गजेन्द्रनारायण सिंह अस्पतालमा कर्मचारीको दादागिरीः चिकित्सकमाथि हातपात, मेसुलाई ज्यान मार्ने धम्की

राजविराज— सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकमाथि अस्पतालकै कर्मचारीले हातपात गरेको घटना सार्वजनिक भएको छ। असोज २ गते राति राजविराज–८ स्थित ग्रिन गार्डेन रिसोर्ट एन्ड पार्टी प्यालेसमा चिकित्सकमाथि हातपात भएको हो।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रञ्जितकुमार झालाई ज्यान मार्ने धम्कीसमेत दिइएको चिकित्सकहरूले बताएका छन्। चिकित्सकहरूले अस्पतालकै कर्मचारीबाट आफूहरूमाथि हातपात, गालीगलौज र धम्की भएको भन्दै घटनामा संलग्नमाथि कारबाही र आफ्नो सुरक्षाको माग गरेका छन्।

उनीहरूले स्वास्थ्यकर्मीमाथि नै हातपात हुने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। चिकित्सकहरूले दिएको संयुक्त निवेदनअनुसार असोज २ गते राति खाजा खाने क्रममा अम्मर यादवले मेसु डा. झालाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका थिए।

त्यसक्रममा अस्पतालका कर्मचारी नारायणकुमार यादवसहित अम्मर यादव, विब्लु यादव र दिनेश मण्डलले आफूहरूमाथि हातपात गरेको निवेदनमा उल्लेख छ। घटनापछि चिकित्सकहरूले आफूहरूलाई सुरक्षित वातावरणमा नियमित स्वास्थ्य सेवा प्रदान गर्न कठिन हुने अवस्था सिर्जना भएको बताएका छन्।

उनीहरूले स्वास्थ्यकर्मीमाथि हुने हातपात, धम्की र दुव्र्यवहारलाई सामान्य विवादका रूपमा नलिई घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि तत्काल अनुसन्धान गर्न माग गरेका छन्। संयुक्त निवेदनमा घटनामा संलग्न भनिएका सबै व्यक्तिको भूमिकामाथि छानबिन गरी दोषी पाइए प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरिएको छ।

चिकित्सकहरूले अस्पतालका ल्याब इन्चार्जको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउन आग्रह गरेका छन्। घटनाबारे जानकारी गराउँदै चिकित्सकहरूले जिल्ला प्रशासन कार्यालय राजविराज, जिल्ला प्रहरी कार्यालय सप्तरी र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबारलाई निवेदनको बोधार्थ पठाएका छन्।

तर, घटनामा आरोपित कर्मचारी तथा अन्य व्यक्तिको पक्षबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन। जिल्ला प्रशासन र प्रहरीबाट समेत घटनाबारे आधिकारिक धारणा वा अनुसन्धानको अवस्थाबारे जानकारी प्राप्त भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट