ट्युसन पढ्न हिँडेका विद्यार्थी चढेको बस २०० मिटर तल खस्यो, चार विद्यार्थीसहित पाँचको मृत्यु

पोखरा— परीक्षाको तयारीका लागि ट्युसन पढ्न हिँडेका विद्यार्थी चढेको स्कुल बस दुर्घटना हुँदा पोखरामा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्।

पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकास्थानतर्फ विद्यार्थी लिएर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस शुक्रबार बिहान सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटनामा मृत्यु हुने चारै जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ। पाँचौँ मृतक सर्वसाधारण हुन्।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार दुर्घटनामा १९ जना घाइते भएका थिए। तीमध्ये पाँच जनाको उपचारका क्रममा मृत्यु भएको हो। घाइतेहरूलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका स्वास्थ्य संस्थामा लगिएको छ।

बसमा करिब २५ जना सवार रहेको बताइएको छ। तीमध्ये २१ जना विद्यार्थी रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। विद्यार्थीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए। दुर्घटनाको खबर पाएलगत्तै नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए।

सडकबाट निकै तल खसेको बसमा रहेका यात्रुलाई उद्धार गरी अस्पताल पु¥याइएको थियो। दुर्घटनापछि प्रहरी टोली अस्पताल पुगेर घाइतेको अवस्था र घटनासम्बन्धी विवरण संकलनमा जुटेको थियो।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पहिचान गर्ने काम उद्धारपछि अघि बढाइएको थियो। दुर्घटनाको कारणबारे भने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट