देवानगञ्जमा एक युवकलाई गोली हानेर भारतीय सीमा क्षेत्रमा लुकेर बसेका पाँच जना पक्राउ

इनरुवा— सुनसरीको देवानगञ्जमा गोली प्रहार गरी एक युवकलाई घाइते बनाएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। घटनापछि फरार रहेका उनीहरू नेपाल–भारत सीमा क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।

गत असोज ३ गते साँझ देवानगञ्ज गाउँपालिका–१, मध्येहर्षाहीस्थित लक्ष्मीनारायण मन्दिर नजिक गोली प्रहार भएको थियो। गोली लागेर स्थानीय पल्टन भन्ने रामदेव यादवका २४ वर्षीय छोरा निरजकुमार यादव घाइते भएका थिए।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव, २६ वर्षीय जयकृष्ण यादव, करिब २७ वर्षीय कुन्दन यादव, २६ वर्षीय रणधिर यादव र २३ वर्षीय सुशील यादव छन्।

सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लका अनुसार घटनामा संलग्न रहेको आरोप लागेका पाँचै जनालाई नेपाल–भारत सीमा क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए।

गोली प्रहारको कारण, घटनामा पक्राउ परेका व्यक्तिहरूको भूमिका र घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट