भोटेकोशीमा बेपत्ता सैनिकको शव नभेटिएपछि कुशको शव बनाएर अन्तिम संस्कार

रौतहट — भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएको एक महिनाभन्दा बढी समयसम्म पनि शव फेला नपरेपछि नेपाली सेनाका जवान रौतहटका २२ वर्षीय अभिषेक गुप्ताको शनिबार कुशको शव बनाएर हिन्दु संस्कारअनुसार अन्तिम संस्कार गरिएको छ।

मौलापुर नगरपालिका–७ सगैयाका गुप्ताको अन्तिम संस्कारका क्रममा नेपाली सेनाले सैनिक सम्मानसहित सलामी अर्पण गरेको छ। श्री शेरगण, रसुवामा कार्यरत गुप्ता गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका क्रममा बेपत्ता भएका थिए।

बाढीपछि सुरक्षाकर्मी, स्थानीयवासी र परिवारजनले उनको खोजीलाई निरन्तरता दिए पनि लामो समयसम्म कुनै अवस्था पत्ता लाग्न सकेन। शव फेला पार्न नसकिएपछि परिवारले धार्मिक परम्पराअनुसार कुशबाट प्रतीकात्मक शव तयार गरी अन्तिम संस्कार गर्ने निर्णय गरेको हो।

शनिबार गरिएको संस्कारमा परिवारका सदस्य, आफन्त तथा स्थानीयवासी सहभागी थिए। मौलापुर–७ सगैयाका बैधनाथ साह कानुका छोरा गुप्ता नेपाली सेनामा जवान पदमा कार्यरत थिए। अन्तिम संस्कारका क्रममा नेपाली सेनाको नारायण दल गण, गौर पुरेनवाबाट गएको टोलीले गुप्ताप्रति सैनिक सम्मान प्रकट गर्दै सलामी अर्पण गरेको थियो। उक्त टोलीको नेतृत्व गणपति प्रमुख सेनानी कर्णेल विश्वास बिष्टले गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट