राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ, साइबर ब्युरोले काठमाडौं झिकायो
काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाललाई प्रहरीले आइतबार बिहान मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको छ। काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबारसम्बन्धी कसुरमा पक्राउ अनुमति लिएर साइबर ब्युरोको अनुरोधमा मोरङ प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
थप अनुसन्धानका लागि उनलाई आइतबार नै काठमाडौं पठाउने तयारी गरिएको मोरङ प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले दाहाललाई सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको थियो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको हो। अदालतको अनुमति प्राप्त भएपछि साइबर ब्युरोको अनुरोधमा स्थानीय प्रहरीले पक्राउ गरेको उनले बताए।
दाहाललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौं पठाउने तयारी गरिएको छ। प्रहरीका अनुसार उनलाई काठमाडौं पु¥याएपछि साइबर ब्युरोले अनुसन्धान अघि बढाउनेछ। पछिल्लो विवरणअनुसार उनलाई जहाजमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ।
पक्राउको आधार के हो ?
प्रहरीले दाहालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको पुष्टि गरे पनि पुर्जी कुन अभिव्यक्ति, सामग्री वा ठ्याक्कै कुन कसुरसँग सम्बन्धित हो भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन। प्रकाशित प्रहरी विवरणहरूमा भने साइबर ब्युरोमा परेको उजुरी तथा सामाजिक सञ्जालमा व्यक्त सामग्रीसँग सम्बन्धित अनुसन्धानका लागि पक्राउ गरिएको उल्लेख छ।
मोरङमा भने दाहालविरुद्ध छुट्टै उजुरी नरहेको प्रहरीले जनाएको छ। पक्राउको कानुनी आधार काठमाडौंको अदालतबाट जारी भएको पुर्जी र साइबर ब्युरोको अनुरोध रहेको प्रहरीको भनाइ छ।
राजनीतिक गतिविधिका क्रममा पूर्वी नेपाल आएका थिए दाहाल
दाहाल राजनीतिक छलफल तथा कार्यक्रममा सहभागी हुन असोज २ गते पूर्वी नेपाल आएका थिए। शनिबारको कार्यक्रम सकेर आइतबार काठमाडौं फर्कने तयारीमा रहेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनी त्रिमूल नेपालका अध्यक्ष समेत हुन्। पछिल्लो समय उनले सरकार, शासन व्यवस्था र समसामयिक राजनीतिक विषयमा सार्वजनिक रूपमा आफ्ना धारणा राख्दै आएका थिए। विशेषगरी बालेन्द्र (बालेन) साह नेतृत्वको सरकारका विषयमा उनले आलोचनात्मक टिप्पणी गर्दै आएको सामग्री सार्वजनिक हुँदै आएका छन्।
दाहालका सहकर्मी तथा समर्थकहरूले भने उनको पक्राउलाई राजनीतिक अभिव्यक्तिसँग जोडेर प्रश्न उठाएका छन्। उनीहरूले सरकार तथा सत्ता सञ्चालनबारे आलोचना गर्ने आवाज नियन्त्रण गर्न राज्य संयन्त्र प्रयोग गरिएको आरोप लगाएका छन्।
यद्यपि, प्रहरीले दाहाललाई राजनीतिक अभिव्यक्तिकै कारण पक्राउ गरिएको भन्ने दाबी पुष्टि गरेको छैन। प्रहरीको औपचारिक भनाइ अदालतबाट पक्राउ अनुमति प्राप्त भएको र साइबर ब्युरोको अनुरोधमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको भन्नेमा सीमित छ।
काठमाडौं पुगेपछि साइबर ब्युरोले दाहालमाथि लागेको आरोप, अनुसन्धानको आधार र विवादित भनिएको सामग्रीसम्बन्धी थप विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

