उदयपुरः मादक पदार्थ सेवनपछि विवाद हुँदा हँसियाले घाँटीमा हानेर श्रीमतीको हत्या
गाईघाट— उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा घरायसी विवादका क्रममा श्रीमानले हँसिया प्रहार गर्दा श्रीमतीको हत्या गरेका छन्। ५८ वर्षीय गन्दुराम राईले शनिबार राति करिब साढे १२ बजे ४५ वर्षीया श्रीमती विमला राईको गर्दनमा सिकल (हँसिया) प्रहार गरेका थिए।
उपचारका क्रममा विमलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका गन्दुराम र विमलाबीच घरमै विवाद भएको थियो। विवादका क्रममा गन्दुरामले धारिलो हतियार प्रहार गर्दा विमला गम्भीर घाइते भएकी थिइन्।
घाइते विमलालाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। तर उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए।
घटना भएपछि गन्दुराम घरमा नबसी स्वयं अस्थायी प्रहरी पोस्ट माडिबास पुगेका थिए। उनले प्रहरीसमक्ष घटनाबारे जानकारी गराउँदै आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।
प्रहरीले गन्दुरामलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारमा राखेको छ। घटनामा प्रयोग भएको धारिलो हतियारसम्बन्धी विवरण संकलन गर्नुका साथै घटनाको कारण र अन्य परिस्थितिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

