१० वर्षीया बालिका दुई बजे राति घरबाटै अपहरण, ३८ घण्टापछि जंगलबाट उद्वार

काठमाडौँ— राति घरभित्र परिवारसँगै सुतिरहेकी १० वर्षीया बालिका अचानक हराइन्। बाहिर हजुरबुवा–हजुरआमा सुतिरहेका थिए, उनी भाइसँग एउटै कोठामा थिइन्। बिहान ओढ्ने ओढाइदिन खोज्दा ओछ्यान खाली भेटिएपछि सुरु भएको खोजी ३८ घण्टापछि तिलोत्तमाको जंगलमा पुगेर टुंगिएको छ—बालिका सकुशल भेटिएकी छिन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधबार राति करिब २ बजे तिलोत्तमा क्षेत्रबाट बालिका अपहरणमा परेको सूचना परिवारले पाएलगत्तै खोजी सुरु गरिएको थियो। अनुसन्धानका क्रममा छिमेकी वडाका २७ वर्षीय एक युवकले बालिकालाई घरभित्रैबाट लिएर गएको खुलेको छ,

बालिका घरबाट कसरी हराइन् भन्ने परिवारले बिहान मात्रै थाहा पाएको थियो। राति घरबाहिर हजुरबुवा र हजुरआमा सुतेका थिए भने बालिका भाइसँग कोठाभित्र सुतिरहेकी थिइन्। बिहानीपख उनलाई ओढ्ने ओढाइदिन परिवारका सदस्य कोठामा पुग्दा ओछ्यानमा बालिका नभेटिएपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो।

सूचना पाएपछि प्रहरीले बिहीबार बिहानैदेखि बालिका हराएको घर आसपास, गाउँ तथा सम्भावित बाटाहरूमा खोजी थालेको थियो। पहिलो दिनभर खोजी गर्दा पनि उनको अवस्था पत्ता लागेन। प्रहरीले बिहीबार रातिसम्म खोजीलाई निरन्तरता दिएको थियो।

शुक्रबार बिहानदेखि खोजी पुनः तीव्र पारियो। गाउँ वरपरका सम्भावित स्थानमा खोजी गर्दा पनि बालिकाको अवस्था नखुलेपछि प्रहरीले स्थानीय जंगल क्षेत्रमा खोजी केन्द्रित गरेको थियो। त्यसक्रममा शुक्रबार दिउँसो करिब साढे ४ बजे तिलोत्तमाकै जंगलबाट बालिका सकुशल फेला परिन्।

प्रहरीको प्रारम्भिक भनाइ अनुसार बालिकालाई घरबाट लिएर गएपछि अपहरणमा संलग्न व्यक्तिले जंगलतर्फ लगेको खुलेको छ। बालिका लामो समय जंगलमै रहेको प्रहरीले जनाएको छ। उद्वारपछि प्रहरीले बालिकालाई आफ्नो निगरानीमा राखेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक परीक्षणका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

बालिका स्थानीय विद्यालयमा कक्षा २ मा अध्ययनरत छिन्। बालिका सकुशल भेटिए पनि घटनामा संलग्न भनिएका २७ वर्षीय युवक भने अझै पक्राउ परेका छैनन्। प्रहरीले उनको पहिचान भइसकेको जनाएको छ। अपहरणमा संलग्न व्यक्तिको खोजी तथा पक्राउका लागि अनुसन्धान अघि बढाइएको र उनलाई छिट्टै नियन्त्रणमा लिने प्रहरीले दाबी गरेको छ।

घरभित्रै परिवारका सदस्यसँग सुतिरहेकी बालिका रातिको समयमा बेपत्ता भएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर तत्काल खोजी अघि बढाएको थियो। करिब डेढ दिनभन्दा बढी समयपछि जंगलबाट सकुशल उद्वार हुनुले घटनाको अनुसन्धानसँगै बालिकाको सुरक्षा र अपहरणको उद्देश्यबारे थप प्रश्नसमेत खडा गरेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान तथा बालिकामाथि भएको व्यवहारबारे आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट