न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर बाबु थापा जेलबाट भागेको १३ महिनापछि पेस्तोल र गोलीसहित पक्राउ

सर्लाही— सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा जन्मकैदको सजाय भोगिरहेका मेघराज भन्ने बाबु थापा जेलबाट फरार भएको करिब १३ महिनापछि सर्लाहीस्थित आफ्नै घरबाट पक्राउ परेका छन्।

जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका ४८ वर्षीय थापा बुधबार राति पक्राउ परेका हुन्। प्रहरीले उनको साथबाट दुई थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरेको छ।

सर्लाहीको बागमती नगरपालिका–१ निवासी थापा घरमा सुतिरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताएका छन्। इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार थापा जेलबाट भागेपछि विभिन्न ठाउँमा लुकेर बसेका थिए। पछिल्लो पटक घर पुगेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट ‘मेड इन युएसए’ लेखिएको एउटा पेस्तोल, नाम नखुलेको अर्को पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

थापालाई बरामद हातहतियारसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ। उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइने डीएसपी राईले बताएका छन्।

थापा न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका प्रतिवादी हुन्। २०६९ जेठ १८ गते ललितपुरस्थित यूएन पार्क क्षेत्रमा गोली प्रहार गरी न्यायाधीश बमको हत्या गरिएको थियो। उक्त घटनामा बाबु थापालाई मुख्य योजनाकारका रूपमा प्रहरीले प्रस्तुत गरेको थियो।

प्रहरीको २०७१ सालको अनुसन्धानअनुसार चुरेभावर राष्ट्रिय पार्टीभित्रको विवाद र सर्वोच्च अदालतको फैसलाप्रतिको असन्तुष्टि हत्याको कारण बनेको थियो। पार्टीको अध्यक्ष पदसम्बन्धी विवादमा निर्वाचन आयोगले थापा समूहलाई वैधानिकता दिएको थियो। त्यसविरुद्ध तत्कालीन अध्यक्ष केशव मैनाली सर्वोच्च अदालत पुगेका थिए। न्यायाधीश बमको एकल इजलासले थापा समूहलाई वैधानिकता दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

तत्कालीन प्रहरी अनुसन्धानका अनुसार उक्त फैसलाले आफ्नो राजनीतिक भविष्यमा असर पारेको ठानेर थापाले हत्याको योजना बनाएका थिए। प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणमा थापासहित करण चौधरी, सञ्जय इस्माली मगर र अन्य व्यक्तिको संलग्नता उल्लेख गरिएको थियो। हत्याको घटनामा न्यायाधीश बमसँगै रहेका राम गिरीसमेत गोली लागेर घाइते भएका थिए।

थापा यसअघि २०७१ पुस १८ गते पक्राउ परेका थिए। प्रहरीले त्यसबेला घटनामा संलग्न व्यक्तिहरूलाई सर्लाही र जनकपुरबाट नियन्त्रणमा लिएको थियो। अनुसन्धानपछि उनीविरुद्ध मुद्दा चलेको र अदालतले जन्मकैदको सजाय ठहर गरेको थियो।

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थापा अहिले हातहतियारसहित पक्राउ परेपछि उनीमाथि नयाँ कसुरमा समेत अनुसन्धान अघि बढ्ने भएको छ। प्रहरीले बरामद हतियारको स्रोत र फरार अवधिमा थापा कहाँ–कहाँ बसे भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट