विवाहित महिलासँग चुम्बन गरेको फोटो खिचेर उनकै ससुरालाई पठाउने उदयपुरका बस चालकविरुद्ध मुद्दा

काठमाडौँ– विवाहित महिलासँग खिचिएका आफनै अन्तरङ्ग फोटो तथा भिडिओ महिलाका ससुराको ह्वाट्सएपमा पठाएको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिका–२ का ५० वर्षीय तीरमान तामाङविरुद्ध मुद्दा दर्ता भएको छ।

सरकारी वकिल कार्यालयले शुक्रबार तामाङ विरुद्ध झापा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। तामाङ काँकडभिट्टा–काठमाडौं रुटमा चल्ने रात्रीबसका चालक हुन। उनिविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) अन्तर्गत अभियोगपत्र दायर भएको हो।

भियोगपत्रमा तामाङलाई उक्त कसुरमा १ लाख रुपैयाँसम्म जरिबाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनुपर्ने मागदाबी गरिएको छ। साथै, पीडित महिलालाई परेको मानसिक क्षतिबापत विद्युतीय कारोबार ऐनको दफा ५८(क) बमोजिम मनासिब क्षतिपूर्ति तथा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ अनुसार क्षतिपूर्ति शुल्क भराई पीडित राहत कोषमा जम्मा गराउन माग गरिएको छ।

मिसिलअनुसार घटना करिब डेढ वर्षअघि बस यात्राका क्रममा सुरु भएको परिचयसँग जोडिएको छ। वैदेशिक रोजगारीको तयारीका क्रममा काठमाडौं जाने क्रममा महिला वन प्लस नामको यात्रुवाहक बसमा चढेकी थिइन्। त्यही बसका चालक तामाङसँग कुराकानी भएपछि दुवैले फोन नम्बर आदानप्रदान गरेका थिए।

जाहेरीमा उल्लेख भएअनुसार त्यसपछि तामाङले पटक–पटक फोन गर्दै विवाह गर्ने प्रस्ताव राखेका थिए। दमक–५ को गोर्खाली टोलमा बोलाएर भेट्दा तामाङले आफूलाई बहिनीको कोठामा लगेको र सम्झनाका लागि भन्दै फोटो तथा भिडिओ खिचेको महिलाको दाबी छ। पछि ती सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै आफूलाई भेट्न बाध्य बनाएको उनको आरोप छ।

तर अनुसन्धानका क्रममा तामाङले भने महिलासँग आफ्नो सम्बन्ध आपसी सहमतिमा अघि बढेको बयान दिएका छन्। महिलाले श्रीमानसँग सम्बन्ध टुटिसकेको बताएपछि आफूले कोठा भाडा, ऋण तिर्न तथा वैदेशिक रोजगारीका लागि दिल्ली जाँदा समेत गरी करिब १ लाख रुपैयाँ सहयोग गरेको उनको दाबी छ।

दिल्लीबाट फर्किएपछि आफूहरू काठमाडौंमा सँगै लिभिङ टुगेदरमा बसेको र त्यही क्रममा दुवैको सहमतिमै फोटो तथा टिकटक भिडिओ खिचिएको तामाङको बयानमा उल्लेख छ। सम्बन्धमा विवाद भने महिला पुनः श्रीमानसँगै बस्न थालेपछि बढेको मिसिलबाट देखिन्छ। २०८३ असार २ गते छोरालाई सर्पले टोकेको खबर पाएपछि महिला झापा फर्किएकी थिइन्। त्यसपछि उनले तामाङलाई फोन गरी आफू अब श्रीमानसँगै रहेको र आफूलाई सम्पर्क नगर्न भनेको जाहेरीमा उल्लेख छ।

महिलाका बहिनी तथा परिवारको पहलमा श्रीमान–श्रीमतीबीच पुनः घरव्यवहार मिलाउने सहमति समेत भइसकेको थियो। तर त्यसको केही दिनपछि असार १४ गते तामाङले बिर्तामोडको बुट्टाबारीस्थित गाडी ग्यारेजमा भेटिएका महिलाका ससुराको ह्वाट्सएप नम्बरमा उनी र तामाङबीचका अङ्कमाल तथा चुम्बनका फोटो र भिडिओ पठाएको अभियोगपत्रमा उल्लेख छ।

तामाङले भने ससुराले नै फोटो तथा भिडिओ मागेपछि आफूले ती सामग्री नराम्रो नभएको ठानेर पठाएको बयान दिएका छन्। तर ती सामग्री ससुराको ह्वाट्सएपमा पुगेपछि श्रीमान–श्रीमतीबीच घरायसी सम्बन्ध पुनःस्थापित गर्ने प्रयास प्रभावित भएको र महिलाको सामाजिक प्रतिष्ठामा समेत असर परेको अभियोगपत्रमा उल्लेख गरिएको छ।

मोबाइल र पेनड्राइभ फरेन्सिक परीक्षणमा
प्रहरीले २०८३ असार १८ गते झापाको दमक–७ स्थित महेन्द्र राजमार्गनजिकबाट तामाङलाई पक्राउ गरेको थियो। पक्राउका क्रममा उनको साथबाट मोबाइल फोन बरामद भएको थियो।

घटनासँग सम्बन्धित भन्दै महिलाका ससुराले पेस गरेका दुई थान पेनड्राइभ र स्क्रिनसट समेत प्रहरीले मिसिलमा दसी प्रमाणका रूपमा समावेश गरेको छ। तामाङबाट बरामद मोबाइल नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको डिजिटल फरेन्सिक ल्याब, नक्सालमा परीक्षणका लागि पठाइएको छ।

मोबाइलको फरेन्सिक परीक्षण प्रतिवेदन भने आउन बाँकी रहेको अभियोगपत्रमा उल्लेख छ। सरकारी पक्षले फरेन्सिक परीक्षणको प्रतिवेदन प्राप्त भएपछि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप दाबी पेस गर्ने जनाएको छ।

झापा जिल्ला अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ अन्तर्गत अभियोग दर्ता गरी कारबाही अघि बढाइएको हो। प्रहरीले तामाङलाई साउन ११ गते जिम्मा–जमानी कागज गराएर छाडिसकेको छ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ मा विद्युतीय माध्यमबाट सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने तथा महिलालाई हैरानी, अपमान वा अमर्यादित कार्य गर्ने वा गराउनेसम्बन्धी कसुरमा सजायको व्यवस्था छ। अदालतमा मुद्दा दायर भएसँगै अब अभियोगमा लगाइएका आरोप, प्रतिवादीको जिकिर र प्रमाणको मूल्याङ्कन न्यायिक प्रक्रियाबाट हुने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट