सडक सुत्केरी प्रकरण सेलाउँन नपाउँदै गजेन्द्रनारायण अस्पतालमा औषधी चोरीको अर्को धक्का

राजविराज— अस्पतालको गेटमै गर्भवती महिलाले बच्चा जन्माएको घटना सेलाउन नपाउँदै सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सरकारी औषधी तथा स्वास्थ्य सामग्री चोरीको अर्को घटना बाहिरिएको छ।

अस्पतालकै करार कर्मचारी तथा स्वास्थ्यकर्मी सुनसरी घर भएका अहमद अलीलाई सरकारी औषधी घर/डेरातर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको अस्पताल स्रोतले पुष्टि गरेको छ।

शुक्रबार भएको घटनामा अलीको साथबाट सिरिञ्ज, डिएनएस (DNS) लगायतका औषधीजन्य सामग्री बरामद भएको बताइएको छ। बरामद सामग्रीको यकिन परिमाण र मूल्य, कहाँ लैजान खोजिएको थियो, त्यसको उद्देश्य के थियो तथा घटनामा अरू कसैको संलग्नता थियो कि थिएन भन्ने विषय भने छानबिनबाट खुल्ने अस्पतालले जनाएको छ।

अस्पताल स्रोतका अनुसार अली यसअघि पनि औषधी चोरीकै प्रकरणमा पक्राउ परिसकेका व्यक्ति हुन्। अघिल्लो घटनाको प्रकृति, त्यसमा भएको कारबाही र अहिलेको घटनासँग त्यसको कुनै सम्बन्ध छ वा छैन भन्ने विषयसमेत अहिलेको छानबिनमा समेटिएको छ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रणजित कुमार झाले औषधी चोरी प्रकरणमा अली पक्राउ परेको घटना पुष्टि गर्दै यसअघि पनि सोही प्रकृतिको प्रकरणमा पक्राउ परेको कुरा आफूहरूसमक्ष आएको बताए।

‘आन्तरिक छानबिन समिति बनाएर अनुसन्धान भइरहेको छ। धेरै कुराहरु खुलेका छन्, प्रमाणहरु पनि फेला परिरहेका छन्,’ झाले भने, ‘अन्तिम प्रतिवेदन आएपछि अगाडि के गर्ने भन्ने विषय निर्णय हुन्छ। हामी प्रतिवेदनको प्रतीक्षामा छौं।’

छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि घटनामा संलग्न व्यक्तिमाथि आवश्यक कारबाहीबारे निर्णय गरिने झाले बताए।

नगरपालिकाको अनुदानबाट तलब
अली अस्पतालका करार कर्मचारी हुन्। उनको तलब राजविराज नगरपालिकाले अस्पताललाई उपलब्ध गराउने अनुदानबाट भुक्तानी हुने गरेको जनाइएको छ। नगरपालिकाको अनुदानबाट अलीसहित ७/८ जना कर्मचारीको तलब तथा अस्पतालका अन्य काममा खर्च हुने गरेको बताइएको छ।

राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इशरत परविनका अनुसार शम्भु यादव, भीमराज यादवलगायत मेयर रहेका समयमा अस्पतालमा केही कर्मचारी नियुक्त भएका थिए।

आर्थिक वर्ष २०८०/०८१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूको नियुक्तिमाथि प्रश्न उठाउँदै पत्र पठाएपछि अस्पतालले ती कर्मचारीलाई कामबाट हटाएको थियो। त्यसपछि प्रक्रिया पूरा गरेर उनीहरूलाई पुनः करारमा नियुक्त गरिएको उनको भनाइ छ।

नगरपालिकाले अहिले अस्पताललाई वार्षिक २५ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको र उक्त रकमबाट अलीलगायत ७/८ जना कर्मचारीको तलब तथा अन्य काममा खर्च हुने गरेको परविनले बताइन्।

तर अलीले नगरपालिकाको अनुदानबाट तलब खाँदैमा उनको घटनालाई नगरपालिकासँग जोड्न नमिल्ने परविनको भनाइ छ। उनका अनुसार अलीको नियुक्ति अस्पतालले गरेको हो र उक्त नियुक्ति आफ्नो कार्यकालमा भएको होइन।

गेटमै सुत्केरी घटनामा तीनवटा छानबिन समिति
औषधी चोरीको घटना सार्वजनिक हुनुअघि गजेन्द्रनारायण सिंह अस्पताल बबिताकुमारी पासवानले अस्पतालको गेटबाहिर बच्चा जन्माएको घटनाका कारण चर्चामा थियो।

भदौ २५ गते ३० वर्षीया बबिताले अस्पतालको गेटबाहिर शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले डा. उषा देव, स्टाफ नर्स मनीषा कुमारी साह, स्टाफ नर्स सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई कामकाजबाट हटाएको थियो।

घटनाको छानबिनका लागि अस्पताल, जिल्ला प्रशासन कार्यालय सप्तरी र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले छुट्टाछुट्टै समिति गठन गरेका थिए। उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजंग रायमाझीको संयोजकत्वमा मन्त्रालयले गठन गरेको समितिले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ।

राजविराज नगरपालिका–१४ पर्साहीकी बबितालाई प्रसूति व्यथाले च्यापेपछि उनका श्रीमान् हरेराम पासवान, छिमेकी र केही महिलाले सिटी रिक्सामा राखेर अस्पताल पुर्‍याएका थिए। परिवारका अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षणपछि प्रसूति हुन केही समय लाग्ने जानकारी दिइएको थियो।

रगत, पिसाब र अल्ट्रासाउन्डलगायत परीक्षणका लागि करिब ३२ सय रुपैयाँसम्मको पुर्जा दिइएको र परिवारसँग तत्काल करिब २ हजार रुपैयाँ मात्रै रहेको परिवारको दाबी थियो। पैसा जुटाएर ल्याब परीक्षण गराउने भन्दै तत्काल भर्ना गरी बेडमा राखिदिन आग्रह गरे पनि त्यसो हुन नसकेको परिवारले बताएको थियो।

त्यसपछि अस्पतालबाहिर पुगेकी बबिताले बिहानतिर अस्पतालको मूल गेटनजिकै सडक पेटीमा छोरालाई जन्म दिएकी थिइन्। घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनले सुरुमा बबितालाई अस्पतालबाट निकालिएको आरोप अस्वीकार गर्दै उनी भर्ना नभएको र ल्याब परीक्षण तथा भर्नाको प्रक्रिया पूरा गर्नुपर्ने जानकारी पाएपछि आफैं बाहिरिएको दाबी गरेको थियो।

घटनाबारे छानबिन अघि बढेपछि भने अस्पतालको टोली बबिताको पर्साहीस्थित घर पुगेको थियो। उनलाई नवजात शिशुसहित पुनः अस्पताल ल्याएर भर्ना गरिएको थियो।

यता, सरकारी औषधी तथा स्वास्थ्य सामग्री बाहिर लैजान खोजिएको पछिल्लो घटनामा अस्पतालले आन्तरिक छानबिन अघि बढाएको छ। बरामद सामग्रीको परिमाण र मूल्य, घटनाको उद्देश्य तथा सम्भावित संलग्नताबारे प्रमाण संकलन भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

अन्तिम प्रतिवेदन आएपछि अहमद अलीमाथि थप कारबाही गर्ने वा नगर्ने तथा घटनामा संलग्न अन्य व्यक्तिबारे आवश्यक निर्णय गरिने अस्पतालले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट