चरित्रमाथि प्रश्न उठाउँदै प्रस्तावित राजदूत सुनारलाई सांसदको घेरावन्दी, रिजेक्ट हुनु भन्दा नाम फिर्ता लिन सुझाव
काठमाडौँ– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारलाई संसदीय सुनुवाइ समितिमै सांसदहरूले आफ्नो नाम फिर्ता लिन सुझाव दिएका छन्। महिला हिंसासम्बन्धी आरोप, आर्थिक लेनदेनको विवाद र जर्मनीबाट डिपोर्ट भएको भनिएको विषय उठाउँदै सांसदहरूले उनको नैतिक चरित्र र राजदूत पदका लागि योग्यतामाथि प्रश्न गरेका हुन्।
सुनारले भने आफूमाथिका आरोप अस्वीकार गर्दै १३ वर्ष पुरानो व्यक्तिगत विवादलाई अतिरञ्जित गरेर चरित्रहत्या गर्न खोजिएको दाबी गरेका छन्। बुधबार संसदीय सुनुवाइ विशेष समितिमा भएको सुनुवाइका क्रममा सांसदहरूले सुनारमाथि परेका उजुरी र सार्वजनिक रूपमा उठेका आरोपबारे प्रश्न गरेका थिए। केही सांसदले आरोपको प्रकृति गम्भीर रहेको भन्दै समितिले उनलाई अयोग्य ठहर गर्नुपर्ने अवस्था आउनुअघि नै आफैँ नाम फिर्ता लिनु उपयुक्त हुने धारणा राखे।
नेकपाका सांसद वर्षमान पुनले सुनारमाथि लागेका आरोप गम्भीर रहेको उल्लेख गर्दै जवाफभन्दा पनि नाम फिर्ता लिन सुझाव दिए। उनले महिला हिंसा, परिवारका सदस्यलाई यातना दिएको भनिएको विषय र अन्य विवादबारे प्रश्न उठाउँदै राजदूतजस्तो पदमा उच्च नैतिक चरित्र भएको व्यक्ति नियुक्त हुनुपर्ने बताए।
‘यस्तो गलत कुरामा अडिन राम्रो हुँदैन। मैले जवाफ पनि मागिरहेको छैन। तपाईं नाम फिर्ता लिनुस् भन्ने हो,’ पुनले भने। उनले आवश्यक परे आरोपसँग सम्बन्धित अडियो तथा भिडियोसमेत सुनाउन सकिने बताएका थिए। पुनले महिला हिंसासम्बन्धी विषयलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै सीमान्तकृत समुदायका पीडासमेत बेवास्ता गर्न नहुने धारणा राखे।
नेकपा एमालेकी सांसद पद्मा अर्यालले पनि प्रस्तावित राजदूतको नैतिक चरित्रमाथि प्रश्न उठाइन्। उनले राजदूत नियुक्तिका लागि उच्च नैतिक चरित्र आवश्यक पर्ने उल्लेख गर्दै सुनारमाथि उठेका आरोपको अवस्थामा उनलाई सिफारिस गर्न कठिन हुने धारणा राखिन्।
अर्यालले सुनारलाई लक्षित गर्दै अर्काको परिवार विखण्डन गर्न खोजेको, अनुचित आर्थिक लेनदेनमा संलग्न भएको र विवाहबाहिरको सम्बन्धसम्बन्धी आरोपबारे प्रश्न गरिन्। उनले यस्ता विषय उठिरहेको अवस्थामा नेपालका तर्फबाट विदेशमा प्रतिनिधित्व गर्ने व्यक्तिको नियुक्ति कसरी उचित ठहरिने भन्ने प्रश्न गरेकी थिइन्।
रास्वपाका सांसद प्रेम दंगालले पनि सुनारमाथि महिला हिंसासम्बन्धी गम्भीर आरोप रहेको र जर्मनीबाट डिपोर्ट भएको भनिएको विषयलाई नियुक्तिका लागि महत्वपूर्ण प्रश्नका रूपमा उठाए। उनले राष्ट्रिय दलित आयोगसँग सम्बन्धित कार्यक्रममा अनुवादकका रूपमा जर्मनी गएको बेला भिसा अवधिभन्दा बढी बसेको र त्यसपछि डिपोर्ट भएको आरोपबारे स्पष्टीकरण मागेका थिए।
दंगालले महिला हिंसासम्बन्धी घटनामा पीडित भनिएकी महिला आत्महत्याको अवस्थासम्म पुगेको दाबी गर्दै आरोपसँग सम्बन्धित प्रमाणको परीक्षण आवश्यक रहेको बताएका थिए। सांसद गजला समीम मिकरानीले पनि वर्षमान पुनले दिएको सुझावअनुसार सुनारले आफैँ नाम फिर्ता लिनु उपयुक्त हुने धारणा राखेकी थिइन्।
