास बसे। बिहान पैसा जुटाउने र आवश्यक परे पुनः अस्पताल जाने उनीहरूको योजना थियो। तर बिहान करिब ४ देखि साढे ४ बजेतिर बबितालाई अचानक तीव्र प्रसूति पीडा भयो। अस्पतालभित्र फर्कन नसक्ने अवस्थामा पुगेपछि मुल गेट नजिकैको सडक पेटीमै स्थानीय महिला र आफन्तको सहयोगमा उनले छोरा जन्माइन्।
अस्पतालअगाडिको निजी फार्मेसीमा जडान गरिएको सीसीटीभीमा उक्त दृश्य कैद भएको थियो। बिहीबार बिहान भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल भयो र घटनाले राष्ट्रियस्तरमा समेत चर्चा पायो।
आठ डाक्टर, तर राति एक जना पनि ड्युटीमा छैनन्
फुटपाथमा भएको प्रसूति घटनाले एउटा अझ गहिरो प्रश्न उजागर गरेको छ—प्रसूति जुनसुकै बेला हुन सक्छ भन्ने सामान्य चिकित्सकीय वास्तविकताबीच अस्पतालको गाइनो विभागमा रातिको समयमा नियमित डाक्टर किन खटाएन ?
अस्पतालमा राति नियमित गाइनो डाक्टरको ड्युटी नभएको अवस्थामा बिरामीको अवस्था गम्भीर भए मात्रै अनकल डाक्टर बोलाउने गरिएको खुलासा भएको छ। बबिताको घटनामा अनकल डाक्टरका रूपमा डा. उषा देव कार्यरत थिइन्।
तर डा. देवले आफूलाई अस्पतालबाट त्यस रात कुनै फोन नआएको बताएकी छिन्। घटनाबारे आफूले बिहीबार मात्रै जानकारी पाएको र छानबिन समितिलाई पनि त्यही विवरण लिखित रूपमा दिएको उनको भनाइ छ। ‘मैले पनि त्यो घटना बिहीबार मात्रै थाहा पाएँ,’ उनले भनेकी छिन्, ‘छानबिन समितिलाई पनि मैले त्यही नै लिखित दिएँ। तर तत्काललाई कामकाजबाट हटाइसकेको देखेँ।’
अस्पताल प्रशासनमा बुझ्दा ‘माथिबाट नै त्यस्तो भएको’ जवाफ पाएको उनले बताएकी छिन्। यही घटनाले अस्पतालको ‘अनकल’ प्रणालीमाथि समेत प्रश्न उठाएको छ। चिकित्सकलाई बोलाउने जिम्मेवारी कसको हो? कुन अवस्थामा फोन गर्ने? फोन नगरेको अवस्थामा बिरामीको जिम्मेवारी कसको? र फोन नगरेको चिकित्सकलाई कारबाहीको दायरामा कसरी ल्याइयो? यी प्रश्नको स्पष्ट जवाफ छानबिनबाट खोजिनुपर्ने देखिन्छ।
निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. झाले आगामी असोज १ गतेदेखि डाक्टरहरूको नाइट ड्युटी व्यवस्थापन गर्ने बताएका छन्। उनले अस्पताल व्यवस्थापनमा आमूल परिवर्तन गरी स्वास्थ्य सेवा सुधार गर्ने पनि जानकारी दिए।
तर यही घोषणाले घटनाको मूल प्रश्नलाई झन् गहिरो बनाएको छ। यदि असोज १ गतेदेखि गाइनोमा रातिको डाक्टर ड्युटी आवश्यक छ भने, त्यसअघि किन आवश्यक थिएन? अस्पतालको गाइनो विभागमा ८ जना डाक्टर हुँदाहुँदै रातिको समयमा एक जना पनि चिकित्सक नखटाइएको व्यवस्थाको निर्णय कसले गर्यो? प्रसूति सेवा २४ घण्टा आवश्यक पर्ने विषय हो भन्ने अस्पताल व्यवस्थापनलाई थाहा नभएको हो ? राति आउने गर्भवतीको संख्या, प्रसूति जटिलताको सम्भावना वा बिरामीको जोखिम मूल्यांकन गरेर यस्तो व्यवस्था गरिएको हो भने त्यसको आधार के थियो?
अथवा अस्पताल व्यवस्थापनले व्यवहारमै ‘महिलाहरू राति सुत्केरी हुँदैनन्’ भन्ने निष्कर्ष निकालेको हो? त्यस्तो निष्कर्ष हो भने त्यसको आधार के हो? कसले यस्तो निर्णय गर्यो? कुन बैठकमा निर्णय भयो? कुन चिकित्सकीय अध्ययन वा तथ्यांकले त्यसलाई समर्थन गर्छ? यदि यस्तो कुनै निष्कर्ष नै थिएन भने रातिको गाइनो सेवा चिकित्सकविहीन बनाउने व्यवस्थाको औचित्य के थियो?
डाक्टरसहित ६ जनालाई कामकाजबाट हटाइयो, नेतृत्वमाथि प्रश्न
घटनापछि अस्पतालले डा. उषा देवसहित ६ जनालाई कामकाजबाट हटाएको छ। कामकाजबाट हटाइएकामा स्टाफ नर्स मनीषाकुमारी साह, सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झा छन्।
तर कारबाहीको यो सूचीले अर्को प्रश्न जन्माएको छ—घटनाको व्यवस्थापन र नेतृत्वको जिम्मेवारीमा रहेका सबै तह समान रूपमा जवाफदेही भए कि भएनन? गाइने वार्डको व्यवस्थापन तथा नेतृत्व, बिरामीको प्रत्यक्ष हेरचाह, सुरक्षा, परामर्श र समन्वयमा भूमिका रहने ‘गाइने इन्चार्ज’ स्टाफ नर्स कृष्णा यादव भने तत्काल कामकाजबाट हटाइएकी छैनन्। यसै विषयलाई लिएर अस्पताल प्रशासनको विरोधसमेत भइरहेको छ।
निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. झाले भने घटनाका बेला प्रत्यक्ष ड्युटीमा रहेकाहरूलाई तत्कालका लागि कामकाजबाट हटाइएको बताएका छन्। ‘गाइने इन्चार्जको प्रत्यक्ष संलग्नता देखिएन तर हाम्रो र जिल्ला प्रशासन कार्यालय, मन्त्रालय तथा काउन्सिलले गरिरहेको छानबिनको दायरामा उहाँ पनि हुनुहुन्छ,’ उनले भनेका छन्, ‘दोषी देखिने जोकोहीलाई कारबाही हुन्छ। र कामकाजबाट हटाइएकाहरू पनि दोषी नदेखिए कामकाजमा फिर्ता गर्छौं।’
फुटपाथमा जन्मिएको प्रश्नको जवाफ कसले दिने?
बबिताको घटनामा आर्थिक पक्ष पनि उत्तिकै महत्वपूर्ण देखिन्छ। सरकारले सरकारी अस्पतालमा प्रसूति गराउने महिलाका लागि ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत प्रसूति सेवा, आवश्यक औषधि, ल्याब परीक्षण तथा यातायात खर्चसमेत निःशुल्क उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख छ।
तर बबिताको परिवारले आफूले पाउने सुविधा र प्रक्रियाबारे जानकारी नपाएको देखिन्छ। करिब ३ हजार २ सय रुपैयाँको परीक्षण पुर्जा हात परेपछि तत्काल २ हजार रुपैयाँ मात्रै बोकेको परिवारले अस्पतालको माथिल्लो तहमा पुगेर वैकल्पिक व्यवस्था माग्न सकेन।
सरकारी अस्पतालमा उपचारका लागि आएको विपन्न परिवारले ‘पैसा छैन’ भनेपछि उपचारको बाटो बन्द भयो कि उनीहरूलाई उपलब्ध सरकारी सुविधाबारे बुझाउने जिम्मेवारी अस्पतालको पनि थियो? यो प्रश्नसमेत छानबिनको विषय बन्नुपर्ने देखिन्छ।
फुटपाथमै बच्चा जन्मिएपछि स्थानीय महिलाहरूले बबिता र नवजात शिशुलाई पुनः लेबर वार्डमा पु¥याए। नाल काट्ने, साल निकाल्ने र प्राथमिक उपचारका लागि उनीहरू अस्पताल फर्किएका थिए।
तर परिवारका अनुसार वार्डमा पुगेपछि पनि सहयोगी व्यवहार भएन। अघिल्लो पटक भर्ना नभई बाहिर गएको भन्दै नर्सहरूले गालीगलौज गरेको र अब बच्चा जन्माएपछि किन यहाँ आएको भन्दै प्रश्न गरेको उनीहरूको आरोप छ।
बबिता प्रसवपछि अत्यधिक पीडामा थिइन्। उनी बाबासिर अर्थात् पाइल्सको समस्याबाट समेत पीडित रहेको परिवारले जनाएको छ। पीडा सहन नसकेर उनले सुरुमा पाठेघर सफा गर्न नदिएको र पछि केही घण्टा बेडमा आराम गर्न तथा भर्ना गरिदिन आग्रह गरेको परिवारको भनाइ छ।
तर उनलाई बिहान ५ बजेअघि नै अस्पतालबाट घर फर्काइएको र आफैं ननिस्किए धक्का दिएर निकाल्ने धम्की दिइएको परिवारले आरोप लगाएको छ। सरसफाइ कर्मचारीले समेत सफाइ र हेरचाह गरेको भन्दै बक्सिसका नाममा पैसा मागेको उनीहरूको दाबी छ।
घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले सत्यतथ्य छानबिनका लागि समिति बनाएका छन्। काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ, मन्त्रालयका तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग रायमाझी तथा एथिकल कमिटीका डा. अजय शाह सम्मिलित टोलीले घटनाको छानबिन गरिरहेको छ।
अस्पताल र जिल्ला प्रशासन कार्यालयले गठन गरेका समितिले पनि घटनाको अध्ययन गरिरहेका छन्। अस्पतालले छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्म डा. उषा देवलाई कामकाजबाट हटाइएको जनाएको छ।
अस्पताल प्रशासनका अनुसार तत्काल ड्युटीमा प्रत्यक्ष संलग्न भएकाहरूलाई व्यवस्थापनको हिसाबले हटाइएको हो र दोषी नदेखिए उनीहरूलाई पुनः काममा फर्काइनेछ। तर छानबिनको दायरा कर्मचारीलाई कारबाही गर्नेमा मात्रै सीमित भयो भने सडकमा सुत्केरी हुन पुगेको घटनाको मूल कारण अनुत्तरित रहनेछ।
आठ जना डाक्टर भएको गाइनो विभाग राति चिकित्सकविहीन किन थियो? अनकल डाक्टरलाई फोन किन गरिएन? भर्ना प्रक्रिया आर्थिक अवस्थाका कारण रोकिँदा वैकल्पिक व्यवस्था किन खोजिएन? गाइने वार्डको नेतृत्वको जिम्मेवारी कहाँसम्म थियो? र अन्ततः रातिको प्रसूति सेवाको यस्तो संरचना कसले बनायो? यी प्रश्नको जवाफ छानबिन प्रतिवेदनले दिनुपर्नेछ।
किनकि बबिताले अस्पतालको ढोकाबाहिर बच्चा जन्माएको त्यो केही मिनेटको दृश्य केवल एउटा परिवारको पीडा होइन। त्यो दृश्यले रातिको समयमा सरकारी अस्पताल पुग्ने गर्भवती महिलाका लागि अस्पतालभित्रको प्रणाली कति तयार छ भन्ने प्रश्न सार्वजनिक गरेको छ।
असोज १ गतेदेखि नाइट ड्युटी व्यवस्थापन गर्ने अस्पतालको घोषणा सुधारतर्फको कदम हुन सक्छ। तर त्यसअघि एउटा प्रश्नको जवाफ आवश्यक छ— महिला जुनसुकै बेला सुत्केरी हुन सक्छन् भन्ने सामान्य सत्य बुझ्न अस्पताललाई सडकमा एउटा बच्चा जन्मिनैपर्ने अवस्था किन आयो?
लोकप्रिय
ताजा अपडेट
६ जनाको जागिर जाने ‘सडक सुत्केरी’ प्रकरणः महिलाहरू राति सुत्केरी हुँदैनन् भन्ने निष्कर्षमा पुगेको हो अस्पताल?

