बाढीमा बेपत्ता बाबु पर्खिरहेका साढे ४ वर्षीय बालकको प्रश्न– ‘दशमीयोमे पापा घर किया नइँ एलै?’, भक्कानिन्छ परिवार

राजविराज- गाउँमा दसैंको रौनक छ। घरघरमा टीका, जमरा र पारिवारिक भेटघाटको खुसी छ। तर सप्तरीको विष्णुपुर गाउँपालिका–१, खुरहुरियास्थित हरिनारायण यादवको घरमा भने चाडपर्वको कुनै उत्साह छैन। न घरमा मिठोमसिनो पाकेको छ, न दैलोमा आफन्तको चहलपहल छ। त्यहाँ छ त केवल प्रतीक्षा—भोटेकोशीको बाढीमा बेपत्ता भएका छोरा अजयकुमार यादव फर्किने प्रतीक्षा।

गत भदौ १० गते आएको बाढीपछि ३५ वर्षीय अजय बेपत्ता भए। त्यसयता उनका आमाबुबाका लागि दिन बिताउनु र रात काट्नु एउटै पीडाका दुई पाटा बनेका छन्। छोरा जीवितै फर्किने आशा उनीहरूले अझै मारेका छैनन्। तर न सासको खबर छ, न लासको। अनिश्चितताले उनीहरूको जीवनलाई कहिल्यै नसकिने पर्खाइमा धकेलिदिएको छ।

यो पीडाको सबैभन्दा कठोर क्षण भने त्यतिबेला आउँछ, जब अजयका साढे चार वर्षीय छोरा यशराजले हजुरआमालाई सोध्छन्, ‘दादी, दशमीयोमे पापा घर किया नइँ एलै?’ अर्थात्, ‘दसैंमा पनि बुबा किन घर आउनुभएन?’ बालकलाई बुबा बाढीमा बेपत्ता भएको कुरा थाहा छैन। उसका लागि बुबा भनेका चाडपर्वमा नयाँ लुगा र मिठाई बोकेर घर फर्किने, परिवारसँग रमाउने, स्थानीय मन्दिरमा पूजाआजा गर्न तथा मेला घुमाउँन लैजाने व्यक्ति हुन्।

त्यसैले यसपालि बुबा घर नआउँदा उसको मनमा प्रश्न उठेको छ। तर त्यो प्रश्नको उत्तर दिनुपर्ने हजुरआमासँग शब्द छैनन्। ‘बिदा नपाएर बुबा घर नआएको भनेर सम्झाउँदै आएका छौँ,’ अजयका बुबा हरिनारायणले भावुक हुँदै भने, ‘छोरा बेपत्ता भएको कुरा नातिलाई बुझाउने आँट नै भएन।’

यशराजको प्रश्न सुन्नासाथ हजुरबा–हजुरआमाका आँखा रसाउँछन्। उनीहरू मौन हुन्छन्। बालकको जिज्ञासा त्यही मौनतामा हराउँछ। तर उसको प्रश्नले परिवारको घाउ भने पटकपटक बल्झाइरहन्छ। अजयका दुई छोरा छन्। जेठो यशराज साढे चार वर्षका भए भने कान्छो सिद्धार्थ तीन वर्षका। उनीहरूका लागि बुबा घर नफर्किनुको अर्थ अझै स्पष्ट छैन। उनीहरूलाई थाहा छैन—जसको आगमनको प्रतीक्षामा उनीहरू छन्, उनको खोजीमा परिवारका सदस्यहरू महिनौँदेखि भौँतारिरहेका छन्।

रात परेपछि झन् गहिरिन्छ पीडा
हरिनारायण पूर्वशिक्षक हुन्। जागिरे जीवनबाट अवकाश पाएपछि पारिवारिक जिम्मेवारीबाट केही मुक्त भएको महसुस गरेका थिए। तर बुढेसकालको सहारा मानिएका जेठा छोरा बेपत्ता भएपछि उनको काँधमा फेरि नयाँ जिम्मेवारी थपिएको छ—बुहारी सुरेखा र दुई अबोध नातिको भविष्य।

५ वर्षअघि मात्र घर भित्रिएकी बुहारी र नातिहरूको अवस्था देख्दा उनी झन् बेचैन हुन्छन्। छोराको अनुपस्थितिले परिवारको भावनात्मक आधार मात्र खोसिएको छैन, भविष्यको चिन्ता पनि थपिएको छ। ‘दिउँसो त जसोतसो मन बुझाउँछौँ, तर रात परेपछि छाती झन् भक्कानिएर आउँछ,’ हरिनारायणले भने, ‘राति ओछ्यानमा निदाउन लाग्दा छोराको अनुहार आँखैअगाडि आइहाल्छ।’

छोराको सम्झनाले रातभर निदाउन नसक्ने यादव दम्पतीका लागि हरेक बिहान नयाँ खबरको आशा लिएर आउँछ। तर दिन ढल्दै जाँदा आशा फेरि निराशामा बदलिन्छ। घरको दैलोमा छोरा आइपुग्ला कि भन्ने प्रतीक्षा अझै सकिएको छैन। ‘अब त यिनीहरूका लागि भए पनि बाँच्नुपर्छ,’ नातिहरूतर्फ हेर्दै हरिनारायणले भने।

यो वाक्यमा छोराको वियोगसँगै नातिहरूको भविष्यप्रतिको चिन्ता पनि मिसिएको छ। आफ्नो दुःख सहेर भए पनि उनीहरूलाई हुर्काउनुपर्ने जिम्मेवारीले हरिनारायणलाई बाँधेको छ।

सरकारसँग राहत होइन, खोजी र सान्त्वनाको अपेक्षा
छोरा बेपत्ता भएपछि यादव परिवारले भोगिरहेको अर्को पीडा सरकारी निकायबाट अपेक्षित साथ नपाएको अनुभूति हो। हरिनारायणका अनुसार दुःखको यो घडीमा परिवारको अवस्था बुझ्न र सान्त्वना दिनसमेत जनप्रतिनिधि तथा सरकारी अधिकारीहरू नआएकोमा उनलाई चित्त दुखेको छ।

‘सरकार हाम्रो लागि होइन र? हामीलाई राहत चाहिएको छैन, तर असह्य पीडा पर्दा सान्त्वना दिनसम्म कोही आएन,’ उनले दुखेसो पोखे, ‘भोट माग्ने बेला खुट्टै ढोग्ने जनप्रतिनिधिहरूले पनि हाम्रो लागि १० मिनेट समय निकाल्न सकेनन्।’

उनको गुनासो व्यक्तिगत पीडामा मात्रै सीमित छैन। बाढीपछि बेपत्ता भएका व्यक्तिका परिवारले दैनिक जीवन चलाउनै कठिनाइ भोगिरहेको उनी बताउँछन्। परिवारको कमाइ गर्ने सदस्य नै हराएपछि कतिपय घरमा चुलो बाल्नसमेत समस्या परेको उनको भनाइ छ। ‘बेपत्ता रहेकाहरूकै कमाइले चुलो बल्ने अवस्थाका धेरै परिवार छन्। उनीहरूको घरमा चुलो बल्यो कि बलेन भनेर खोजी गर्ने दायित्व सरकारको होइन र?’ उनले प्रश्न गरे।

स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्मका निकायले बेपत्ता परिवारको अवस्था बुझ्नुपर्ने उनको माग छ। परिवारले भोगिरहेको अनिश्चितता र आर्थिक समस्यालाई सम्बोधन गर्न राज्यको उपस्थिति आवश्यक रहेको उनी बताउँछन्।

खोजीमा भौँतारिएको परिवार डीएनए रिपोर्टको प्रतीक्षामा
अजय रसुवाकोको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा प्राविधिक शिक्षकका रूपमा कार्यरत थिए। उनी बेत्रावती बजारमा डेरा लिएर बस्दै आएका थिए। परिवारका अनुसार बाढी आएको बेला उनी डेरामै थिए।

अजयको अवस्था पत्ता लगाउन परिवारका सदस्यहरूले सम्भव भएका ठाउँमा खोजी गरे। बाढीपछि उनका दाजु श्यामसुन्दर यादव, भाइ जयप्रकाश यादवसहित परिवारका सदस्यहरू रसुवासम्म पुगे। नुवाकोटको बट्टारस्थित नम्बर १ सैन्य तालिम केन्द्रसम्म पुगेर पनि उनीहरूले खोजी गरे। तर अजयबारे कुनै जानकारी प्राप्त हुन सकेन।

अजयको पहिचान हुन नसकेपछि परिवारले डीएनए परीक्षणका लागि नमुना दिएको छ। उनका बुबा हरिनारायणले गत भदौ १९ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुगेर रगतको नमुना दिएका थिए। तर डेढ महिना बितिसक्दा पनि परीक्षणको नतिजाबारे परिवारले जानकारी पाउन सकेको छैन। ‘डीएनए परीक्षणको पर्खाइमा डेढ महिना बितिसक्यो, तर अझै खबर आएको छैन,’ हरिनारायणले भने, ‘फोन गरेर सोध्दा पनि चित्तबुझ्दो जवाफ पाएको छैन।’

डीएनए रिपोर्ट नआउँदा अजयको पहिचानसम्बन्धी अन्योल कायमै छ। परिवारले कुनै निष्कर्षमा पुग्न सकेको छैन। संस्कारसम्बन्धी कामसमेत अगाडि बढाउन नसकेको परिवार सरकारी निकायबाट स्पष्ट जानकारी आउने प्रतीक्षामा छ।

मधेशका १६९ जना बेपत्ता, सप्तरीका मात्रै ४८
भोटेकोशीमा आएको बाढीपछि मधेश प्रदेशका विभिन्न जिल्लाका १६९ जना बेपत्ता रहेको मधेश प्रदेश प्रहरी कार्यालयको विवरण छ। तीमध्ये सप्तरीका मात्रै ४८ जना छन्। अन्य जिल्लामा पर्साका ४१, बाराका २२, रौतहटका २२, सर्लाहीका २०, महोत्तरीका नौ, धनुषाका सात र सिरहाका १० जना बेपत्ता रहेको प्रहरीको तथ्यांक छ।

यो संख्या बेपत्ता व्यक्तिको विवरण मात्र होइन, उनीहरू फर्किने आशामा दिन बिताइरहेका परिवारहरूको पीडासँग पनि जोडिएको छ। कसैले घरको कमाइ गर्ने सदस्य गुमाएको छ, कसैले जीवनसाथीको प्रतीक्षा गरिरहेको छ, त कसैले अजयका छोराहरूजस्तै बुबा फर्किने आशा पालेको छ।

बाढीले भौतिक संरचना बगाउँछ, घरबार उजाड्छ र परिवारलाई विस्थापित बनाउँछ। तर बेपत्ता व्यक्तिको परिवारले भोग्ने पीडा अझ जटिल हुन्छ—मृत्युको पुष्टि नहुँदा शोकलाई पूर्णता दिन सकिँदैन, जीवित फर्किने आशा मर्दैन र जीवनलाई सामान्य अवस्थामा फर्काउन पनि कठिन हुन्छ।

हरिनारायण यादवको परिवार अहिले यही अनिश्चितताको बीचमा छ। उनीहरूलाई तत्काल ठूलो आश्वासनभन्दा पनि छोराको खोजीमा ठोस पहल, डीएनए परीक्षणको नतिजा र आफ्नो अवस्थाबारे राज्यको चासो चाहिएको छ।

यता साढे चार वर्षीय यशराज भने अझै बुबा घर फर्किने दिन गन्दै छन्। उनका लागि दसैं सकिएपनि बुबाको प्रतीक्षा सकिएको छैन। हजुरआमालाई सोधेको उनको प्रश्नको उत्तर परिवारसँग छैन। उत्तर खोजिदिने जिम्मेवारी अब सम्बन्धित सरकारी निकायमाथि छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट