टाइगर श्राफको कारमा गोली चलाउने आरोपितकी आमाको दाबीः ‘प्रलोभनमा पारेर छोरालाई फसाइयो’
काठमाडौँ– बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली चलाएको घटनामा पक्राउ परेका आरोपितमध्ये एककी आमाले आफ्नो छोरालाई प्रलोभनमा पारेर आपराधिक गतिविधिमा संलग्न गराइएको दाबी गरेकी छिन्।
आरोपित रेहानकी आमा शमशिदाले आफ्नो छोरा काम सिक्ने र राम्रो कमाइ गर्ने आश्वासनमा परेर गलत व्यक्तिहरूको सम्पर्कमा पुगेको बताएकी हुन्। उनले केही व्यक्तिले युवाहरूलाई प्रलोभन र दबाबमा पारेर आपराधिक गतिविधिमा प्रयोग गरिरहेको आरोपसमेत लगाएकी छिन्।
शमशिदाका अनुसार केही दिनअघि एक व्यक्ति उनको घरमा आएर रेहानलाई आफूसँगै लिएर गएका थिए। त्यसपछि करिब २० दिनसम्म छोरासँग सम्पर्क हुन नसकेको उनले बताइन्। छोराको मोबाइल फोनसमेत खोसिएको र आफूहरूले फोन गर्दा स्वीच अफ आउने गरेको उनको भनाइ छ।
परिवारलाई आर्थिक सहयोग गर्न रेहान गुरुग्राममा वेल्डिङको काम सिकिरहेको शमशिदाले बताएकी छिन्। उनका अनुसार बिहारका एक युवकले आफ्ना भाइले गुरुग्राममा वेल्डिङको काम गर्ने र रेहानलाई पनि काम सिकाउने भन्दै लगेका थिए। राम्रो पैसा कमाउन सकिने आश्वासन दिएर छोरालाई लगिएको उनको दाबी छ।
छोरालाई घरबाट लैजाने व्यक्तिलाई आफूले नचिनेको बताउँदै शमशिदाले रेहानलाई नशालु पदार्थ खुवाइएको हुन सक्ने आशंकासमेत व्यक्त गरेकी छिन्। यद्यपि, उनलाई नशालु पदार्थ खुवाइएको वा दबाबमा पारेर गोलीकाण्डमा संलग्न गराइएको भन्ने विषय स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले युवाहरूलाई प्रलोभनमा पारेर गलत काममा प्रयोग गर्ने समूह सक्रिय रहेको आरोप लगाइन्। छोरालाई कुनै सन्देश दिन चाहनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘म भन्नेछु, छोरा, तिमीले जे ग¥यौ त्यो ठीक थिएन र कसैको प्रलोभन वा प्रभावमा कहिल्यै पर्नु हुँदैन।’
रेहानका बुबा रईसुद्दिनले भने छोराको गलत संगतका कारण उनी गोलीकाण्डमा संलग्न हुन पुगेको आरोप लगाएका छन्। उनका अनुसार रेहान यसअघि पनि हातहतियारसम्बन्धी मुद्दामा पक्राउ परेका थिए र पछि जमानतमा छुटेका थिए। रईसुद्दिनका अनुसार केही महिनाअघि बन्दुकसम्बन्धी मुद्दामा पक्राउ परेका रेहानको जमानतको व्यवस्था उनकी आमाले गरेकी थिइन्।
रेहानले कक्षा ९ मा पढ्दापढ्दै विद्यालय छाडेको र विगत १० वर्षदेखि आफूबाट अलग रहेर आमासँग देवदु गाउँमा बस्दै आएको पनि रईसुद्दिनले बताएका छन्। आमाले छोरालाई प्रलोभनमा पारेर फसाइएको दाबी गरेकी छन् भने बुबाले गलत संगतलाई घटनाको कारण मानेका छन्।
प्रहरीका अनुसार आइतबार साँझ करिब ७ बजे मुम्बईको जुहु क्षेत्रमा मोटरसाइकलमा आएका तीन जना आक्रमणकारीले टाइगर श्राफको कारमाथि गोली चलाएका थिए। घटनामा अभिनेता श्राफलाई सामान्य चोटपटक लागेको थियो भने उनका चालक र अर्का एक सर्वसाधारण घाइते भएका थिए।
घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै हरियाणाको सोनीपतका दुई जना र बिहारका २२ वर्षीय ऋतिक कुमार उर्फ रोशन रामु महतोसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको भूमिका र गोली प्रहारको उद्देश्यबारे अनुसन्धान गरिरहेको छ।

