‘तेरो रगत खान्छु’ भन्दै अश्लिल गाली गरेकी महिलाको पक्षमा सुनारको हुंकार, संवेदनशीलता कि ड्यामेज कन्ट्रोल?
काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार आफूसँग जोडिएको विवादमा एक महिलामाथि भइरहेको भनिएको मिडिया ट्रायल र सामाजिक दुव्र्यवहारको विरोध गरिरहेका छन्। महिलाको प्रतिष्ठा र गोपनीयताको पक्षमा उभिँदै उनले आफूमाथि निष्पक्ष छानबिन गर्न र दोषी प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताएका छन्।
तर, सुनारसँग जोडिएका चार वर्षअघिदेखिका कुटपिटका आरोपसमेत फेरि चर्चामा आएपछि उनको अहिलेको अभिव्यक्तिमाथि अर्को प्रश्न उठेको छ—यो महिलाको सम्मानप्रतिको वास्तविक संवेदनशीलता हो वा आफूमाथि उठेको विवादको राजनीतिक क्षति कम गर्ने रणनीति?
सुनारले बुधबार साँझ फेसबुकमार्फत प्रतिक्रिया दिँदै आफूमाथि लागेका आरोपको निर्मम छानबिन गर्न माग गरेका छन्। आवश्यक परे प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन वा बर्खास्त गर्नसमेत तयार रहेको उनको भनाइ छ। उनले आफूले गरेका भनिएका गल्ती प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै पार्टी र सरकार आफूलाई जोगाउन लाग्नुपर्ने आवश्यकता नरहेको बताएका छन्।
तर, उनको प्रतिक्रियाको ठूलो हिस्सा आफूसँग जोडिएकी महिलामाथि भइरहेको भनिएको प्रचार र दुव्र्यवहारको विरोधमा केन्द्रित छ। उनले महिलाको तस्बिर, अडियो र भिडियो जोडेर अतिरञ्जित प्रचार गरिएको दाबी गर्दै त्यसलाई अस्वीकार्य बताएका छन्। कुनै गल्ती भएको भए महिलाको पहिचान गोप्य राखेर आफूमाथि कानुनी अनुसन्धान र कारबाही हुनुपर्ने उनको तर्क छ।
‘राजनीतिक, सामाजिक रूपमा काम गरिरहेकी एक निर्दोष महिलामाथि जुन ढङ्गबाट मिडिया ट्रायल, अतिरञ्जित प्रचार, अनावश्यक फोटो, अडियो, भिडियो जोडी टीकाटिप्पणी गरिएको छ, यो कदापि स्वीकार्य छैन,’ सुनारले लेखेका छन्।
उनले आफूमाथि प्रश्न उठेकै कारण पार्टीका सदस्य, शुभचिन्तक र मतदाताले शिर झुकाउनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै आवश्यक परे आफूलाई पदबाट हटाउनसमेत आग्रह गरेका छन्। ‘म र मैले गरेको कुनै पनि कुकर्मको पार्टी, सरकार सती जान पर्दैन,’ उनको भनाइ छ।
सुनारको सार्वजनिक अडान स्पष्ट छ—उनीमाथि प्रश्न उठाउन पाइन्छ, छानबिन हुनुपर्छ र दोष प्रमाणित भए सजाय स्वीकार गर्छन्। तर, यही अडानलाई उनीसँग जोडिएका पुराना आरोपको सन्दर्भमा पनि जाँच्नुपर्ने प्रश्न उठेको छ।
सुनारसँग जोडिएको भनिएको फोन संवाद सार्वजनिक भएपछि अहिलेको विवाद चर्किएको हो। उक्त संवादको प्रामाणिकता र पूर्ण सन्दर्भ भने स्वतन्त्र रूपमा पुष्टि भएको छैन। सुनारले मात्र होइन, सम्बन्धित महिलाले पनि अडियोमा सुनिएको आवाज आफ्नो नभएको बताएकी छिन्। जसमा महिलामाथि ‘तेरो रगत खान्छु’ भन्दै अश्लिलत गाली गरिएको छ भने उनका बालक छोरालाई पनि ‘बाउको ठेगान नभएको’ अभद्र व्यवहार गरिएको छ।
विवादको पृष्ठभूमि भने चार वर्षअघिसम्म पुग्छ। त्यसबेला नेपाली कांग्रेसको समानुपातिकतर्फबाट बागमती प्रदेशसभा सदस्य बनेकी र तत्कालीन प्रदेश सरकारमा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी एक महिलामाथि सुनारले कुटपिट गरेको आरोप लागेको थियो। घटनाका जानकार स्रोतहरूका अनुसार, काठमाडौंको सीतापाइला क्षेत्रस्थित शरणपुरमा रहेको महिलाको निवासमा लेनदेनसम्बन्धी विवादका क्रममा कुटपिट भएको आरोप लागेको थियो।
महिलाको सुरक्षामा खटिएकी प्रहरी कर्मचारीले उनको शरीरमा चोट देखेपछि प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयलाई जानकारी गराएकी थिइन्। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख एसएसपी सुदीप गिरीको निर्देशनमा प्रहरी वृत्त स्वयम्भूको टोली घटनास्थल पुगेको र सुनारलाई नियन्त्रणमा लिएको थियो। त्यतिबेला प्रहरी वृत्त स्वयम्भूको नेतृत्व डीएसपी मिलन केसीले गरिरहेका थिए।
स्रोतका अनुसार, पक्राउपछि सुनारलाई प्रहरी हिरासतमा राखिएको थियो। केही समयपछि घाइते अवस्थामा रहेकी भनिएकी महिला प्रहरी कार्यालय पुगेकी थिइन् र सुनारलाई आफ्नो जिम्मामा छाडिदिन आग्रह गरेकी थिइन्। त्यसपछि जिल्ला प्रहरीको निर्देशनमा दुवै पक्षबीच मिलापत्रको कागज तयार पारिएपछि सुनार रिहा भएको स्रोतले जनाएको छ।
सीतापाइला घटनापछि चितवनको सौराहामा पनि सुनारले ती महिलामाथि कुटपिट गरेको आरोप छ। स्रोतका अनुसार, उक्त घटनापछि महिलाको अनुहार सुन्निएको थियो र उनी करिब एक सातासम्म मन्त्रालय नगएको दाबी गरिएको छ।
अहिले सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन माग गरेका छन्। प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आफूलाई पटक–पटक भेट्न बोलाएको र अरुलाई उकासेर आफु विरुद्ध मुद्दा हाल्न भनेको उनको दाबी छ। अन्याय भएको भए आफैं मुद्दा हाल्ने बताएको केही दिनपछि धम्की आएको र त्यसपछि अहिलेको घटनाक्रम सुरु भएको पनि उनले बताएका छन्।
यस प्रकरणमा महिलाको गोपनीयता र सम्मानको प्रश्नलाई बेवास्ता गर्न मिल्दैन। कुनै महिलाको निजी संवाद, तस्बिर वा पहिचानलाई अनावश्यक रूपमा सार्वजनिक गरेर उनलाई सामाजिक दबाबमा पार्नु उचित हुँदैन। तर, महिलाको गोपनीयताको संरक्षण र सुनारमाथि उठेका आरोपको निष्पक्ष छानबिन एकअर्काका विपक्षी विषय होइनन्। दुवै कुरा एकैसाथ सुनिश्चित गर्न सकिन्छ।
त्यसैले मुख्य प्रश्न सुनारले महिलाको पक्षमा बोल्न पाउँछन् कि पाउँदैनन् भन्ने होइन। प्रश्न हो—महिलाको सम्मान र सुरक्षाको पक्षमा उनले अहिले राखेको मापदण्ड आफूसँग जोडिएका विगतका आरोपमा पनि लागू हुन्छ कि हुँदैन? आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन माग गर्ने व्यक्तिले पुराना घटनासम्बन्धी अभिलेख खोज्ने र ती आरोपको पनि निष्पक्ष परीक्षण गर्ने प्रक्रियालाई समर्थन गर्नुपर्छ कि पर्दैन?
अहिलेको विवादको निष्कर्ष सामाजिक सञ्जालका पोस्ट वा अपुष्ट अडियोबाट होइन, सुनारसँग जोडिएको भनिएको संवादको प्राविधिक परीक्षण, चार वर्षअघिका घटनासम्बन्धी प्रहरी अभिलेख र सबै पक्षको प्रतिक्रियाबाट खोजिनुपर्छ। महिलाको गोपनीयता जोगिनुपर्छ, आरोपको निष्पक्ष छानबिन हुनुपर्छ र राजनीतिक पद वा पहुँचका आधारमा कसैले उन्मुक्ति पाउनु हुँदैन।
सुनारले आफूमाथि प्रश्न उठाउन पाइने बताएका छन्। त्यसैले उनको सार्वजनिक अडानलाई पनि प्रश्न गर्न सकिन्छ— तर त्यो प्रश्नको उत्तर आरोपको प्रचारबाट होइन, प्रमाण र जवाफदेहिताबाट खोजिनुपर्छ।

