मोरङमा गाँजा तस्करीको आशंकामा प्रहरीले गोली चलायो, दुई भारतीय नागरिक पक्राउ
विराटनगर— मोरङको रतुवामाईमा गाँजा लिएर भारततर्फ जाँदै गरेको आशंकामा प्रहरीले गोली प्रहार गरी दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। गोली लागेर एक जना घाइते भएका छन्। प्रहरीले उनीहरूबाट करिब १०० किलो गाँजा बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रतुवामाई नगरपालिका–५, गोबिन्दपुरस्थित बक्रा खोलाको बगरबाट असोज २९ गते दिउँसो ८ वटा सेतो बोरामा लुकाएर राखिएको २६४.५९ किलो गाँजा बेवारिसे अवस्थामा बरामद भएको थियो।
सोही स्थानमा पुनः गाँजाको कारोबार हुन सक्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले राति गस्ती गरिरहेको थियो। राति करिब सवा ९ बजे केही व्यक्ति गाँजा लिएर भारततर्फ जाँदै गरेको देखेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो।
प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्दा उनीहरू भारततर्फ भाग्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि नरोकेपछि थप एक राउन्ड गोली चलाइएको थियो। गोली लागेर भारतको अररिया जिल्ला, जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन्। उनको घुँडामुनि पिँडुलामा गोली लागेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
घाइते चौधरीसँगै भारतको अररिया जिल्ला, महगामा ग्राम पञ्चायत, थाना–४ का ५० वर्षीय राजेन्द्र प्रसाद यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूबाट करिब १०० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
यसअघि सोही स्थानबाट बरामद भएको २६४.५९ किलो गाँजा र पक्राउ परेका व्यक्तिबाट बरामद करिब १०० किलो गाँजा एउटै कारोबारसँग सम्बन्धित छन् वा छुट्टाछुट्टै हुन् भन्ने विषय प्रहरीले स्पष्ट पारेको छैन।
नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए। गाँजाको स्रोत, ओसारपसारमा संलग्न अन्य व्यक्ति तथा घटनाको विस्तृत विवरणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

