त्रिशूली–१ को टनेलमा भेटिएका १३ शव सेनाले निकाल्यो, खोजी कार्य जारी
काठमाडौँ— माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको अडिट–३ टनेलभित्र फेला परेका १३ शवलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्वार गरी त्रिशूली ल्याएको छ। सेनाका अनुसार टनेलभित्र शव फेला परेपछि उद्वार गरी ल्याइएको हो भने प्रभावित क्षेत्रमा बेपत्ताको खोजी कार्य अझै जारी छ।
नेपाली सेनाले जारी गरेको विवरणअनुसार त्रिशूली–३ए जलविद्युत आयोजनाको टनेल र पावर हाउस क्षेत्रमा पनि आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। त्रिशूली–२ बीको पावर हाउस क्षेत्रमा नेपाली सेनासहितको संयुक्त टोलीले तीनवटा एक्साभेटर र लोडर प्रयोग गरी उत्खनन गरेको थियो। उक्त क्रममा भने अहिलेसम्म थप केही फेला नपरेको सेनाले जनाएको छ।
सेनाले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा खोजी अभियानलाई समेत निरन्तरता दिएको छ। त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायतका स्थानमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको छ।
त्यसैगरी, साँघुरा टनेलको रेकी, प्रभावित क्षेत्रको खोज तथा मूल्याङ्कन र सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत तथा अत्यावश्यक सामग्री पु¥याउने काम भइरहेको सेनाले जनाएको छ।
सेनाका अनुसार हालसम्म ड्रोनबाट नुवाकोट र रसुवाका विभिन्न प्रभावित क्षेत्रमा ३१ हजार ९१ किलो राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएर समन्वयात्मक रूपमा खोज, उद्वार तथा राहत कार्यमा खटिएका छन्।
नेपाली सेनाका हवाई साधनबाट विभिन्न प्रभावित क्षेत्रबाट हालसम्म ४ हजार २२० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ९३७ नेपाली र २८३ विदेशी नागरिक रहेको सेनाले जनाएको छ।
टनेल तथा प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यलाई निरन्तरता दिइएको सेनाको भनाइ छ।

