मासिक ३ लाख ३० हजारको भाडाको घरमा सुन प्रशोधन, चिनियाँ समूहबाट साढे २१ किलो बरामद

काठमाडौँ– काठमाडौंको बूढानीलकण्ठमा मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिरेर लिइएको घरमा चिनियाँ नागरिकहरूले सुन प्रशोधन गर्ने गरेको खुलेको छ। प्रहरीले उक्त घरमा छापा मार्दा २१ किलो ७५० ग्रामभन्दा बढी सुन, सुन गाल्ने मेसिन तथा अन्य उपकरण बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

प्रहरी स्रोतका अनुसार अमेरिका बस्ने विष्ट थरका व्यक्तिको घर गत साउनदेखि भाडामा लिएर सुनको कारोबार र प्रशोधनका लागि प्रयोग गरिएको थियो। घरको मासिक भाडा ३ लाख ३० हजार रुपैयाँ तय भएको र चार महिनाको भाडा अग्रिम बुझाइएको प्रारम्भिक विवरण छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोप्य सूचनाका आधारमा बिहीबार बूढानीलकण्ठ क्षेत्रमा कारबाही अघि बढाएको थियो। घरमा शंकास्पद गतिविधि भइरहेको र सुन लुकाएर राखिएको हुन सक्ने सूचना प्रहरीसम्म पुगेपछि टोली परिचालन गरिएको थियो।

प्रहरी टोली घरमा पुग्दा चिनियाँ नागरिकहरू गाडी लिएर निस्कन लागेका थिए। प्रहरीले गाडी रोकेर जाँच गर्दा करिब दुई किलो सुन फेला परेको प्रहरी स्रोतले जनाएको छ। त्यसपछि टोली घरभित्र प्रवेश गरेको थियो। घरमा थप सुन र प्रशोधनका उपकरण भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिइएको हो।

घरभित्रबाट बरामद सुनमध्ये १० किलो ९९७ ग्राम तयार अवस्थामा रहेका ११ वटा टुक्रामा थियो। बाँकी १० किलो ७५२ ग्राम सुन अर्धठोस अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ। दुवै अवस्थाको सुन जोड्दा कुल परिमाण २१ किलो ७५० ग्रामभन्दा बढी हुन्छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुन विभिन्न स्वरूपमा नेपाल भित्र्याएर उक्त घरमा प्रशोधन गर्ने गरिएको आशंका छ। अर्धठोस अवस्थामा ल्याइएको सुनलाई मेसिन र रसायन प्रयोग गरी गाल्ने तथा बिस्कुट आकारमा ढाल्ने गरिएको हुन सक्ने प्रहरीको भनाइ छ। बरामद उपकरणहरू सुन प्रशोधनमा प्रयोग भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

स्रोतका अनुसार पक्राउ परेका समूहका एक सदस्य सुरुमा नेपाल आएर यहाँको बजार र कारोबारको अवस्था बुझी चीन फर्किएका थिए। त्यसपछि अन्य दुई जना पनि नेपाल आएका थिए। उनीहरू पटक–पटक विमानस्थलबाट नेपाल आउने र बाहिरिने गरेको विवरणसमेत प्रहरीले अनुसन्धानको दायरामा राखेको छ।

सुन हङकङबाट हवाईमार्ग हुँदै नेपाल ल्याइएको हुन सक्ने प्रहरीको आशंका छ। तर सुनको वास्तविक स्रोत, नेपाल भित्र्याइएको मार्ग, कारोबारको सञ्जाल र यसको अन्तिम गन्तव्यबारे यकिन भइसकेको छैन। प्रशोधन गरिएको सुन भारततर्फ लैजाने तयारी थियो कि थिएन भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

घरधनीले घर भाडामा दिँदा त्यसको प्रयोगबारे कति जानकारी राखेका थिए भन्ने विषय पनि अनुसन्धानबाट स्पष्ट हुन बाँकी छ। घर भाडामा लिने प्रक्रिया, भाडा अग्रिम बुझाउने व्यक्तिको पहिचान तथा कारोबारमा अन्य नेपाली वा विदेशी व्यक्तिको संलग्नता छ कि छैन भन्नेबारे प्रहरीले थप विवरण संकलन गरिरहेको छ।

प्रहरीले बरामद सुनको स्रोत र कारोबारमा संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान जारी रहेको जनाएको छ। पक्राउ परेका व्यक्तिमाथिको आरोप र सुनको अवैध कारोबारमा उनीहरूको संलग्नता अनुसन्धान तथा कानुनी प्रक्रियाबाट पुष्टि हुन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट