‘बाउको ठेगान नभएको’ र ‘खाते’ भन्दै बालकमाथि गालीको वर्षा, किन छायाँमा पर्यो बालअधिकारको प्रश्न ?

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडियोको सत्यतामाथि बहस भइरहेका बेला त्यसमा एक नाबालकलाई ‘बाउको ठेगान नभएको’ र ‘खाते’ भन्दै अपमान गरिएको प्रसङ्ग भने ओझेलमा परेको छ। महिलामाथि गरिएको अश्लील टिप्पणी र धम्की जति गम्भीर विषय हुन्, वयस्कहरूबीचको विवादमा बालकलाई अपमानको पात्र बनाइएको विषय पनि उत्तिकै गम्भीर छ।

अडियोमा सुनिएको अभिव्यक्ति सत्य ठहरिए यो महिलाको प्रतिष्ठामाथिको प्रहारमा मात्र सीमित रहने छैन। यसले बालकको आत्मसम्मान, मर्यादा र अधिकारमाथि समेत प्रश्न उठाउनेछ। वयस्कहरूबीचको सम्बन्ध, पारिवारिक जटिलता वा आर्थिक विवाद जेसुकै भए पनि त्यसको आक्रोश नाबालकमाथि पोख्नुको औचित्य के हो?

यद्यपि, विवादको केन्द्रमा रहेको अडियोको प्रामाणिकता स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन। सुनारले अडियो आफ्नो नभएको र एआईलगायतका प्रविधि प्रयोग गरेर बनाइएको दाबी गरेका छन्। सम्बन्धित महिलाले पनि अडियोमा सुनिएको आवाज आफ्नो नभएको बताएकी छिन्। त्यसैले अडियोमा सुनिएको संवादलाई प्रमाणित तथ्यका रूपमा प्रस्तुत गर्न मिल्दैन। यसको सत्यता प्राविधिक परीक्षण र सम्बन्धित पक्षका भनाइबाट स्थापित हुनुपर्छ।

तर, अडियोको सत्यतामाथिको विवादले त्यसमा बालकमाथि अपमान गरिएको विषयलाई बेवास्ता गर्ने आधार दिँदैन। घट्ना सही ठहरिए बालकको जन्म, पारिवारिक अवस्था वा सामाजिक पृष्ठभूमिलाई गालीको विषय बनाइएको देखिन्छ। यी कुनै पनि कुरा बालकको छनोट होइनन्। वयस्कहरूको विवादमा बालकलाई तान्नु र उसको पहिचानलाई अपमानको माध्यम बनाउनु सामान्य गालीगलौजको विषय मात्र होइन।

यो प्रकरणमा जोडिएकी महिला विगतमा नेपाली कांग्रेसबाट बागमती प्रदेशसभा सदस्य बनेकी र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी व्यक्ति हुन्। उनको राजनीतिक यात्रासँगै प्रकाशशरण महतसँगको सम्बन्ध, खगेन्द्र सुनारसँगको निकटता र पारिवारिक पृष्ठभूमिबारे विभिन्न विवरण सार्वजनिक भइरहेका छन्। तर, ती विवरणमध्ये केही निजी र संवेदनशील छन्।

स्रोतका अनुसार, ती महिला नुवाकोटको पञ्चकन्या गाउँपालिकाकी बासिन्दा हुन् र पारिवारिक जटिलताका कारण काठमाडौंमा बस्दै आएकी थिइन्। उनले आफ्नै भिनाजुसँग विवाह गरेको तथा त्यसपछि दिदीसँगको सम्बन्धमा तनाव उत्पन्न हुँदा गाउँमा बस्न असहज भएको स्रोतको दाबी छ।

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महत र ती महिला एउटै गाउँका बासिन्दा रहेको तथा महतको सहजीकरणमा उनले सुरुका दिनमा एउटा गैरसरकारी संस्थामा जागिर पाएको स्रोतको भनाइ छ।

ती महिला २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको समानुपातिक बन्दसूचीमा परेकी थिइन्। त्यसपछि उनी बागमती प्रदेशसभा सदस्य बनिन्। २०७८ कात्तिक ११ गते तत्कालीन नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसको दुई महिनापछि, पुस ९ गते मन्त्रिपरिषद् विस्तार हुँदा ती महिला स्वास्थ्य राज्यमन्त्री नियुक्त भएकी थिइन्।

उनको राजनीतिक यात्रामा प्रकाशशरण महतको भूमिका कस्तो थियो भन्ने प्रश्न उठ्न सक्छ। तर, राजनीतिक नियुक्ति र व्यक्तिगत सम्बन्धबारेका दाबीलाई प्रमाणबिना निष्कर्षमा पु¥याउन मिल्दैन। त्यसैगरी, विवादित अडियोमा महतको नाम लिइएकै आधारमा उनलाई कुनै गलत कार्यमा संलग्न ठहर गर्न सकिँदैन।

यता, सुनार र ती महिलाबीचको निकटता उनी राज्यमन्त्री नियुक्त हुनुअघिदेखि नै थियो। उनीहरूबीच श्रीमान–श्रीमतीको सम्बन्ध रहेको पनि स्रोतको दाबी छ। सार्वजनिक भएको अडियोका केही अंशमा पुरुष आवाजले महिलालाई राजनीतिक पदबाट राजीनामा दिन, रकम उपलब्ध गराउन र सम्बन्धविच्छेदको प्रक्रिया अघि बढाउन दबाब दिएको सुनिन्छ।

त्यस्तै, अडियोमा प्रकाशशरण महतको नाम लिएर महिलाको राजनीतिक पदलाई कथित यौनसम्बन्धसँग जोड्दै अपमानजनक टिप्पणी गरिएको छ। महिलाले आफूले लामो समयदेखि कुटपिट, मानसिक यातना र ज्यान मार्ने धम्की भोगेको दाबी गरेकी छिन्।

विवाद सार्वजनिक भएपछि रास्वपाको अनुशासन आयोगले सुनारमाथि महिला हिंसा, ज्यान मार्ने धम्की र बालबालिकासम्बन्धी विषयलाई समेत समेटेर छानबिन अघि बढाएको जनाएको छ। आयोगले सुनारसँग २४ घण्टाभित्र लिखित जवाफ मागेको र उनले जवाफ पठाएको आयोगका सदस्यहरूले बताएका छन्।

आयोगका एक सदस्यले अडियोमा सुनिएको आवाजबारे आफूहरूलाई शंका नरहेको बताएका छन्। तर, यो आयोगका सदस्यको प्रारम्भिक धारणा हो, प्राविधिक परीक्षणबाट स्थापित निष्कर्ष होइन। सुनारले भने अडियो आफ्नो नभएको र एआईबाट बनाइएको दाबी गरेका छन्।

आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले आवश्यक परे मूल अडियो तथा भिडियो मगाएर त्यसको विश्वसनीयता परीक्षण गर्ने बताएका छन्। त्यसैले आरोप, आयोगका सदस्यको प्रारम्भिक धारणा र प्राविधिक परीक्षणबाट आउने निष्कर्षलाई अलग–अलग राखेर हेर्नुपर्छ। सुनारमाथि लागेका आरोपको निरूपण प्रमाण र सम्बन्धित पक्षका भनाइका आधारमा हुनुपर्छ।

यस प्रकरणमा महिलाको निजी जीवन, राजनीतिक यात्रा र व्यक्तिगत सम्बन्धबारे बहस भइरहँदा उनको नाबालक छोरामाथि अपमान गरिएको विषय पनि छानबिनको दायरामा आउनुपर्छ। बालकको पारिवारिक पृष्ठभूमिलाई विवादको सामग्री बनाउने वा वयस्कहरूबीचको आरोप–प्रत्यारोपमा उसलाई दोषीझैँ प्रस्तुत गर्ने छुट कसैलाई हुनु हुँदैन।
अडियो वास्तविक भए त्यसमा सुनिएका अपमान, धम्की र दबाबका लागि जिम्मेवार को हो भन्ने छानबिनबाट स्पष्ट हुनुपर्छ। अडियो कृत्रिम रूपमा बनाइएको भए त्यसको स्रोत, निर्माणमा संलग्न व्यक्ति र उद्देश्य पनि पत्ता लगाउनुपर्छ। दुवै अवस्थामा बालकमाथि अपमान गरिएको विषयलाई मूल विवादको छायामा हराउन दिनु हुँदैन।

वयस्कहरूबीचको सम्बन्ध र राजनीतिक विवाद जस्तोसुकै भए पनि बालक त्यसको दोषी होइन। त्यसैले यस प्रकरणमा एउटा प्रश्न स्पष्ट रूपमा उठ्छ—अडियोको सत्यता जाँचिँदै गर्दा त्यसमा अपमान गरिएको नाबालकको मर्यादा र अधिकारलाई कसरी सुनिश्चित गरिँदै छ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट