त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालक अर्जुन दोङ भएको पुष्टि
काठमाडौँ— त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा ज्यान गुमाएका चालक मकवानपुर इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ भएको पुष्टि भएको छ। सोमबार दिउँसो रिद्धिसिद्धि यातायातको बसमा आगलागीपछि गम्भीर घाइते भएका दोङको सोही साँझ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा ब्लोनले मृतक सिस्नेरीकै अर्जुन दोङ भएको पुष्टि गरेकी छिन्। उनका अनुसार अर्जुन काठमाडौंमा अर्कैको बस चलाएर परिवार पाल्दै आएका थिए। आगलागी भएको बा ५ ख ४२७४ नम्बरको बस उनको आफ्नै नभएको ब्लोनले बताइन्।
‘सामान्य परिवारमा हुर्किएको मान्छे हो। बस किनेको रैनछ, अरुको बस चलाएका रैछन्,’ ब्लोनले भनेकी छिन्। उनका अनुसार अहिलेसम्म खोजिएका कागजातमा अर्जुनको नागरिकता बनेको प्रमाणसमेत फेला परेको छैन। आफन्तहरू शव बुझ्न काठमाडौंस्थित अस्पतालतर्फ गइसकेका छन्।
सोही वडाका अध्यक्ष प्रताप ब्लोनका अनुसार अर्जुनले अरूको लाइसेन्स प्रयोग गरेर सवारी चलाउँदै आएको परिवारले जानकारी दिएको छ। वडाबाट नागरिकताका लागि सिफारिस लिएको अभिलेख नभेटिएपछि जन्मदर्ताको कागजात लिएर आफू, अर्जुनका दाजु जनक दोङ र परिवारका अन्य सदस्य काठमाडौं गएको उनले बताए।
वडाध्यक्ष ब्लोनका अनुसार अर्जुनका श्रीमती र पाँच वर्षीय छोरा छन्। सोमबार दिउँसो करिब साढे १२ बजे त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्टेन्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।
प्रहरीका अनुसार घटनाअघि चालक र ट्राफिक प्रहरीबीच सामान्य विवाद भएको थियो। त्यसपछि चालकले आफैं बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक भनाइ छ। आगलागीमा चालक गम्भीर घाइते भएका थिए। प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याएको थियो। उपचारकै क्रममा सोमबार साँझ उनको मृत्यु भएको हो।
घटनाअघि चालक र ट्राफिक प्रहरीबीच जरिवाना तिर्ने विषयमा विवाद भएको विवरण सार्वजनिक भएको छ। घटनाको वास्तविक कारण र आगलागीको परिस्थितिबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ।
घटनापछि प्रहरीले मृतक चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा भएको जानकारी दिएको थियो। तर, पछि उक्त नाम र ठेगाना भएका चालक मृतक व्यक्ति नभएको प्रहरीले स्पष्ट पारेको थियो। त्यसपछि स्थानीय जनप्रतिनिधि र परिवारका सदस्यबाट मृतक चालक अर्जुन दोङ भएको पहिचान खुलेको हो।
अर्जुनको नागरिकता तथा सवारी चालक अनुमतिपत्रसम्बन्धी विवरणसमेत स्पष्ट नभएकाले पहिचानमा समस्या भएको देखिएको छ। परिवार र स्थानीय जनप्रतिनिधिले उपलब्ध जन्मदर्ता तथा अन्य कागजातका आधारमा उनको पहिचान पुष्टि गरेका हुन्।
त्रिपुरेश्वर बस आगलागीको घटनाबारे काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले यसअघि नै छानबिन समिति गठन गरिसकेको छ। एसएसपी रमेश बस्नेतको नेतृत्वमा गठित समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

