जनकपुरमा घरमा आगलागी हुँदा ७० वर्षीय पूर्वशिक्षकको मृत्यु

जनकपुर— धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकमा शनिबार राति घरमा आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको छ।

राति अचानक लागेको आगोबाट भाग्न नसक्दा घरधनी सहनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।

प्रहरीका अनुसार आगलागीका बेला सहनीकी नातिनी पनि घरमै थिइन्। उनले भने भागेर ज्यान जोगाएकी छिन्।

महोत्तरीको लोहारपट्टी नगरपालिका–२ स्थायी घर भएका सहनी अवकाशप्राप्त शिक्षक रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। यद्यपि आगलागीको वास्तविक कारणबारे यकिन भइसकेको छैन।

डीएसपी खनालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट