फतेपुरबाट २० क्विण्टल गाँजासहित दुई जना घरधनी पक्राउ

राजविराज— सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलबाट प्रहरीले करिब २ हजार किलोग्राम गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा भण्डारण गरेको आरोपमा स्थानीय भोला सदा र मंगल मुखियालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुवै जनाको घरमा खानतलासी गर्दा गाँजा फेला पारेको हो। भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका, अन्दाजी २ हजार किलो अर्थात् २० क्विन्टल गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गाँजा र नियन्त्रणमा लिइएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएर राखिएको छ। उनीहरूमाथि गाँजा कहाँबाट ल्याइएको हो, कसको प्रयोजनका लागि भण्डारण गरिएको थियो र यसको ओसारपसारमा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फतेपुर टोल भारतसँग जोडिएको सीमावर्ती क्षेत्र भएकाले बरामद गाँजा भारततर्फ निकासी गर्ने उद्देश्यले भण्डारण गरिएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, यसको पुष्टि अनुसन्धानपछि मात्रै हुने प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गाँजाको वास्तविक प्रकृति तथा परिमाणसम्बन्धी थप विवरण आवश्यक परीक्षण र अनुसन्धानबाट स्पष्ट हुने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट