प्याडभित्र लागुऔषध बोकेर विराटनगर कारागारमा आफन्त भेट्न पुगेका दिदीबहिनी पक्राउ

विराटनगर— मोरङ जिल्ला कारागारमा रहेका आफन्तलाई भेट्न पुगेका दुई दिदीबहिनीको साथबाट ४८० थान शंकास्पद लागुऔषध ट्याब्लेट बरामद भएको छ। कारागारको मुख्य प्रवेशद्वारमा खटिएको सुरक्षा टोलीले नियमित जाँच गर्ने क्रममा भित्री वस्त्रमा प्रयोग हुने प्याडभित्र लुकाइएको अवस्थामा ट्याब्लेट फेला पारेको हो।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–११ निवासी मेलिना तामाङ र पूर्णिमा तामाङ छन्। सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार उनीहरू दिदीबहिनी हुन्।

बिहीबार दिउँसो विराटनगर महानगरपालिका–८, हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा सुरक्षा जाँचका क्रममा उनीहरू शंकास्पद देखिएपछि थप जाँच गरिएको थियो। त्यसक्रममा प्याडभित्र लुकाएर ल्याइएका ट्याब्लेट फेला परेको एसपी भण्डारीले बताए।

उनका अनुसार उनीहरूको साथबाट हरियो रङका २४० थान क्याप्सुल र सुन्तला रङका २४० थान ट्याब्लेट गरी कुल ४८० थान बरामद भएको छ। बरामद सामग्रीसहित दुवै महिलालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको टोलीलाई बुझाइएको जनाइएको छ।

बरामद ट्याब्लेट कुन प्रकारका हुन् र तिनमा कुन पदार्थ मिसाइएको छ भन्नेबारे प्रहरीले विवरण सार्वजनिक गरेको छैन। कारागारभित्र रहेका आफन्तलाई भेट्न जाने क्रममा ती सामग्री किन र कसका लागि लगिएको थियो भन्ने विषय पनि अनुसन्धानको दायरामा रहनेछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट