उमेरभन्दा अपराध धेरैः २४ वर्षमै २७ मुद्दा, अब पेस्तोल किनेर लुटपाटको तयारीमा थिए आयन माझी
काठमाडौँ — उमेर २४ वर्ष। प्रहरीको अभिलेखमा डाँका चोरीसम्बन्धी २७ वटा मुद्दा। जेल बसेर छुटिसकेका, फेरि लुटपाटमा संलग्न भएको आरोप लागेका र पछिल्लो समय पेस्तोल किनेर अपराधको दायरा विस्तार गर्ने तयारीमा रहेको प्रहरीको दाबी।
सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई काठमाडौंको कलंकी ढुंगेअड्डामा बस्दै आएका आयन माझीको आपराधिक अभिलेखले उनको उमेरभन्दा लामो अपराधको शृंखला देखाउँछ। काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सर्वसाधारणका सुनका सिक्री र नगद लुट्ने, मोटरसाइकल चोरी गर्ने र चोरीकै सवारी प्रयोग गरेर फरार हुने गरेको आरोपमा प्रहरीको निगरानीमा रहेका माझीलाई अन्ततः प्रहरीले गोली प्रहार गरेर पक्राउ ग¥यो।
काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित पुलमुनि पक्राउ गर्न खोज्दा माझीले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले बताएका छन्। त्यसपछि प्रहरीले दुई राउन्ड हवाई फायर र एक राउन्ड गोली उनको खुट्टामा प्रहार गरेर नियन्त्रणमा लिएको थियो। घाइते माझी अस्पतालमा उपचाररत रहेकै अवस्थामा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको छ।
तर उनको पक्राउको महत्व गोली प्रहार गरेर नियन्त्रणमा लिइएको घटनामा मात्रै सीमित छैन। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार माझीविरुद्ध विभिन्न समयमा २७ वटा डाँका चोरीसम्बन्धी मुद्दा चलेका छन्। पछिल्लो अनुसन्धानमा उनको समूहले चोरीका मोटरसाइकल प्रयोग गरेर राति र बिहानको समयमा लुटपाट गर्ने गरेको तथा जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका हतियारमध्ये पेस्तोल खरिद गर्ने विषयमा समेत कुराकानी गरेको सूचना र प्रमाण फेला परेको प्रहरीको दाबी छ।
घरेलु हतियारको प्रयोग गरेर लुटपाट गर्दै आएको आरोप लागेका माझीले पेस्तोल प्राप्त गरेको भए समूहको अपराध गर्ने क्षमता र जोखिम अझ बढ्न सक्ने आशंका अनुसन्धानमा जोडिएको छ। यद्यपि, पेस्तोल खरिदको तयारीबारे प्रहरीले गरेको दाबी र त्यससम्बन्धी प्रमाणको अन्तिम पुष्टि अनुसन्धानबाटै हुनुपर्नेछ।
माझीलाई प्रहरीले लुटपाटमा संलग्न समूहको मुख्य योजनाकार मानेको छ। उनको पक्राउपछि समूहमा रहेर काम गरेको आरोपमा मकवानपुरको बकैया गाउँपालिका–७ का २६ वर्षीय मनोजकुमार मोक्तान र बकैया–५ का ३४ वर्षीय राकेश थिङ पनि पक्राउ परेका छन्। प्रहरीका अनुसार लुटपाटका क्रममा मोक्तान मोटरसाइकल चलाउँथे भने थिङ पछाडि बसेर पीडितलाई निशाना बनाउने भूमिकामा थिए।
उनीहरूलाई सुरुमा गम्भीर उत्तेजना वा आवेगमा कुटपिटसम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि डाँका चोरीका घटनामा समेत अनुसन्धान गरिने प्रहरीको भनाइ छ। समूहका अन्य सदस्य भने अझै फरार रहेको बताइएको छ।
माझीको पक्राउपछि प्रहरीले उनको समूहको कार्यशैली, प्रयोग गरिएका सवारीसाधन, नक्कली नम्बर प्लेट र पछिल्ला लुटपाटका घटनाबीचको सम्बन्ध खोतलिरहेको छ।
माझीविरुद्धको आपराधिक अभिलेख २०७७ सालदेखि सुरु भएको प्रहरीको विवरणमा उल्लेख छ। त्यस वर्ष चोरी तथा डाँका कसुरमा तीन महिना कैद भुक्तान गरेर उनी कारागारबाट निस्केका थिए। त्यसपछि अर्को मुद्दामा अदालतले उनलाई थप छ महिना कैद सजाय सुनाएको थियो। उक्त मुद्दामा उनी फरार रहेको प्रहरीको भनाइ छ। पछि तोकिएको सजायसहित थप तीन महिना कैद भुक्तान गरेपछि उनी २०८२ वैशाखमा कारागारबाट छुटेका थिए।
कारागारबाट छुटेपछि भने उनी फेरि लुटपाटमा सक्रिय भएको प्रहरीको आरोप छ। प्रहरीको क्रिमिनल रेकर्ड सिस्टममा माझीविरुद्ध भक्तपुर, बनेपा र काठमाडौंमा विभिन्न मितिमा डाँका चोरीसम्बन्धी मुद्दा दर्ता भएको विवरण छ।
२०७९ भदौ २६ गते जिल्ला प्रहरी परिसर भक्तपुरबाट उनीविरुद्ध डाँका चोरीको मुद्दा चलेको थियो। त्यसपछि असोज ११ गते भक्तपुरमै दुईवटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको अभिलेखमा देखिन्छ। असोज २३ गते इलाका प्रहरी कार्यालय बनेपाबाट पनि उनीविरुद्ध डाँका चोरीको मुद्दा चलेको थियो।
२०८२ माघमा काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता हुने क्रम थप तीव्र भएको प्रहरीको विवरणले देखाउँछ। माघ १५ गते एउटा, माघ २० गते नौवटा र माघ २१ गते थप मुद्दा दर्ता भएको एसएसपी घिमिरेले बताएका छन्। त्यसपछि फागुन ४, ८ र ११ गते पनि काठमाडौं तथा ठिमीबाट डाँका चोरीसम्बन्धी मुद्दा चलेका थिए। विभिन्न मितिमा दर्ता भएका मुद्दाको कुल संख्या २७ पुगेको प्रहरीको भनाइ छ।
यी सबै मुद्दामा माझी दोषी ठहर भइसकेका छन् भन्ने अर्थ भने लाग्दैन। मुद्दा दर्ता हुनु, अभियुक्तका रूपमा अनुसन्धानमा तानिनु र अदालतबाट दोषी ठहर हुनु फरक कानुनी अवस्था हुन्। तर छोटो उमेरमै पटकपटक प्रहरी अनुसन्धान र मुद्दाको प्रक्रियामा परेको अभिलेखले उनको नाम प्रहरीको निगरानीमा रहनुको पृष्ठभूमि देखाउँछ।
माझीमाथि जेनजी आन्दोलनका क्रममा एटीएम बुथ लुटपाटमा समेत संलग्न रहेको आरोप प्रहरीले लगाएको छ। प्रहरीका अनुसार करिब नौ महिनाअघि काठमाडौं उपत्यकामा मोटरसाइकलमा समूह बनाएर हिँड्ने र सार्वजनिक सडकमा हिँडिरहेका व्यक्तिका गरगहना थुतेर भाग्ने गिरोह सक्रिय भएको थियो। उक्त समूहमा माझी मुख्य भूमिकामा रहेको प्रहरीको दाबी छ।
त्यतिबेला माझी समूहका १० जनालाई पक्राउ गरी प्रहरीले डाँका चोरीसम्बन्धी मुद्दा चलाएको थियो। पछि माझी धरौटीमा छुटेको र त्यसपछि पुनः लुटपाटमा संलग्न भएको प्रहरीको भनाइ छ।
समूहको कार्यशैलीमा पीडितलाई पहिलेबाटै चिन्ने वा लामो समय पछ्याउनेभन्दा उनीहरू एक्लै भएको समय र स्थानको फाइदा उठाउने तरिका देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले संकेत गर्छ। बिहान मर्निङवाकमा निस्केका व्यक्तिलाई बाटो सोध्ने बहाना बनाउने, राति वा बिहान एक्लै हिँडिरहेका व्यक्तिलाई मोटरसाइकलबाट घेर्ने र मौका पाउनेबित्तिकै सिक्री वा नगद खोसेर फरार हुने गरेको प्रहरीको दाबी छ।
त्यस्तै, इन्ड्राइभ वा पठाओको बहाना बनाएर पनि राति र बिहानको समयमा लुटपाट गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। चोरीका मोटरसाइकल प्रयोग गर्ने र लुटपाटपछि सवारीसाधन परिवर्तन गर्ने गरेको आरोप पनि समूहसँग जोडिएको छ।
प्रहरीका अनुसार यो समूहले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट १५ वटा मोटरसाइकल चोरी गरेको पाइएको छ। चोरीका मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरेर चलाउने र लुटपाटमा प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ। यसरी सवारीसाधन र नम्बर प्लेट परिवर्तन गर्दा घटनापछि लुटेराहरूको पहिचान गर्न कठिन हुन सक्ने भएकाले प्रहरीले बरामद सामग्रीलाई अनुसन्धानको महत्वपूर्ण पक्ष मानेको छ।
पछिल्लो एक साताभित्रका दुई घटनामा पनि यही समूहको संलग्नता रहेको प्रहरीको दाबी छ। असोज १४ गते राति करिब साढे १ बजे बौद्ध गेट नम्बर २ नजिकै तरकारी किन्न जाँदै गरेका महेन्द्रकुमार बललाई चार–पाँच जनाको समूहले लुटेको आरोप छ। उक्त समूहले बलसँग रहेको दुई लाख रुपैयाँ नगद र कागजात लुटेर लगेको प्रहरीको विवरणमा उल्लेख छ।
त्यसको अघिल्लो राति, असोज १३ गते काठमाडौंको डल्लु क्षेत्रमा अर्को लुटपाट भएको थियो। रमेश खड्गीले चलाएको बागमती प्रदेश ०१–०२९ च ९०६० नम्बरको बीवाईडी कारमा रहेका व्यक्तिको गलामा लगाइएको साढे तीन तोलाको सुनको सिक्री मोटरसाइकलमा आएका व्यक्तिले थुतेर लगेको प्रहरीको भनाइ छ।
यी घटनाको अनुसन्धानका क्रममा प्रहरीले माझी समूहको संलग्नता पहिचान गरेको जनाएको छ। तर घटनामा कसको प्रत्यक्ष भूमिका थियो र पक्राउ परेकामध्ये कसले कुन कसुर गरेको हो भन्ने विषय अनुसन्धान तथा कानुनी प्रक्रियाबाट स्पष्ट हुन बाँकी छ।
माझी पक्राउ परेपछि प्रहरीले दुईवटा मोटरसाइकल, लुटपाटमा प्रयोग भएको भनिएको एक थान खुकुरी, फरकफरक पाँच थान नम्बर प्लेट र घटनाका बेला लगाइएका कपडाहरू बरामद गरेको जनाएको छ। बरामद सामग्रीले विभिन्न घटनाबीच सम्बन्ध स्थापित गर्न मद्दत गर्ने अपेक्षा प्रहरीले गरेको छ।
जडीबुटीमा गोली प्रहार गरेर गरिएको पक्राउले अहिले माझीको समूहको गतिविधिमाथि अनुसन्धान अघि बढाएको छ। तर यस घटनाले उठाएको प्रश्न उनको उमेर र मुद्दाको संख्यामा मात्रै सीमित छैन—पहिले पनि कैद भुक्तान गरेका व्यक्ति फेरि शृंखलाबद्ध लुटपाटमा संलग्न भएको प्रहरीको दाबी किन दोहोरियो, चोरीका मोटरसाइकल र बदलिएका नम्बर प्लेट प्रयोग गरेर समूहले कसरी गतिविधि चलायो, र आन्दोलनका क्रममा लुटिएका हतियार खरिदको तयारीबारे प्राप्त सूचना कति पुष्टि हुन्छन?
यी प्रश्नको जवाफ प्रहरी अनुसन्धान, बरामद प्रमाण र अदालतमा प्रस्तुत हुने तथ्यले दिनुपर्नेछ। अहिलेका लागि प्रहरीको अभिलेखमा २७ मुद्दा रहेका २४ वर्षीय आयन माझी गोली लागेर पक्राउ परेका छन्। उनीमाथि लागेको आरोपको अन्तिम निरूपण भने न्यायिक प्रक्रियाबाटै हुनेछ।
लोकप्रिय
विद्यालयको बजेटदेखि लेखापाल नियुक्तिसम्म प्रश्नैप्रश्न, अख्तियारले तिलाठी कोइलाडीलाई थमायो कारबाहीको पत्र