सुनुवाइका क्रममा रास्वपाका सांसद मधुकुमार चौलागाईंले महिला हिंसा र फौजदारी अभियोगमा मिलापत्र गरेको भनिएको विषयसँगै आर्थिक अनियमितताका आरोप पनि उठाएका थिए। उनले दलित अभियन्ताका रूपमा काम गर्दा करोडौँ रुपैयाँ असुल गरेको, नेपाल प्रहरीका अधिकारीको बढुवा र सांसद पद मिलाइदिने भन्दै रकम लिएको भनिएको आरोपबारे प्रश्न गरेका थिए। सुनारको राजनीतिक आबद्धता र जर्मनीबाट डिपोर्ट भएको भनिएको विषय पनि उनले उठाएका थिए।
सुनारले भने आफूमाथि महिला हिंसाको आरोप अस्वीकार गरेका छन्। उनले आरोप लगाउने महिलासँग १३ वर्षअघि प्रेम सम्बन्ध रहेको स्वीकार गर्दै सम्बन्धका क्रममा लेनदेनको विषयमा विवाद भएको र फोनमा भनाभन भएको बताएका छन्। उनका अनुसार, त्यो विवाद सन् २०१३ मै सकिएको थियो। अहिले त्यसलाई महिला हिंसाको आरोपका रूपमा उठाउनुको नियत के हो भन्ने प्रश्न उनले गरेका छन्।
‘म आफैँ महिला हिंसाविरुद्ध जनचेतना तालिम दिन्छु,’ सुनारले सुनुवाइका क्रममा भने। उनले पाँच हजारभन्दा बढी महिलालाई महिला हिंसाविरुद्धको तालिम दिएको र महिला अधिकार तथा सशक्तीकरणका विषयमा विभिन्न पत्रपत्रिकामा लेख लेखेको दाबी गरे। महिला बेचबिखन र महिला सुरक्षासम्बन्धी विषयमा समेत आफूले लेखेको उनको भनाइ थियो।
सुनारले आफूविरुद्ध कुनै प्रहरी कार्यालयमा जाहेरी दर्ता नभएको, पक्राउ पुर्जी जारी नभएको र फौजदारी मुद्दा नचलेको दाबी गरे। ओशो तपोवनसम्बन्धी विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दा हारेपछि आरोप लगाउने महिलाले आफूविरुद्ध प्रतिशोध साँधेको उनको आरोप छ।
उनले आफूले काम गर्दै आएका संस्थामा पनि आरोपका कारण समस्या भएको बताए। कान्तिपुर टेलिभिजनमा अन्तर्वार्ता दिएपछि ती महिलाले सामाजिक सञ्जालमा आफूलाई गाली गरेको र महिला आयोग, केयर नेपाल तथा कुमारी बैंकसँग सम्बन्धित तालिमका काममा अवरोध पु¥याएको उनको दाबी थियो। काठमाडौं पोस्ट र माइ रिपब्लिकामा आफ्ना लेख प्रकाशित हुन रोकिएको पनि उनले बताएका छन्।
आफू दलित र गैरदलितबीचको अन्तरजातीय विवाहसम्बन्धी विषयमा विद्यावारिधि गरिरहेको उल्लेख गर्दै सुनारले आफूमाथि गलत आरोप लगाइएको जिकिर गरे। उनले आफ्नो चरित्रहत्या गरिएको र त्यसको असर परिवारका सदस्यले समेत भोग्नुपरेको बताए।
‘म पनि बाँच्नुपर्ला। मेरो चरित्रहत्या गरिएको छ। मेरा वृद्ध बुवाआमा, श्रीमती र बहिनीले कसरी सहनुभएको होला?’ उनले प्रश्न गरे। आफूले गलत काम गरेको वा आर्थिक लेनदेनमा अनियमितता गरेको प्रमाण भए पेस गर्न चुनौती दिँदै उनले प्रमाणका आधारमा सजाय भोग्न तयार रहेको बताए।
राजदूत नियुक्तिका लागि प्रस्तावित व्यक्तिको सुनुवाइमा सार्वजनिक पदको योग्यता, नैतिक आचरण र विश्वसनीयताबारे प्रश्न उठ्नु स्वाभाविक हो। महिला हिंसासम्बन्धी आरोप, आर्थिक लेनदेन र डिपोर्ट भएको भनिएको घटनालाई छुट्टाछुट्टै तथ्य तथा प्रमाणका आधारमा परीक्षण गर्नुपर्ने हुन्छ।
अब समितिसामु मुख्य प्रश्न सुनारले नाम फिर्ता लिन्छन् वा लिँदैनन् भन्ने मात्र होइन। उनीमाथि उठेका आरोपको प्रमाणगत अवस्था के छ, उनको जवाफ कति अभिलेखबाट पुष्टि हुन्छ र राजदूत पदका लागि आवश्यक नैतिक तथा कानुनी मापदण्ड पूरा हुन्छन् कि हुँदैनन् भन्ने विषयमा समितिले निष्पक्ष निष्कर्ष दिनुपर्नेछ।

