भोटेकोशी बाढीको कहरः आमा गुमाएको वर्ष दिन नपुग्दै बुबा बेपत्ता, चुहिने छानोमुनि १३ वर्षीय शोभाको प्रतीक्षा

राजविराज— १३ वर्षीय शोभाकुमार सदाको दिन अहिले एउटै प्रश्नबाट सुरु हुन्छ—बुबा फर्किनु हुन्छ कि हुन्न ? राजविराज नगरपालिका–१६ बोरियास्थित उनीहरूको सानो टिनको घरमा यसको उत्तर छैन।

भोटेकोशी नदीमा आएको बाढीले रसुवाको त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा मजदुरी गरिरहेका उनका बुबा बेचन सदालाई बेपत्ता बनाएको ४ साता बितिसकेको छ। फोन लाग्दैन, कुनै खबर आएको छैन। घरमा कमाउने मान्छे छैन।

छानो चुहिन्छ। पानी पर्दा बस्ने, सुत्ने र खाना पकाउने ठाउँ छुट्याउन सकिँदैन। सात वर्षीया बहिनी बिभाको हेरचाह गर्ने जिम्मेवारी पनि शोभाकै काँधमा छ। त्यसमाथि यो परिवार शोकबाट बाहिर निस्कन नपाउँदै अर्को संकटमा परेको हो।

शोभाकी आमा फुलियादेवीको क्यान्सरका कारण गत कात्तिकमा ४२ वर्षकै उमेरमा मृत्यु भएको थियो। उपचारका लागि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो। त्यहाँबाट चिकित्सकले थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल लैजान सुझाए पनि पैसा अभावमा त्यो सम्भव भएन।

आमाको उपचार र आउजाउमै एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको थियो। भएको पैसा सकिएपछि बेचनले ऋण लिए। थप उपचारका लागि फेरि ऋण खोज्दा पनि रकम जुटेन। अन्ततः फुलियादेवीको घरमै मृत्यु भयो।

आमाको उपचारमा लागेको ऋण तिर्न मजदुरी गर्न गएका बेचन आफैं फर्किएनन्। शोभाका अनुसार बुबाले लिएको ऋणमध्ये अझै ६९ हजार रुपैयाँ तिर्न बाँकी छ। श्रीमतीको उपचारमा लागेको ऋणसँगै बरखीको खर्चसमेत धान्नुपर्ने भएपछि बेचन गत जेठमा रसुवा पुगेका थिए। त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा डन्डी बाँध्ने मजदुरका रूपमा काम गरिरहेका ४५ वर्षीय बेचन त्यहीँबाट बाढीपछि सम्पर्कविहीन भएका हुन्।

बुबा एक्लैले कमाएर घरखर्च र ऋण धान्न कठिन भएपछि शोभा पनि काम खोज्दै काठमाडौं पुगेका थिए। बाढी आएको समयमा उनी काठमाडौंमै थिए। बुबा कार्यरत आयोजना बाढीले प्रभावित भएको खबर पाएपछि उनले बारम्बार फोन गरे। तर, सम्पर्क हुन सकेन।

‘अझै पटक–पटक फोन डायल गरिरहन्छु तर लाग्दैन,’ शोभा भन्छन्। उनका लागि बुबा हराउनु भनेको परिवारको एकमात्र कमाइको स्रोत हराउनु मात्रै होइन, आमाको मृत्युको पीडा फेरि अर्को स्वरूपमा फर्किनु पनि हो।

‘उपचार अभावले ४२ वर्षकै उमेरमा आमा बित्नुभयो,’ उनले भने, ‘त्यसको वर्ष दिन नपुग्दै एक्लो सहारा बुवा सम्पर्कविहीन भएको आजसम्म अत्तोपत्तो छैन।’ बुबा बेपत्ता भएपछि शोभालाई आफ्नै उमेरभन्दा धेरै ठूलो जिम्मेवारीले थिचेको छ। सात वर्षीया बिभाको हेरचाहदेखि घर चलाउने चिन्तासम्म उनीमाथि आइपरेको छ।

दुई दिदी हीरा र किरण विवाह गरेर आ–आफ्नो घर गइसकेका छन्। अहिले उनीहरू पालैपालो बोरिया आएर भाइबहिनीलाई सम्हालिरहेका छन्। तर दिदीहरूका लागि पनि यो स्थायी समाधान होइन।

हीराका अनुसार उनी केही दिन भाइबहिनीसँग बसेर फेरि घर फर्किनुपर्ने बाध्यतामा छिन्। ‘अहिले भाइ र बहिनीको चिन्ताले फर्किन सकेकी छैन,’ उनले भनिन्, ‘हामी पनि आर्थिक रूपमा कमजोर नै छौं। आफूसँग राखेर पाल्न सक्ने अवस्था छैन।’

घरको अवस्था झन् कठिन छ। टिनको छानोले पानी थाम्दैन। वर्षा हुँदा घरभित्रै पानी पस्छ। त्यही ठाउँमा उनीहरू बस्छन्, सुत्छन् र खाना पकाउँछन्। ‘जाने ठाउँ छैन,’ शोभा भन्छन्, ‘जस्तो भए पनि बस्ने, सुत्ने र खाना पकाउने सबै काम चुहिने छानामुनि नै गरिरहेका छौं।’

बोरियाको यो घरमा अहिले बेपत्ता बुबाको प्रतीक्षा मात्रै छैन। त्यससँगै एउटा परिवारको आर्थिक आधार कसरी एकपछि अर्को संकटमा भासिँदै जान्छ भन्ने कथा पनि छ। पहिले आमाको उपचार। त्यसका लागि ऋण। उपचार सम्भव नभएपछि मृत्यु। त्यसपछि बरखी र ऋण तिर्न मजदुरी गर्न गएको बुबा बेपत्ता। घरमा बाँकी दुई बालबालिका। चुहिने छानो। आम्दानीको स्रोत शून्य। र, ऋण अझै बाँकी।

शोभाको उमेर १३ वर्ष मात्रै हो। तर उनको कुरा सुन्दा अहिले उनको चिन्ता विद्यालय, खेल वा साथीभाइको होइन—बुबा कहाँ छन्, बहिनीलाई कसरी पाल्ने र ऋण कसरी तिर्ने भन्नेमा सीमित भएको देखिन्छ। उनी बुबाको फोनको प्रतीक्षामा छन्। फोन बज्दैन। घरको ढोका खुल्दैन। तर प्रतीक्षा रोकिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट