जनकपुरमा पुरानो रिसइबीका कारण दुई युवकमाथि छाती र पेटमा छुरा प्रहार, एकको मृत्यु, अर्का गम्भीर

जनकपुर— पुरानो रिसइबीका कारण धारिलो हतियार प्रहार हुँदा धनुषाको जनकपुरमा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २२ वर्षीय मोहम्मद इर्साद खानलाई नियन्त्रणमा लिएको छ।

जनकपुरधाम उपमहानगरपालिका–५ रहिमपथ नजिक बिहीबार साँझ करिब सवा ७ बजे भएको घटनामा सोनारपट्टी दाहाचोकका २४ वर्षीय आमिन साफी र २५ वर्षीय इम्तियाज राइनमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। उपचारकै क्रममा आमिनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव अस्पतालको शवगृहमा राखिएको छ।

घटनामा गम्भीर घाइते भएका इम्तियाजको सोही अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी ओमप्रकाश खनालका अनुसार प्रारम्भिक अनुसन्धानमा पुरानो रिसइबीका कारण घटना भएको खुलेको छ। प्रहरीका अनुसार आरोपित खानले दुवै युवकको छाती र पेटमा धारिलो हतियार प्रहार गरेका थिए।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। आरोपित खानलाई नियन्त्रणमा लिएर घटनाको कारण, घटनाक्रम र संलग्नताबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीय युवाहरूले जनकपुरमा विरोध प्रदर्शन गर्दै संलग्न व्यक्तिमाथि कडा कारबाहीको माग गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट